कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोनाकालमै पर्यटन पूर्वाधारमा लगानी

घनश्याम खड्का

म्याग्दी — कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भए पनि पर्यटन पूर्वाधारमा लगानी रोकिएको छैन । जिल्लाको पर्यटकीय क्षेत्रमा ठूलो लगानीमा होटल बन्ने क्रम जारी छ । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा व्यवसायी प्रमोद श्रेष्ठले १५ करोड लगानीमा ‘श्रेष्ठ होटल हटस्प्रिङ’ बनाइरहेका छन् । तातोपानीमा प्राकृतिक उपचार गराउन आउने बिरामीलाई लक्ष्य गरी होटल खोल्न लागिएको हो ।

कोरोनाकालमै पर्यटन पूर्वाधारमा लगानी

६ सुइटसहित ३८ कोठा रहेको होटल दसैंदेखि सञ्चालनमा ल्याउने तयारी छ । होटलमा डेढ सय जना अट्ने सभाहल पनि छ । ‘कोरोनाकालमा होटल निर्माण थालियो, पर्यटन क्षेत्र फेरि ब्युँझिने विश्वास छ,’ श्रेष्ठले भने, ‘कोरोनाविरुद्धको खोप सबैले पाएपछि पर्यटकको ओइरो लाग्ने आशा छ ।’

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अर्का व्यवसायी राजु हमालले २० करोड रुपैयाँ लगानीमा ‘होटल नेचुरल स्प्रिङ’ निर्माण थालेका छन् । २५ डिलक्स र ८ सुइट रुमसमेत गरी ५७ कोठा रहने साततले होटलको स्ट्रक्चरको काम सकेर रंगरोगन, टायल राख्ने र सजावटको काम भइरहेको छ । अन्नपूर्ण तथा नीलगिरि बेस क्याम्प तथा हिमालपारिको मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्ष्य गरी ठूला र सविधायुक्त होटल खोल्न थालिएको हो ।

‘कोरोना महामारीले होटल निर्माणमा ढिलाइ भएको हो । कहिले मजदुर पाइएन । कहिले मनसुनले सडक बिग्रेकाले पनि सहज ढुवानीमा समस्या आएको छ । अर्को दसैंसम्म होटल सञ्चालन गर्ने गरी काम भइरहेको छ,’ हमालले भने, ‘परिस्थिति असहज हुँदा मूल्य अचाक्ली वृद्धि भएकाले लागत पनि बढेको छ ।’

दामोदरकुण्ड, मुक्तिनाथ र गलेश्वरधाममा आउने पर्यटकलाई लक्ष्य गरी बेनी–९ गलेश्वरमा ५ करोड लगानीमा होटल मदरल्यान्ड इन पनि निर्माण भइरहेको छ । व्यवसायी टंकलाल श्रेष्ठले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी होटल निर्माण थालेका हुन् । तिहारसम्ममा होटल सञ्चालनमा ल्याइने श्रेष्ठले बताए । ‘गलेश्वर र मुक्तिनाथ जाने धेरै पर्यटकले गलेश्वरमा राम्रो होटल नपाएको गुनासो गरेपछि कोरोना कहरमा पनि होटल थप्ने आँट गरेको हुँ,’ उनले भने, ‘कोरोनाले घरमै थुनिएका, मानसिक तनावमा रहेकाहरू खोप लगाएपछि पनि अब भ्रमणमा निस्कन्छन् । त्यसले पर्यटन प्रवर्द्धनमा धेरथोर सहयोग पुर्‍याउला ।’

कोरोना कहरले प्रसिद्ध पर्यटकीय गन्तव्य घोरेपानी/पुनहिलको व्यवसाय ठप्प छ । विदेशी पर्यटक आउने क्रम पनि ठप्पप्रायः छ । जंगलको बीचमा रहेको पुनहिलमा होटलबाहेक अन्य व्यवसाय नभएकाले व्यवसायी फुर्सदमा छन् । यही फुर्सदको सदुपयोग गरेर उनीहरू आफ्ना होटलका पुराना संरचना भत्काएर नयाँ बनाउने कर्ममा जुटेका छन् । पर्यटकको बसाइँ लम्ब्याउने उपायको खोजीमा पनि उनीहरू छन् ।

प्रकाशित : भाद्र १९, २०७८ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?