मौद्रिक नीति २०७८/७९ : लघुवित्तको संख्या घटाउने रणनीति- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

मौद्रिक नीति २०७८/७९ : लघुवित्तको संख्या घटाउने रणनीति

थोक र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएर लघुवित्त वित्तीय संस्थाका रुपमा काम गर्न सक्ने
राजु चौधरी, विजय तिमल्सिना

काठमाडौँ — नेपाल राष्ट्र बैंकले लघुवित्तको संख्या घटाउने रणनीतिसहितको मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै थोक तथा खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थालाई पनि मर्जर गर्न सक्ने व्यवस्था गरिने जानकारी दिए ।

‘थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थासमेत गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत भए खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाका रूपमा कार्य गर्न सक्ने व्यवस्था गरिनेछ,’ उनले भने, ‘वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको दोहोरो लगानी क्रस होल्डिङ भएका लघुवित्त वित्तीय संस्थाहरू २०७९ असार मसान्तभित्र एकआपसमा गाभ्नु वा गाभिनुपर्ने व्यवस्था गरिनेछ ।’

लघुवित्तको संख्या घटाउनु यसको मुख्य उद्देश्य रहेको जानकारहरू बताउँछन् । हाल ७२ लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन् । नीति समग्रमा राम्रो भए पनि कार्यान्वयनपछि मात्र यसबारे भन्न सकिने लघुवित्त बैंकर संघका अध्यक्ष वसन्त लम्सालले जानकारी दिए । थोक तथा खुद्रा लघु वित्तीय संस्थाको मर्जरमा जोड दिइनुले सकारात्मक प्रभाव पारेको उनको भनाइ छ । मौद्रिक नीतिले बचत तथा ऋणसम्बन्धी कारोबार गर्ने सहकारी संस्थाबाहेकका अन्य विषयगत सहकारी संस्थाका लागि कर्जा उपलब्ध गराउन सक्ने जनाएको छ । ‘सहकारी संस्थाका समूह सदस्यमार्फत सामूहिक खेती तथा पशुपक्षीपालनका लागि प्रतिसदस्य ५ लाख ननाघ्ने गरी त्यस्ता सहकारीलाई वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाहरूले वाणिज्य बैंकको वित्तीय प्रतिनिधिका रूपमा कार्य गर्न सक्ने सम्बन्धमा आवश्यक अध्ययन गरिनेछ ।’

कृषि कर्जामा लचकता

राष्ट्र बैंकले कृषि क्षेत्रमा प्रवाह कर्जा नोक्सानी व्यवस्थामा लचक नीति कार्यान्वयन गर्ने बताएको छ । दीर्घकालीन कृषि परियोजनामा प्रवाह हुने कर्जाको ग्रेस अवधिमा पाकेको ब्याजलाई बैंक तथा वित्तीय संस्थाले पुँजीकरण गर्न सक्ने मौद्रिक नीतिमा उल्लेख छ । ‘रेशम, जुट, कपासलगायत कृषि खेतीको विकास गरी उद्योगसँग अग्रसम्बन्ध र पृष्ठसम्बन्ध स्थापित गर्ने कृषि उत्पादन अभिवृद्धि गर्नेतर्फ कर्जा प्रवाहलाई प्रोत्साहित गर्न कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाइनेछ,’ नीतिमा भनिएको छ, ‘फलफूल, मसला, जडीबुटीलगायतका दीर्घकालीन कृषि परियोजनामा प्रवाह हुने कर्जाको ग्रेस अवधिमा पाकेको ब्याजलाई बैंक तथा वित्तीय संस्थाले पुँजीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ ।’

विद्युतीय भुक्तानी सीमा पुनरावलोकन

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाउने घोषणा गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार जारी गरेको मौद्रिक नीतिमा चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षका रूपमा मनाउने उल्लेख छ । अहिले मोबाइल बैंकिङमार्फत दैनिक २ लाखसम्म भुक्तानी दिन सकिने व्यवस्था छ । विद्युतीय भुक्तानी कारोबारमा लाग्ने शुल्क पनि घटाउने संकेत मौद्रिक नीतिमा गरिएको छ । ‘विद्युतीय भुक्तानी कारोबारमा लाग्ने शुल्कलाई उपयुक्त स्तरमा कायम गर्न नीतिगत व्यवस्था गरिनेछ,’ नीतिमा भनिएको छ ।

अहिले राष्ट्र बैंकको नियमअनुसार एक हजार रुपैयाँसम्मको विद्युतीय कारोबारमा शुल्क लाग्दैन । तीन हजारसम्मका कारोबारमा प्रतिकारोबार ५ रुपैयाँ शुल्क लाग्दै आएको छ । १० हजारसम्मको कारोबारमा १० रुपैयाँ र त्यसभन्दा बढीको कारोबारमा प्रतिकारोबार ३० रुपैयाँ शुल्क लाग्छ । बैंक तथा वित्तीय संस्थामा कर्जाको आवेदनदेखि स्वीकृति गर्नेसम्मको प्रक्रियालाई विद्युतीय माध्यमबाट हुने व्यवस्थाको सहजीकरण गर्न राष्ट्र बैंकले डिजिटल कर्जा मार्गदर्शन बनाउने घोषणा पनि नीतिमा छ ।

राष्ट्र बैंकले विद्युतीय मुद्राको सम्भाव्यता अध्ययन गर्ने मौद्रिक नीतिमा भनिएको छ । भौतिक रूपमा उपस्थित नहुने डिजिटल मुद्राको सम्भाव्यताबारे विभिन्न मुलुकमा अध्ययन भइरहेको छ । केही देशका सीमित स्थानमा भने यसको प्रारम्भिक परीक्षण पनि सुरु भइसकेको छ । मौद्रिक नीतिले भुक्तानी प्रदायक संस्थाहरूको अधिकार क्षेत्र फराकिलो बनाउने संकेत पनि गरेको छ । भुक्तानी सेवा प्रदायकले निश्चित रकमसम्म लघु कर्जा उपलब्ध गराउने सक्ने व्यवस्था गर्न अध्ययन थालिने पनि बताइएको छ ।

‘लघु, साना र घरेलु उद्यम तथा स्टार्टअप प्रवर्द्धन गर्न डिजिटल बैंकिङको अवधारणा तथा भुक्तानी प्रदायक संस्थाहरूले निश्चित रकमसम्म लघु कर्जा उलब्ध गराउन सक्ने व्यवस्था मिलाउन आवश्यक अधययन गरिनेछ,’ नीतिमा भनिएको छ । यसबाहेक भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकको कारोबार दायरा बढाई लघुवित्त वित्तीय संस्था र सहकारीका ग्राहकलाई समेत विद्युतीय भुक्तानी सेवा प्रोत्साहन गर्ने विषय नीतिले समेटेको छ ।

...

'पुनरुत्थानमा सघाउने नीति'

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले कोभिडपछिको पुनरुत्थानमा सकारात्मक प्रभाव पार्ने निजी क्षेत्रले बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले मौद्रिक नीति कोभिडपछिको पुनरुत्थान, उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धनमा सकारात्मक भएको उल्लेख गरे ।

‘नीतिले आर्थिक वर्ष २०७७/७८ मा दिएका पुनर्कर्जा, पुनःसंरचना तथा पुनर्तालिकीकरणलगायत सुविधालाई निरन्तरता दिइएकाले पुनरुत्थानमा सहयोग पुग्नेछ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एक करोडभन्दा कमको ऋण लिने साना तथा मझौला उद्यमीलाई आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्थाले उद्यमीलाई कर्जासम्मको पहुँच सहज बनाउनेछ ।’

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई कालोसूचीमा राख्ने विद्यमान व्यवस्था पुनरावलोकन गरिने विषय पनि स्वागतयोग्य रहेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी निगरानी सूचीको अवधि एक प्रतिशत बढाउनु सकारात्मक देखिएको महासंघले जनाएको छ ।

यसैगरी आफूले उठाएका विषय नीतिमा समावेश भएको र यसले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने परिसंघले बताएको छ । ‘पर्यटन क्षेत्रको ब्याज फ्रिज गर्ने घोषणाले यस क्षेत्रको पुनरुत्थानका लागि सहयोग गर्नेछ,’ परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक सवारीसाधन मर्मतका लागि बैंक तथा वित्तीय संस्थाले प्रतिसवारीसाधन २ लाख रुपैयाँसम्म थप कर्जा प्रदान गर्ने व्यवस्था स्वागतयोग्य छ ।’

प्रकाशित : श्रावण ३०, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

विद्युत् उपभोग बढे पनि इन्धन आयात घटेन

दाउरा विस्थापित गर्ने नाउँमा ग्यास उपभोग बढिरहेको छ, उपभोक्ता पनि थपिएको थपियै छन् 
राजु चौधरी, विजय तिमल्सिना

काठमाडौँ — सरकारले विद्युत् उत्पादन बढाएर इन्धन प्रतिस्थापन गर्ने नीति लिए पनि इन्धन आयात भने बढ्दै गएको छ । खाना पकाउने ग्यासको औसत वृद्धिदर १८, पेट्रोलको १३ र डिजेलको ४ प्रतिशत आयात बढेको छ । मटितेल आयात वृद्धिदर ०.२ र हवाई इन्धन १ प्रतिशत बढेको निगमले जनाएको छ ।

इन्धनलाई प्रतिस्थापन गर्ने भनिएको विद्युत्को उपभोग पनि बढिरहेको छ । वार्षिक रूपमा तुलना गर्ने हो भने पनि इन्धन आयात र विद्युत् खपत दुवै बढिरहेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको छ महिनामा प्रतिव्यक्ति विद्युत् खपत २ सय ६७ युनिट पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म २ सय ४५ युनिट प्रतिव्यक्ति मात्रै थियो । ६ महिनामा प्रतिव्यक्ति विद्युत् खपत २२ युनिटले बढेको हो । आव ०७१/७२ मा २ लाख ५८ हजार २ सय ९९ टन आयात भएको ग्यास बढेर आव ०७५/७६ मा ४ लाख २९ हजार ६ सय ९ टन पुगेको छ ।

निगमको पाँच वर्षको तथ्यांकले पनि आयात क्रमिक रूपमा बढेको देखाउँछ । तथ्यांकअनुसार आव ०७१/७२ मा २ लाख ८७ हजार ४ सय ७३ किलोलिटर आयात भएको पेट्रोल ०७५/७६ मा ५ लाख ६६ हजार ८ सय ३३ किलोलिटर पुगेको छ । ९ लाख २१ हजार ७ सय १४ किलोलिटर आयात भएको डिजेल बढेर १७ लाख १५ हजार २ सय १७ किलोलिटर, १९ हजार ६ सय ५३ किलोलिटर आयात भएको मटितेल बढेर २५ हजार १२ किलोलिटर पुगेको निगमको तथ्यांक छ ।

इन्धनको आयात र उपयोग बढिरहेको छ भने विद्युत्को उपभोग पनि घटेको छैन । २०७०/७१ आर्थिक वर्षमा कुल विद्युत् खपत ३ हजार ५ सय गिगावाट आवर रहेकामा गत आर्थिक वर्षमा बढेर करिब साढे ६ हजार गिगावाट आवर पुगेको थियो ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक तथा ऊर्जा अध्ययन केन्द्रका प्रमुख जगन्नाथ श्रेष्ठ भने विद्युत्को निरन्तर आपूर्तिसँगै सर्वसाधारणले वासिङ मेसिन र एयर कन्डिसनजस्ता सामग्रीको प्रयोग बढाउन थालेकाले ऊर्जा खपत बढेको अनुमान गर्छन् । ‘अहिले बजारमा एयर कन्डिसन र वासिङ मेसिनको माग बढ्दो छ,’ उनले भने, ‘यीबाहेक अन्य विद्युत् खपत गर्ने सामग्रीको प्रयोग पनि बढेको छ ।’

उनका अनुसार धेरै परिवारले एकभन्दा बढी टेलिभिजन प्रयोग गर्ने चलन बढ्नु, सबै घरमा राउटर र मोबाइलको प्रयोगलाई पनि विद्युत् खपत् बढाउने कारण मान्छन् ।

उनका अनुसार विद्युत् निरन्तर भए पनि विश्वसनीय नभएकाले सर्वसाधारणले ग्याँसको सट्टा विद्युतीय चुलो प्रयोग गर्न सकेका छैनन् । यसका लागि विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउनुपर्ने उनको धारणा छ । योबाहेक, निजी सवारीको बढ्दो प्रयोगका कारण पनि डिजेल र पेट्रोलको आयात नघट्ने उनको विश्लेषण छ ।

‘इन्धनको खपत र माग बर्सेनि बढ्दो छ,’ निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘आयातित इन्धनमध्ये सबैभन्दा बढी माग ग्यासको छ । दाउरा विस्थापित गर्न ग्यासको माग बढ्दो छ ।’ मुलुकभर करिब २६ लाख घरधुरीले ग्यास प्रयोग गरिरहेको निगमले बताएको छ । करिब ६५ प्रतिशत घरधुरीमा ग्यास पुगेको छैन । ‘गाउँघरमा पहिलो पटक ग्यास प्रयोग गर्ने संख्या क्रमिक बढेको छ,’ उनले भने । सरकारले बिजुलीबाट खाना पकाउँदा सस्तो पर्ने दाबी गर्दै ग्यास आयात निरुत्साहित गर्ने नीति लिएको छ । तर पाँच वर्षको अवधिमा ग्यास आयात उल्लेख्य बढेको छ ।

चालु आवको ६ महिनामा पनि ग्यास आयात उल्लेख्य रूपमा बढेको छ । सबैभन्दा बढी ग्यास मंसिरमा आयात भएको निगमका प्रवक्ता वीरेन्द्र गोइत बताउँछन् । साउनमा ३६ हजार ४ सय ५१ टन, भदौमा ३५ हजार ६ सय ९२ टन, असोजमा ३८ हजार ५ सय ३८ टन ग्यास आयात भएको जनाएको छ । कात्तिकमा ३६ हजार १ सय ७० र मंसिरमा ४४ हजार ९ सय ७५ टन ग्यास आयात भएको छ । पुसमा भने ३९ हजार ३ सय ६८ टन आयात भएको निगमले जनाएको छ । ‘हरेक जिल्लामा माग बढिरहेको छ । ग्यासको माग औसतमा १८ प्रतिशत बढेको छ,’ गोइतले भने, ‘विद्युत्ले तत्काल ग्यास विस्थापन गर्न सक्दैन ।’

लोडसेडिङ अन्त्य भएपछि डिजेलमा भने सामान्य प्रभाव परेको निगमको भनाइ छ । ‘लोडसेडिङ हुँदा डिजेलको माग औद्योगिक घरानामा पनि हुन्थ्यो । अहिले यातायात क्षेत्रमा मात्रै उपयोग भइरहेको छ,’ निगमका नायब कार्यकारी निर्देशक भट्टराईले भने, ‘निर्माण/ठेक्काहरूको काम भएको देखिँदैन । जसले गर्दा डिजेलमा केही कमी भएको देखिन्छ ।’ इन्धन आयात वृद्धिसँगै विद्युत् उपभोग पनि बढेको छ ।

विद्युत् प्राधिकरणले भने विद्युत् खपत बढे पनि आयात घटेको दाबी गरेको छ । प्राधिकरणका अनुसार पछिल्लो पाँच वर्षको तुलनामा यो वर्षको छ महिनामा विद्युत् आयात दर घटेको छ । पछिल्लो छ महिनामा कुल खपतको २२ प्रतिशत मात्रै विद्युत् आयात गर्नुपरेको प्राधिकरणको भनाइ छ । ‘छ महिनामा ९ सय ९ गिगावाट आवर विद्युत् मात्रै आपूर्ति गर्नुपरेको छ । अघिल्लो आर्थिक वर्षमा २ हजार ८ सय १३ गिगावाट आवर विद्युत् आपूर्ति भएको थियो ।

अर्धवार्षिक तथ्यांकका हिसाबले चालु आवमा विद्युत् आयात झन् घट्ने देखिएको प्राधिकरणको तथ्यांक छ । गत वर्ष कुल विद्युत् मागको ३७ प्रतिशत भारतबाट आयात गर्नुपरे पनि यस वर्ष कम आयात भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । आन्तरिक माग बढे पनि केही आयोजनाले उत्पादन थालेका कारण भारतप्रतिको निर्भरता कम भएको हो । आव ०७४/७५ र ०७५/७६ मा कुल आन्तरिक विद्युत् मागको ३७ प्रतिशत भारतबाट आयात गर्नुपरेको थियो । पछिल्लो छ महिनामा ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए, १४ मेगावाटको कुलेखानी तेस्रो र निजी क्षेत्रका आठ जलविद्युत् आयोजना राष्ट्रिय प्रणालीमा जोडिएका छन् । खपत बढ्दा पनि आयातमा निर्भरता कम भएको प्राधिकरणको विश्लेषण छ ।

औद्योगिक क्षेत्रबाट पनि एलपी ग्यासको माग भएको छ । जगदम्बा स्टिल प्रालि, आरती स्टिल र हुलास स्टिल प्रालिले औद्योगिक प्रयोजनका लागि ग्यास माग गरेको निगमले जानकारी दियो । ‘यी उद्योगले फलाम पगाल्न ग्यास मागेका छन्,’ निगमका प्रबन्धक भरत रेग्मीले भने, ‘मापदण्ड बनाएर औद्योगिक क्षेत्रलाई ग्यास दिन सकिन्छ ।’

व्यवसायीले यसअघि फलाम पगाल्न फर्निक्स आयल प्रयोग गर्दै आएको रेग्मीले बताए । अहिले भारतले उक्त आयललाई प्रदूषण बढेको जनाउँदै पाँच राज्यमा प्रतिबन्ध लगाएको छ । त्यसपछि व्यवसायीले ग्यास मागेका हुन् ।

औद्योगिक प्रयोजनका लागि निगम सञ्चालक समितिले न्यूनतम मुनाफा राखेर बिक्री गर्न सहमति दिइसकेको छ । ‘करिब ५ प्रतिशत मुनाफा राखेर औद्योगिक प्रयोजनमा ग्यास दिन सकिन्छ,’ रेग्मीले भने । सर्वसाधारणलाई बेच्दा भने निगमलाई प्रतिसिलिन्डर करिब ३ सय ८४ रुपैयाँ घाटा छ । सुरक्षाको मापदण्ड तयार भएपछि औद्योगिक क्षेत्रलाई पनि ग्यास दिइने निगमले जनाएको छ । ‘जगदम्बाले मासिक करिब १५ बुलेट ग्यास मागेको छ । त्यो भनेको एउटा बोटलिङ प्लान्ट नै हो,’ उनले भने, ‘सुरक्षा मापदण्डको मस्यौदा बनेको छ । त्यसलाई अन्तिम रूप दिएपछि प्रोडक्ट डेलिभर अडर (पीडीओ) दिन्छौं ।’ औद्योगिक क्षेत्रलाई दिइने ग्यास भने केही महँगो हुने निगमको दाबी छ ।

प्रकाशित : फाल्गुन १८, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×