कोरोनाकालमै पर्यटन पूर्वाधारमा लगानी- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाकालमै पर्यटन पूर्वाधारमा लगानी

घनश्याम खड्का

म्याग्दी — कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भए पनि पर्यटन पूर्वाधारमा लगानी रोकिएको छैन । जिल्लाको पर्यटकीय क्षेत्रमा ठूलो लगानीमा होटल बन्ने क्रम जारी छ । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा व्यवसायी प्रमोद श्रेष्ठले १५ करोड लगानीमा ‘श्रेष्ठ होटल हटस्प्रिङ’ बनाइरहेका छन् । तातोपानीमा प्राकृतिक उपचार गराउन आउने बिरामीलाई लक्ष्य गरी होटल खोल्न लागिएको हो ।

६ सुइटसहित ३८ कोठा रहेको होटल दसैंदेखि सञ्चालनमा ल्याउने तयारी छ । होटलमा डेढ सय जना अट्ने सभाहल पनि छ । ‘कोरोनाकालमा होटल निर्माण थालियो, पर्यटन क्षेत्र फेरि ब्युँझिने विश्वास छ,’ श्रेष्ठले भने, ‘कोरोनाविरुद्धको खोप सबैले पाएपछि पर्यटकको ओइरो लाग्ने आशा छ ।’

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अर्का व्यवसायी राजु हमालले २० करोड रुपैयाँ लगानीमा ‘होटल नेचुरल स्प्रिङ’ निर्माण थालेका छन् । २५ डिलक्स र ८ सुइट रुमसमेत गरी ५७ कोठा रहने साततले होटलको स्ट्रक्चरको काम सकेर रंगरोगन, टायल राख्ने र सजावटको काम भइरहेको छ । अन्नपूर्ण तथा नीलगिरि बेस क्याम्प तथा हिमालपारिको मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्ष्य गरी ठूला र सविधायुक्त होटल खोल्न थालिएको हो ।

‘कोरोना महामारीले होटल निर्माणमा ढिलाइ भएको हो । कहिले मजदुर पाइएन । कहिले मनसुनले सडक बिग्रेकाले पनि सहज ढुवानीमा समस्या आएको छ । अर्को दसैंसम्म होटल सञ्चालन गर्ने गरी काम भइरहेको छ,’ हमालले भने, ‘परिस्थिति असहज हुँदा मूल्य अचाक्ली वृद्धि भएकाले लागत पनि बढेको छ ।’

दामोदरकुण्ड, मुक्तिनाथ र गलेश्वरधाममा आउने पर्यटकलाई लक्ष्य गरी बेनी–९ गलेश्वरमा ५ करोड लगानीमा होटल मदरल्यान्ड इन पनि निर्माण भइरहेको छ । व्यवसायी टंकलाल श्रेष्ठले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी होटल निर्माण थालेका हुन् । तिहारसम्ममा होटल सञ्चालनमा ल्याइने श्रेष्ठले बताए । ‘गलेश्वर र मुक्तिनाथ जाने धेरै पर्यटकले गलेश्वरमा राम्रो होटल नपाएको गुनासो गरेपछि कोरोना कहरमा पनि होटल थप्ने आँट गरेको हुँ,’ उनले भने, ‘कोरोनाले घरमै थुनिएका, मानसिक तनावमा रहेकाहरू खोप लगाएपछि पनि अब भ्रमणमा निस्कन्छन् । त्यसले पर्यटन प्रवर्द्धनमा धेरथोर सहयोग पुर्‍याउला ।’

कोरोना कहरले प्रसिद्ध पर्यटकीय गन्तव्य घोरेपानी/पुनहिलको व्यवसाय ठप्प छ । विदेशी पर्यटक आउने क्रम पनि ठप्पप्रायः छ । जंगलको बीचमा रहेको पुनहिलमा होटलबाहेक अन्य व्यवसाय नभएकाले व्यवसायी फुर्सदमा छन् । यही फुर्सदको सदुपयोग गरेर उनीहरू आफ्ना होटलका पुराना संरचना भत्काएर नयाँ बनाउने कर्ममा जुटेका छन् । पर्यटकको बसाइँ लम्ब्याउने उपायको खोजीमा पनि उनीहरू छन् ।

प्रकाशित : भाद्र १९, २०७८ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्

पाठक घट्दा सुनसान पुस्तकालय

हातहातमा मोबाइल पुगेपछि पुस्तकालय पुगेर पुस्तक पढ्ने संस्कृति नै संकटमा
घनश्याम खड्का

म्याग्दी — भुइँमा बिछ्याइएको कार्पेट सफा छ । अध्ययन कक्षका टेबल, कुर्सी पनि सफा छन् तर सधैं खाली हुन्छन् । २०२७ मा स्थापना भएको सदरमुकाम बेनीस्थित म्याग्दी सामुदायिक पुस्तकालयमा १० हजार ३ सय २२ वटा पुस्तक छन् ।

जसमध्ये अधिकांश समसामयिक नेपाली साहित्यका छन् । दर्शन, राजनीति, धर्मशास्त्रलगायत विविध विधा तथा अंग्रेजी र हिन्दी भाषा, साहित्यका पुस्तक पनि धेरै नै छन् । तर पुस्तक पढ्ने पाठकको संख्या भने बर्सेनि घट्दो छ ।

‘लोक सेवा र हाजिरीजवाफ तयारी गर्न आएका कर्मचारी, विद्यार्थी गरी अहिले मुस्किलले ५ जना पुस्तकालयमा पढिरहेका छन् । केही फेसबुक र युट्युब चलाउने पनि छन्,’ मंगलबार पुस्तकालयमा भेटिएकी लाइब्रेरियन भुजु केसी कटुवालले भनिन्, ‘पुस्तकालयका आजीवन सदस्य मात्र होइन, पुस्तकालय सञ्चालकसमेत दिवस मनाउन मात्र आउँछन् । त्यही पनि सबै आउँदैनन् ।’ पाठकको आकर्षण फर्काउन पुस्तकालयले सम्भावित पाठकको खोजी र रुचि पहिचान गर्न विभिन्न कार्यक्रम थालेको छ । त्यहीमध्ये एक हो, कारागार र हिरासतमा रहेका कैदीबन्दी र थुनुवासँग पुस्तक कार्यक्रम ।

पुस्तकालयमा पाठक संख्या घट्दै गएको अवस्थामा यो पुस्तकालयले मंगलबार पाठक कक्षमै १५ औं पुस्तकालय दिवस मनाएको छ । यस अवसरमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले प्रहरी निरीक्षक वीरेन्द्र गुरुङमार्फत हिरासतमा रहेका आरोपितका लागि पुस्तक उपलब्ध गराए । राजनीतिक नेता, कार्यकर्ता र सामाजिक अगुवामा पठन संस्कृति हराउँदै गएको र सामाजिक सञ्जालको भरमा धारणा बनाउने बढेपछि पुस्तकालयले मंगलबारदेखि म्याग्दी पुस्तकालयले सामाजिक अगुवा र कर्मचारीलाई लक्षित गरी ‘पुस्तकालय भिजिट’ कार्यक्रम पनि थालेको छ ।

‘हातहातमा स्क्रिन टच डिजिटल अक्षर पुगे । गुगलजस्तो सर्च इन्जिनमा अथाह सामग्री उपलब्ध हुने भएपछि धेरै पाठक त्यतै आकर्षित हुन थाले । फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालले गर्दा युवा वर्गमात्र होइन, पाका पाठकलाई पनि किताव पढ्न अल्छी बनाउँदै लगेको छ,’ पुस्तकालय अध्यक्ष सन्तोष रावलले भने, ‘डिजिटल प्लेटफर्ममा चाहेको सामग्री पाइने र डिजिटल पुस्तक नै इन्टरनेटमा पाइने भएपछि पुस्तकालयले पनि फरक पाठक खोज्न थालेका छौं । फुर्सदिला कैदीबन्दी र थुनुवा, पुस्तकालयका नियमित पाठक भएका छन् ।’

२०६० मा तत्कालीन विद्रोही माओवादीले सदरमुकाम बेनी आक्रमण गर्दा पुस्तकालय ध्वस्त भएको थियो । त्यसपछि विभिन्न स्रोत खोजेर पुस्तकालयको भवन बनाइएको र पुस्तक, कम्प्युटरसमेत सामग्री जोडिएको हो । ब्याजसहित ४५ लाख ऋण लागेकोमा सबै तिरिसकेको उनले बताए । पुस्तकालयको अभिलेखअनुसार कैदीबन्दीबाहेक दैनिक १०/१२ जना पाठक पुस्तकालय पुग्छन् । पुस्तकालयले ई–लाइब्रेरी पनि चलाएको छ तर यहाँ पुस्तक पढ्ने भन्दा युट्युबमा भिडियो/फिल्म हेर्न आउने धेरै हुन्छन् । इन्टरनेटबाट कृषि, पशुपालन वा अन्य सन्दर्भ सामग्री खोज्न आउने महिनामा १/२ जना मात्र हुन्छन् ।

कर्मचारी लोक सेवा आयोगको तयारी र हाजिरीजवाफ प्रतियोगिताको तयारीमा आउने विद्यार्थी साहित्यकारको नाम, जन्ममिति र कृति प्रकाशन मिति हेर्न आउने गर्छन् । एक/दुई जना पत्रपत्रिका पढ्न आउँछन् । ‘हिजो राजनीतिक रूपमा विचार स्वतन्त्रता नहुँदा पुस्तकालय सचेत समूह जमघट हुने थलो थियो । तर राजनीतिक परिवर्तनसँगै स्कुल/कलेजको तीव्र विकासले पुस्तकालयको आवश्यकता कम भएको हो,’ पुस्तकालयका पूर्वअध्यक्ष हरिकृष्ण श्रेष्ठले भने, ‘हार्डकपी पुस्तकालयलाई डिजिटल पुस्तकालयले विस्थापित गर्दै गएको छ । तर पुस्तकालयको स्वरुप फेरिए पनि महत्व भने फेरिएको छैन ।’ इन्टरनेटबाट आवश्यक सूचना खोज्न र प्रिन्ट गर्न पुस्तकालयले छुट्टै २ वटा कम्प्युटर राखेको भए पनि उपयोग गर्न कोही आएका छैनन् । ‘पुस्तक पढ्ने संस्कृति हराउँदै गएको छ । आफ्नै पनि पढ्ने बानी घट्दो छ,’ प्रजिअ अधिकारीले भने, ‘ज्ञान आर्जनको शैली फेरियो तर महत्त्व घटेको छैन ।’

विद्यालयका विद्युतीय पुस्तकालय अलपत्र

जिल्लाका विभिन्न ३० वटाभन्दा बढी सामुदायिक विद्यालयमा जोडिएका विद्युतीय पुस्तकालय अलपत्र परेका छन् । अफलाइन सफ्टवेयरबाट विद्यार्थीलाई डिजिटल पुस्तक पढाउन सुरु गरिएको विद्युतीय पुस्तकालय विद्यालयको चासो, विद्यार्थीमा मोबाइल, ल्यापटपजस्ता डिभाइसमा पहुँच अभाव र व्यवस्थापन अभावमा विद्युतीय पुस्तकालय अलपत्र परेका हुन् ।

विद्युतीय पुस्तकालयमा कक्षा २–७ सम्मका पाठ्यक्रमबाहेक छुट्टै ८ हजार विभिन्न विधाका डिजिटल पुस्तक नेपाल लाइब्रेरी फाउन्डेसनले उपलब्ध गराउने र प्राविधिक सहयोग गर्ने भनिएको थियो । तर लकडाउनमा विद्यालय बन्द रहेको र अनलाइन कक्षा भनिएको बेला विद्युतीय पुस्तकालय झन् प्रभावहीन बन्न पुगेको छ । ‘विद्यार्थी दिउँसो औपचारिक कक्षामा सहभागी हुने, साँझबिहान घरमा डिभाइसले नटिप्ने समस्या भयो,’ गलेश्वर माविका शिक्षक हरि सुवेदीले भने, ‘आर्थिक, सामाजिक र भौगोलिक अवस्थिति, शिक्षक, अभिभावक र विद्यार्थी सबै प्रविधि मैत्री र उपकरणयुक्त नहुँदा विद्युतीय पुस्तकालय केही दिनका रहर मात्र भए ।’

प्रकाशित : भाद्र १६, २०७८ १०:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×