कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कोलम्बो–काठमाडौं जोड्दै श्रीलंकन एयरलायन्स

भारत हुँदै लुम्बिनी घुम्न आउने पर्यटकलाई सहज हुने : कर्ण शाक्य, प्रथम महावाणिज्य दूत
सुरज कुँवर

काठमाडौँ — लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै श्रीलंकाको राष्ट्रिय ध्वजावाहक वायुसेवा श्रीलंकन एयरलायन्सले मंगलबारदेखि कोलोम्बो–काठमाडौं सिधा उडान गर्ने भएको छ । लामो समयदेखि नेपाल आउन खोजिरहेको श्रीलंकन एअरलाई शुक्रबार नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको हो ।

कोलम्बो–काठमाडौं जोड्दै श्रीलंकन एयरलायन्स

प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार, श्रीलंकनले ‘समर सेड्यिुल’ अन्तर्गत हाल सातामा दुई दिन मंगलबार र शनिबार कोलम्बो–काठमाडौं–कोलम्बो उडान गर्ने छ । त्यसपछी यात्रुको चाप अनुसार उडान संख्या थपघट हुनेछ । अहिलेको उडानमा श्रीलंकनले नेपालले तोकेको स्वास्थ्य मापदण्ड (पीसीआर, ७ दिनको होटल बुकिङ, सीसीएमसीको फारम भर्नुपर्ने लगायत) पालना अनिवार्य गर्नुपर्ने सर्तसहित उडान अनुमति दिइएको छ ।

श्रीलंकन एयरलायन्स्को नेपाली जीएसए (एजेन्ट) जेनिथ ट्राभल्सका प्रबन्ध निर्देशक जोय देवानका अनुसार श्रीलंकन वायुसेवाले नेपालमा उडान अनुमति लिएको यो पहिलो हो । उनका अनुसार यसअघि श्रीलंकाकै ‘बजेट क्यारियर’ मिहिनलंका वायुसेवाले ‘फिफ्थ–फ्रिडम’ अधिकार प्रयोग गर्दै कोलोम्बो–दिल्ली–काठमाडौं उडान गर्न खोजेको थियो । तर भारतबाट अनुमति नपाएपछि उसको काठमाडौं आउने योजना रोकिएको थियो ।

३५ वर्षअघि तत्कालीन शाही नेपाल वायुसेवा निगमले बाइङ ७२७ बाट पहिलोपटक काठमाडौं–कोलम्बो उडान गरेको थियो । निगमका एक पूर्व निर्देशकका अनुसार श्रीलंकामा लिट्टे विद्रोह बढ्दै गएपछि निगमले कोलम्बो उडान स्थगन गर्नु परेको थियो ।

निगमपछि चिनियाँ लगानीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सले २०७३ असोजबाट काठमाडौं–कोलम्बो उडान थालेको थियो । १ सय ५८ सिट क्षमताको एयरबस ए–३२० बाट सेवा दिइरहेको हिमालयले यो रुटमा नाफा आर्जन गर्न नसकेपछि ६ महिनामै उडान स्थगन गरेको थियो ।

हिमालयका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार श्रीलंका नेपालका लागि पर्यटन बजार हो । ‘पहिलो बजार बौद्ध तीर्थयात्रीहरुको हो त्यसपछिको दोस्रो आर्कषण माल्दिभ्स र श्रीलंकामा रोजगारीका लागि नेपाली भएकाले कामदार रुट पनि हो,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘यो रुटमा व्यापारी र विद्यार्थीको हिस्सा भने थोरै पाइयो ।’

नेपाल घुम्न आउने विदेशी पर्यटकमा श्रीलंका सन् २०२० मा प्रमुख ५ मुलुकभित्र परेको थियो । जेनिथका प्रबन्धक दिपक मैनालीका अनुसार अहिले कोरोनाका कारण श्रीलंकाले नेपालीलाई पर्यटन भिसामा घुम्न रोक लगाएको छ । तर, मध्यपूर्वी मुुलुकका लागि हाल भइरहेका उडानमा महँगो टिकट लिन बाध्य नेपालीलाई कोलम्बो विमानस्थल हुँदै साउदी, दोहा र दुबई जान वायुसेवाबीचको प्रतिस्पर्धाका कारण सस्तो पर्नेछ ।

नेपालको ध्वजावाहक वायुसेवाभन्दा २१ वर्षपछि स्थापना भएको श्रीलंकन कोरोना महामारीअघि ५१ देशका १ सय १३ वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको थियो । यो रुटको उडानले दोहा, चीन हुँदै युरोप तथा अस्ट्रेलिया जाने नेपालीका लागि विकल्प थपिएको छ । यसले असोज कात्तिकदेखि कोलम्बोबाट जापान, अस्ट्रेलिया र लण्डन उडान सुचारु गर्ने भनेको छ ।

श्रीलंकाका लागि नेपालमा पहिलोपटक वाणिज्यदूत भइसकेका पर्यटन व्यवसायी कर्ण शाक्यका अनुसार श्रीलंका–नेपाल उडानले भारत हुँदै लुम्बिनी घुम्न आउने बौद्ध धर्मावलम्बी लगायतका तिर्थयात्रीलाई सजिलो हुने छ । सार्क सदस्य राष्ट्र श्रीलंकाको कुल जनसंख्यामध्ये ७० प्रतिशत बौद्ध धर्मावलम्बी छन् । यसअघि सिधा उडान नभएका कारण बौद्ध धर्मावलम्बीहरु भारतको काशी, गयाबाटै फर्किन्थे ।

प्रकाशित : भाद्र १३, २०७८ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?