३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अन्डामा आत्मनिर्भर भने पनि अपर्याप्त

पछिल्लो डेढ वर्षमा थोकमा क्रेटमै ११५ रूपैयाँ वृद्धि, खुद्रामा २१५ रूपैयाँसम्म बढाइयो
कोरोना महामारीमा माग बढ्नु, दाना, चल्ला र औषधि महँगिनु तथा बिचौलियाका कारण पनि अन्डाको भाउ अकासिएको हो

काठमाडौँ — सरकारले अन्डामा आत्मनिर्भर भएको दाबी गरे पनि पर्याप्त उत्पादन नहुँदा बजार मूल्य बढेको बढ्यै छ । पछिल्लो डेढ वर्षमा प्रतिक्रेट अन्डाको मूल्य १ सय १५ रुपैयाँ बढेको नेपाल अन्डा उत्पादक संघले जानकारी दिएको छ ।

अन्डामा आत्मनिर्भर भने पनि अपर्याप्त

खुद्रा बजारमा भने प्रतिक्रेट २ सय १५ रुपैयाँसम्ममा कारोबार भइरहेको छ । संघले २०७६ पुसमा ठूलो अन्डाको प्रतिक्रेट मूल्य २ सय ७५ रुपैयाँ र सानो अन्डाको प्रतिक्रेट मूल्य २ सय ५५ रुपैयाँ तोकेको थियो । अहिले बढेर ठूलो अन्डाको मूल्य प्रतिक्रेट ३ सय ९० र सानो अन्डाको प्रतिक्रेट ३ सय ६० रुपैयाँ पुगेको छ ।

संघले नै मूल्य बढाएपछि खुद्रा बजारमा पनि सोहीअनुसार वृद्धि भएको छ । खुद्रा बजारमा अहिले प्रतिक्रेट ४ सय ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ‘होलसेलमा मूल्य बढाएका छन् । मूल्य घटाउन भन्दा अन्डा दिन मान्दैनन्,’ नाम उल्लेख गर्न नचाहने एक खुद्रा व्यापारीले भने, ‘त्यसले खुद्रा बजारमा पनि मनलाग्दी भएको छ । उपभोक्ताले एउटा अन्डा किन्दा २० रुपैयाँ तिर्छन् । दुई वटाको ३५ रुपैयाँ ।’

विश्व खाद्य तथा कृषि संगठनले एक व्यक्तिले एक वर्षमा न्यूनतम ४८ वटा अन्डा उपभोग गर्नुपर्ने जनाएको छ । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ६१ वटा अन्डा उपलब्धता भएको दाबी गर्दै गत चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अन्डा उत्पादनमा मुलुक आत्मनिर्भर भएको दाबी गरेका थिए । ओली र तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले यो क्षेत्रलाई एक कदम अगाडि बढाउन सफल भएको दाबी गरे पनि अहिले उनीहरूले भनेजस्तो अन्डा उत्पादन पर्याप्त छैन । मागअनुसार उत्पादन नभएपछि व्यवसायीहरूले आफूखुसी मूल्य बढाउन थालेका हुन् ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका सचिव देवकुमार गिरीले पनि उत्पादन कम भएकै कारण बजारमा मूल्यवृद्धि भइरहेको दाबी गरे । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले भने विश्व खाद्य तथा कृषि संगठनले तोकेभन्दा बढी नै अन्डा उपलब्ध रहेको बताए । ‘प्रतिव्यक्ति प्रतिवर्ष ४८ वटा अन्डा उपलब्ध हुनुपर्नेमा अहिले ५४ वटा पुगेको छ । यसको मतलब आत्मनिर्भर भन्ने मान्यता हो,’ उनले भने, ‘१५ औं योजनासम्म प्रतिव्यक्ति प्रतिवर्ष ७८ वटा पुग्ने प्रक्षेपण गरेका छौं ।’

पछिल्लो समय कोरोना महामारीले माग बढाइदिएको विभागको दाबी छ । अन्डामा प्रोटिन पाइने हुँदा खपत बढेको संघका अध्यक्ष शिवराम केसीले बताए । उनका अनुसार गर्मीयाममा कुखुराले कम दाना खान्छन्, जसले गर्दा उत्पादनमा पनि केही कमी हुन्छ । ‘दानाकै कारण पनि करिब १०–१५ प्रतिशत उत्पादन घटेको छ,’ उनले भने, ‘पछिल्लो समय कोरोनाले पनि माग अत्यधिक बढाइदिएको हो ।’

मुलुकभर दिनमा ३२/३३ लाख अन्डा उत्पादन भइरहेको संघले जनाएको छ । अन्डा मुख्यतः चितवन, दाङ, मकवानपुर, झापा, मोरङ, सुनसरीलगायतमा उत्पादन हुन्छ । यी सबै क्षेत्रमा माग बढ्दा पनि मूल्य बढेको केसीको दाबी छ । ‘यसअघि खुद्रामा प्रतिगोटा १२/१३ रुपैयाँ थियो । अहिले १६ रुपैयाँ पुगेको छ,’ उनले भने, ‘क्रेट नै किन्दा त्यति मूल्य पर्दैन । कतिपय ठाउँमा ढुवानीका कारणले पनि मूल्य बढेको छ ।’ दाना र चल्लाको मूल्य बढ्दा पनि त्यसको भार उपभोक्ता मूल्यमा परेको उनी बताउँछन् । ‘औषधि र कच्चा पदार्थको मूल्य बढेको भन्दै दानाको मूल्य बढाइयो । जसले गर्दा अन्डाको मूल्य पनि स्वतः बढ्न पुग्यो,’ उनले भने, ‘दानाको मूल्य घटे अन्डाको मूल्य पनि घट्न सक्छ । तर अहिलको अवस्थामा तत्काल घट्ने सम्भावना छैन ।’

किसानको लागत मूल्य नै बढी भएको उनको दाबी छ । यद्यपि पछिल्लो समय किसानले पर्याप्त मूल्य भने पाएको उनको भनाइ छ । जानकारहरूका अनुसार बिचौलियाका कारण पनि उपभोक्ता मारमा परिरहेका छन् । मासु तथा अन्डा उत्पादनका विषयमा पशु सेवा विभागले नियमन गर्छ । मूल्य भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नियमन गर्नुपर्छ । तर यी निकाय आँखा चिम्लिएर बसेको उपभोक्ताकर्मीको आरोप छ । मनलाग्दी मूल्य बढाउँदासमेत नियमन नगरिँदा पक्कै केही स्वार्थ रहेको बुझिने उपभोक्ताकर्मी ज्योति बानियाँको तर्क छ ।

आवश्यकभन्दा बढी मूल्य लिएको पुष्टि भए अनुगमन र कारबाही गर्नुपर्ने संघका अध्यक्ष केसीले बताए । ‘बिचौलियाका कारण पनि मूल्य बढ्छ । आवश्यकभन्दा बढी मूल्य लिए सचेत गराउन सरकारी निकाय छन्, यसतर्फ प्रशासन सचेत हुनुपर्छ,’ उनले भने, ‘उपभोक्तालाई पनि महँगो नपरोस्, किसानलाई पनि घाटा नहोस् ।’

प्रकाशित : भाद्र ७, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?