नेपाललाई विश्‍व बैंकको ५ अर्ब ८७ करोड सहयोग - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाललाई विश्‍व बैंकको ५ अर्ब ८७ करोड सहयोग 

रासस

काठमाडौँ — विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि ५ अर्ब ८७ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्बन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको हो ।

सरकारको प्राथमिकतामा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनमा सघाउनका लागि वैंकले उक्त रकम उपलब्ध गराएको हो ।

कार्यक्रममा अर्थ सचिव मरासीनीले कोभिड–१९बाट प्रभावित शिक्षा तथा स्वास्थ्य प्रणालीको उत्थानशील पुननिर्माण गर्न आवश्यक रहेको बताए । उनले भने, 'नतिजा सूचकमा आधारित नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमबाट मुलुकमा दक्ष, प्रभावकारी, पारदर्शी र उत्तरदायी स्वास्थ्य प्रणाली निर्माण गर्न महत्वपूर्ण हुनेछ ।'

बैंकका निर्देशक जार्वोसले सम्झौता कार्यन्वयनसँगै नेपालको शिक्षा र स्वास्थ्य प्रणालीलाई समावेशी एवं उत्पादनशील बनाई मानव पूँजीको विकासलाई गति दिने अपेक्षा गरिएको बताए । उनले भने, 'सबैका लागि स्वास्थ्य क्षेत्रमा पहुँच, बालिबालिका र किशोरकिशोरीका लागि गुणस्तरीय नतिजा प्राप्त गर्ने शिक्षा सिकाइमा समान पहुँच सुनिश्चितताका लागि सहायताले सहयोग गर्ने छ ।'

नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि उपलब्ध गराइएको थप सहायताले सार्वजनिक खरिद् वित्तीय व्यवस्थापन, सूचना व्यवस्थापन तथा अधिक उत्तरदायित्वका लागि नागरिक संलग्नताका क्षेत्रमा सुधार ल्याउन सघाउने विश्वास गरिएको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्

हाम्रो ध्यान गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

रासस

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । ललितपुरस्थित नमुना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा बुधबार उनले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै यसका लागि भविष्यमा थप कार्यक्रम कार्यान्वयन गर्ने बताए । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको भन्ने अवस्थामा पनि यस विद्यालयमा उल्लेख्य विद्यार्थी पठनपाठन गरिरहेको सुन्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए ।

२०७२ वैशाखमा गएको भूकम्पबाट मुलुकका धेरै शैक्षिक संरचनामा क्षति पुगेको अवस्थामा जापान सरकारको सहयोगमा आवश्यक पूर्वाधारसहित विद्यार्थीलाई पठनपाठन गराउने गरी भएको विद्यालयको पुनर्निर्माणप्रति उनले खुसी व्यक्त गरे । विद्यालयमा दृष्टिविहीन बालबालिकालाई पनि पढाउने व्यवस्था गरिएमा सो कार्यमा सहयोग गर्ने उनले सबैलाई धन्यवाद दिए । जापानको ऋण सहयोगमा १२ करोड तीन लाख रुपैयाँको लागतमा सो विद्यालय निर्माण गरेको हो ।

जाइकामार्फत नेपालका धेरै ठाउँमा शिक्षा, स्वास्थ्य, विपद् नियन्त्रणलगायत क्षेत्रमा निःस्वार्थ सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट जापान सरकारलाई धन्यवाद दिए । प्राधिकरणअन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार ५५३ विद्यालयमध्ये हालसम्म छ हजार ६४४ विद्यालयको पुनर्निर्माण भइसकेको छ । बाँकी पुनर्निर्माणका क्रममा छन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भूकम्पबाट मुलुकमा ठूलो जनधनको क्षति पुगेसँगै पुराना जीर्ण बनेका विद्यालयको पुनर्निर्माण गर्ने अवसर प्राप्त भएको उल्लेख गरे । अग्रजहरुले स्थापना गरेका विद्यालयका कारण नै ललितपुर शिक्षाको हबका रुपमा चिनिएको भन्दै उनले आगामी दिनमा शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्ने बताए । मौलिक अधिकारका रुपमा रहेको शिक्षाका लागि हालको बजेट पर्याप्त नभए पनि उपलब्ध बजेट र भएका कार्यक्रमको कार्यान्वयन गरी परिणाम निकाल्न सके सरकारको उद्देश्य सफल हुने मन्त्री भुसालको भनाइ थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी गराउँदै सबैको सामूहिक प्रयासले मात्र यो सम्भव भएको हो भने । पुनर्निर्माणका क्रममा जनताले प्रत्यक्ष रुपमा विभिन्न लाभ प्राप्त गरेको बताउँदै उनले पुनर्निर्माणका क्रममा स्थानीय मौलिक प्रविधिको विकास र प्रयोगसमेत भएको जानकारी गराए ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको खाँचो औंल्याउँदै निर्माण र पुनर्निर्माण भएका विद्यालयको मर्मतसम्भार गरी दुरुस्त राख्न सरोकारवाला सबैको ध्यानाकर्षण गराए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन मिश्रले विद्यालय निर्माणमा आवश्यक सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

प्रकाशित : भाद्र ३०, २०७८ १५:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×