कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वालेटमा कारोबार सीमा बढ्यो

काठमाडौँ — अब बैंक खाताबाट वालेटमा प्रतिकारोबार ५० हजार र प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न पाइने भएको छ । राष्ट्र बैंक भुक्तानी विभागले जारी गरेको एकीकृत निर्देशन २०७८ मार्फत राष्ट्र बैंकले उक्त कारोबार सीमा बढाएको हो ।

वालेटमा कारोबार सीमा बढ्यो

यसअघि बैंक खाताबाट वालेटमा प्रतिकारोबार २५ हजार र प्रतिमहिना ५ लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्थ्यो । यस्तो कारोबारमा प्रतिदिन एक लाख रुपैयाँसम्मको कारोबार सीमा भने यथावत् राखिएको छ ।

राष्ट्र बैंकले वालेटबाट अन्य बैंक खातामा रकम स्थानान्तरण गर्दाको सीमा पनि बढाएर प्रतिकारोबार ५० हजार र प्रतिमहिना १० लाख रुपैयाँ पुर्‍याएको छ । यसअघि यस्तो कारोबारमा पनि प्रतिकारोबार २५ हजार र प्रतिमहिना ५ लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्थ्यो । वालेटमा अधिकतम ५० हजारभन्दा बढी मौज्दात राख्न पाइने छैन । उक्त सीमाभन्दा बढी रकम अनिवार्य रूपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनुपर्नेछ ।

यसअघि यस्तो सीमा २५ हजार रुपैयाँ थियो । ‘संस्थागत ग्राहक र एजेन्टबाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिनेछ,’ निर्देशनमा भनिएको छ । एटीएम कार्ड, मोबाइल बैकिङ र इन्टरनेट बैकिङमा भने कारोबार सीमा परिवर्तन गरिएको छैन ।

प्रकाशित : भाद्र ३०, २०७८ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?