रैथाने परिकारमा बढ्दै भीड

रुपन्देहीमा स्थानीय मौलिक परिकार पाइने होटल तथा रेस्टुरेन्ट खोल्ने होडबाजी
सन्जु पौडेल

लुम्बिनी — रूपन्देही सैनामैना–४ का सुरज थापामगर सोमबार बिहान बुटवल आए । निजी कामले आएका उनी खाना खाने समय भएपछि स्थानीय मगर्स किचनमा पुगे । त्यहाँ उनले पालैपालो कोदोको रोटी, ढिँडो, टिमुर र टमाटरको चटनी, छोप खाए । ‘सबै स्वाद मन पर्‍यो,’ उनले भने, ‘गाउँघरकै याद आयो ।’ 

रैथाने परिकारमा बढ्दै भीड

गुल्मीमा जन्मिएकाले गाउँको खानाका परिकार सम्झिरहेका बेला बुटवलमै परिकार पाइन थालेपछि मन लागेका बेला आएर खाने गरेको उनले बताए । ‘आमाले कोदोको पिठो पठाइदिँदा खाइन्छ,’ उनले भने, ‘अहिले मन लाग्दा यहाँ आयो, खायो ।’ पहाडमा बुबाआमाले के खाएर हुर्किनुभयो भन्ने नयाँ पुस्तालाई जानकारी नभएको उनको भनाइ छ । अहिले सहरमा यस्ता पम्परागत होटल तथा खाजाघरमा रैथाने खाना चाख्न भीड लाग्ने गरेको उनी बताउँछन् ।

तिलोत्तमा–२ का विनोद श्रेष्ठ बुटवलमा व्यवसाय गर्छन् । खाना खान घर जान नपाएका बेला उनी पनि मगर्स किचन पुग्छन् । त्यहाँ बंगुरको मासुसँगै पिरो चटनी र ढिँडो खाने गरेको उनको भनाइ छ । ‘होटल त धेरै छन्,’ उनले भने, ‘यहाँ हामीले पहाडमा खाने जस्तो पाइन्छ ।’ परम्परागत शैलीमा सजाइएका भाँडा, पुराना सामग्रीको अवलोकन र खाना खाने भाँडासमेत पुरानै भएकाले हजुरबुबाले सुनाउने गाउँका दुःख, सुख र खानाको याद ताजा हुने गरेको श्रेष्ठले सुनाए ।

सहरीकरण र आधुनिकताले ढाकेको रूपन्देहीमा पछिल्लो समय रैथाने परिकार पाइने होटल तथा रेस्टुरेन्ट धमाधम खुल्न थालेका छन् । युवा वर्गमा देखिएको परम्परागत खाना चाख्ने र स्वाद लिने तिर्सना मेटाउन यस्ता रेस्टुरेन्ट खुल्न थालेका हुन् । त्यस्ता रेस्टुरेन्टमा परिकार मात्र नभई ग्राहकको आकर्षणका लागि परम्परागत शैलीको सजावट र पुराना भान्सामा सजाइने सामग्रीसमेत राखिएका हुन्छन् । केही होटलको भौतिक पूर्वाधार पनि परम्परागत शैलीकै देख्न सकिन्छ ।

बुटवलको मिलनचोक तीनकुने नजिकै ढुंगाले छाएको, काठैकाठको बार्दलीसहितको दुईतले घर बनाइएको छ । घरको आँगनअगाडि बाँसको तगारो र छेउमा ढुंगेधारा र मकैको सुली सजाइएको छ । घरभित्र छिर्नेबित्तिकै मदुस, भुइँमा गुन्द्रीमाथि काम्लो (राडी) बिछ्याइएको छ । भित्तामा मादल, डम्फु, भरुवा बन्दुक, धनु काँड, डोको, फुर्लुङ र चाल्नो आदि छन् ।

चार वर्ष कोरियामा रोजगारी गरेर फर्केका मगर फिल्मका निर्देशक, कलाकार र लेखकसमेत रहेका ४५ वर्षीय सञ्जय काउचा मगरले मगर्स किचनको सुरुवात गरेका हुन् । ५० लाख रुपैयाँ लगानी भएको किचनमा भुटेका मकै, भटमास, कोदो र फापरको रोटी, ढिँडो, कोदो र फापरकै मःम, सेलरोटी, बटुक, पिँडालु, तरुल, चुकाउनी, स्थानीय जातका कुखुराको मासु आदि अर्गानिक खाजा र खानाका परिकार उपलब्ध हुने सञ्चालक काउछाले बताए ।

कोदो, फापर, सिस्नो, मकै, भटमासलगायतका वस्तु गुल्मी, बागलुङ र पाल्पाका ग्रामीण भेगबाटै किनेर ल्याउने गरेको उनले जानकारी दिए । तिलोत्तमा–५, मणिग्राममा रहेको मिस्टर कोर्न नामक मकै परिकार पाइने क्याफे सञ्चालन सुरु भएदेखि नै यहाँ मानिसको घुइँचो लाग्न थालेको छ । लोकल मकैको बार्बिक्यु गरी विभिन्न ससमा डोबी पोलेर चखाउँदा ग्राहक लोभिने गरेको मिस्टर कोर्नका संस्थापक निश्चल जोशीले बताए ।

उपत्यकाबाहिर मणिग्राममा खोलेको पाँचौं शाखाले रूपन्देही आसपासका मानिसलाई घरमै फल्ने मकैबाट बन्ने विभिन्न परिकारका साथै अमेरिकन र स्विट बेबी कोर्नका परिकारसमेतको स्वाद चखाउने गरेको उनले जानकारी दिए । युवा वर्गले रुचाउने मकैको पकौडा, मकैको मःमलगायत बिर्यानी र फ्राई राइस पनि पाइने तिलोत्तमास्थित उक्त क्याफे सञ्चालक राजेन्द्र श्रेष्ठले बताए ।

गाउँको परिवेशमा पाक्ने खाना र पुर्खाले खाइरहेको खानालाई नयाँ तरिकाले युवा व्यवसायीले सञ्चालन गर्दा राम्रो सन्देश जाने बुटवलका पुराना होटल व्यवसायी केशवराज ज्ञवालीको भनाइ छ । लोप हुन लागेका नेपालीका खानाबारे अहिलेको पुस्तालाई जानकारी गराउन पनि यस्ता खानाले सहयोग गर्ने उनले बताए ।

प्रकाशित : भाद्र २, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?