दसैंलाई अग्रिम टिकट असोज दोस्रो सातादेखि- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंलाई अग्रिम टिकट असोज दोस्रो सातादेखि

यात्रुको चाप हेरेर निर्णय लिऔं : व्यवसायी
कान्तिपुर संवाददाता

काठमाडौँ — दसैं नजिकिँदै गएपछि अग्रिम टिकट बुकिङ खुलाउनेबारे सरकारी निकाय र यातायात व्यवसायीबीच छलफल सुरु भएको छ । यही भदौ २१ मा प्रधानमन्त्री कार्यालयमा दसैंका लागि अग्रिम टिकट खुलाउनेबारे छलफल गरिएको थियो ।

छलफलमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले असोज दोस्रो साताबाट अग्रिम बुकिङ खुलाउन प्रस्ताव गरेका थिए । तर यसबारे औपचारिक निर्णय भने भइनसकेको विभागले जनाएको छ ।

आगामी शुक्रबार छलफल गरेर यसबारे निर्णय लिइने घिमिरेले जानकारी दिए । ‘दसैंभन्दा १०/१५ दिनअघिको समय राखेर अनलाइन बुकिङ खुला गर्न भनेका हौं,’ उनले भने । यातायात व्यवसायीसँग बैठक बसेर यसबारे छिट्टै निर्णय लिइने उनले बताए । कोभिडको जोखिम कायमै रहेकाले भीड कम गराउन यात्रु चढ्ने र झर्ने ठाउँको संख्या बढाइनेछ ।

सबै सवारीलाई स्वास्थ्य सावधानी अनिवार्य गरिने पनि उनले जानकारी दिए । काउन्टरमा भीड कम गराउन अनलाइन टिकेटिङमार्फत बुक गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्न निषेध गरिनेछ ।

दसैंलाई गाडीको टिकट बुकिङका विषयमा राम्रो तयारी गरेर मात्र निर्णय लिनुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘प्रदेश र स्थानीय तहमा सञ्चालन हुने सार्वजनिक सवारीमा भाडा समायोजनका कुरा मिलिसकेका छैनन्,’ उनले भने, ‘लामो दूरीका सवारीमा भाडा समायोजन गरिए पनि प्रदेश र स्थानीय तहमा टुंगो लागिसकेको छैन ।’ चाडबाडअघि नै यसबारे सम्बन्धित प्रदेशहरूले निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

‘सरकारको प्रस्ताव असोज दोस्रो सातालाई छ,’ सिटौलाले भने, ‘तर यसबारे निर्णय लिन यात्रुको चाप पनि हेर्नुपर्छ ।’ सामान्यतया दसैंको घटस्थापनाबाट बढी यात्रु बाहिरिन थाल्छन् ।

प्रकाशित : भाद्र ३०, २०७८ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्

वालेटमा कारोबार सीमा बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — अब बैंक खाताबाट वालेटमा प्रतिकारोबार ५० हजार र प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न पाइने भएको छ । राष्ट्र बैंक भुक्तानी विभागले जारी गरेको एकीकृत निर्देशन २०७८ मार्फत राष्ट्र बैंकले उक्त कारोबार सीमा बढाएको हो ।

यसअघि बैंक खाताबाट वालेटमा प्रतिकारोबार २५ हजार र प्रतिमहिना ५ लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्थ्यो । यस्तो कारोबारमा प्रतिदिन एक लाख रुपैयाँसम्मको कारोबार सीमा भने यथावत् राखिएको छ ।

राष्ट्र बैंकले वालेटबाट अन्य बैंक खातामा रकम स्थानान्तरण गर्दाको सीमा पनि बढाएर प्रतिकारोबार ५० हजार र प्रतिमहिना १० लाख रुपैयाँ पुर्‍याएको छ । यसअघि यस्तो कारोबारमा पनि प्रतिकारोबार २५ हजार र प्रतिमहिना ५ लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्थ्यो । वालेटमा अधिकतम ५० हजारभन्दा बढी मौज्दात राख्न पाइने छैन । उक्त सीमाभन्दा बढी रकम अनिवार्य रूपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनुपर्नेछ ।

यसअघि यस्तो सीमा २५ हजार रुपैयाँ थियो । ‘संस्थागत ग्राहक र एजेन्टबाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिनेछ,’ निर्देशनमा भनिएको छ । एटीएम कार्ड, मोबाइल बैकिङ र इन्टरनेट बैकिङमा भने कारोबार सीमा परिवर्तन गरिएको छैन ।

प्रकाशित : भाद्र ३०, २०७८ ०६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×