३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कतार, टर्किस र हिमालय एयरलाइन्सले यात्रु ठगे : छानबिन समिति

सुरज कुँवर

काठमाडौँ — कोराना संक्रमणको दोस्रो लहरका बेला नेपालबाट भएका चार्टर उडानमा तीनवटा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले यात्रुलाई ठगेको छानबिनबाट देखिएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पर्यटन मन्त्रालयले गठन गरेको ‘कोभिड–१९ को महामारीको समयमा चार्टरलायत अन्य अन्तर्राष्ट्रिय उडानमा भाडा महँगोउपर छानबिन समिति’ ले चार्टरलगायतका अन्तर्राष्ट्रिय उडानमा यात्रुबाट बढी भाडा लिएको निष्कर्ष निकालेको हो ।

कतार, टर्किस र हिमालय एयरलाइन्सले यात्रु ठगे : छानबिन समिति

निषेधाज्ञामा सरकारले विशेष अनुमति दिई सञ्चालन भएका उडानका यात्रुहरुले चर्को भाडा तिर्नुपरेको गुनासो गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार ३ गते हवाई भाडा छानबिन समिति गठन गरेको थियो । उक्त समितिले बुधबार पर्यटन सचिव यादव कोइरालालाई बुधबार प्रतिवदेन बुझाएको छ ।

‘समितिलाई हवाई भाडा महँगो भएको सम्बन्धमा २५ वटा उजुरी प्राप्त भएका थिए,’ मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसमध्ये कतार एयरवेजसँग सम्बन्धित ९ वटा टिकट, टर्किस एयरलायन्सको उडानका दुइटा टिकट र हिमालय एयरलायन्सका दुईवटा टिकटमा निर्धारितभन्दा बढी भाडा लिएको पाइयो ।’ समितिका अनुसार, काठमाडौं दोहाको उडानसँग सम्बन्धित कतार एयरवेजका १६ यात्रु, टर्किस एउरलाइन्सका ७ यात्रु र नेपाली वायुसेवा हिमालय एयरलायन्सका दुई यात्रुले महँगो भाडा तिर्नु परेको उजुरी दिएका थिए ।

समितिले ठगी कार्यमा संलग्नउपर विस्तृत अनुसन्धान तथा कारबाही गर्न सचिव कोइरालालाई सिफारिस गरेको छ । सहसचिवसमेत रहेका प्रवक्ता अधिकारीले समितिको प्रतिवेदन थप अनुसन्धान तथा कारबाहीका लागि गृह मन्त्रालयलाई बुझाइने बताए । समितिले प्रभास ट्राभल एन्ड टुर्स, एमएलके ट्राभल्स डट कम, प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स, ट्राभल कन्सोल यूके, रबिता इन्टरनेसनल ट्राभल्स एन्ड टुर्स र क्षितिज टुर्स एन्ड ट्राभल्स प्रालिले यी तीन वायुसेवाको उडानमा यात्रुलाई महँगोमा टिकट बिक्री गरेको जनाउँदै थप छानबिनका लागि मन्त्रालयलाई सिफारिस गरेको छ ।

पहिलो लकडाउनमा झैं यसपटक पनि अन्तर्राष्ट्रिय चार्टर उडानमा वायुसेवा कम्पनी र ट्राभल एजेन्टबाट यात्रु ठगिने क्रम नरोकिएपछि तत्कालीन पर्यटनमन्त्री उमाशंकर अरगरियाले प्राधिकरणका महानिर्देशकको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए । सरकारले दोस्रो चरणको कोरोना संक्रमण रोकथाम गर्न लगाएको निषेधाज्ञापछि (वैशाख १९ यता) का अन्तर्राष्ट्रिय चार्टर उडान गर्दै आएका स्वदेशी–विदेशी वायुसेवा कम्पनी र तीनका लागि टिकट बिक्री गर्ने ट्राभल एजेन्सीमाथि समितिले छानबिन गरेको थियो ।

पूर्वपर्यटनमन्त्री भानुभक्त ढकाललाई मौखिक जानकारी दिँदा पनि कारबाहीका लागि पहल नभएपछि जहाजको टिकट तथा ‘टुर प्याकेज’ बिक्री गर्ने नेपाली ट्राभल एजेन्सीहरुको छाता संगठन ‘नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेट्स’ (नाट्टा) ले जेठ २५ गते आफ्ना केही सदस्य ट्राभल एजेन्सीहरुले कतार र टर्किस एयरलायन्ससँग भइरहेका चार्टर उडानमा मिलेमतो गरी अनियमितता गरेकाले तत्काल कारबाही गर्न नयाँ पर्यटनमन्त्री अरगरियालाई मौखिक तथा नागरिक उड्डयन प्राधिकरणलाई लिखित पत्रै पठाएका थिए ।

नेपालबाट चार्टर उडान गर्दै आएका विदेशी वायुसेवा कतार एयर र टर्किस एयरलायन्स तथा काठमाडौं हब भएको अन्र्तराष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका चार्टर उडानमा यात्रुले एकतर्फी हवाई टिकटको मूल्य तेब्बरसम्म तिर्न बाध्य हुनु परेको उजुरी परेको थियो ।

त्यसताका प्राधिकरणले आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई जेठ ३१ गते हिमालय एयरलायन्सको काठमाडौं–दमाम उडानमा नेपाली कामदारबाट एकतर्फी हवाई भाडा २ लाख बढी असुल भएको भन्दै छानबिन गर्न पत्राचार पनि गरेको थियो । त्यसैगरी चार्टर उडानमा संलग्न नेपाली ट्राभल एजेन्सीहरुमा दरबारमार्गमा रहेको प्रेसिडेन्ट र नागपोखरीमा रहेको मेगाबाइट ट्राभल एन्ड टुर्सबाट बिक्री हुने चार्टर उडानका टिकटमा अत्यधिक मूल्य असुल हुने गरेको यात्रुहरुले गुनासो गरेका थिए ।

यसअघि ०७७ जेठमा पनि चार्टर उडानमा एजेन्टहरुले वायुसेवा कम्पनीसँग मिलेमतोमा एकतर्फी हवाई भाडा तेब्बरसम्म असुलेको गुनासो सार्वजनिक भएपछि तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए । उक्त समितिको प्रतिवेदन मन्त्रालयले हालसम्म सार्वजनिक गरेकै छैन ।

प्रकाशित : भाद्र १६, २०७८ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?