विद्युत् महसुल छुट : बजेटमा घोषणा, कार्यान्वयनमा छैन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

विद्युत् महसुल छुट : बजेटमा घोषणा, कार्यान्वयनमा छैन

विजय तिमल्सिना

काठमाडौँ — सरकारले यस वर्षको बजेटमार्फत विद्युत् महसुलमा छुट घोषणा गर्‍यो । तर यसको कार्यान्वयन गर्ने निकायलाई अहिलेसम्म पनि औपचारिक जानकारी नभएको पाइएको छ । सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटमा २० युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ्य ग्राहक र साना उपभोक्तालाई निषेधाज्ञाभर निःशुल्क विद्युत् दिने घोषणा गरेको थियो । 

यसबाहेक मासिक १ सय ५० युनिटसम्म विद्युत् खपत गर्नेलाई निषेधाज्ञाभरको विद्युत् महसुलमा ५० र २५० युनिटसम्म खपत गर्ने गार्हस्थ्य ग्राहकलाई ३० प्रतिशत महसुल छुट दिने घोषणा गरिएको थियो । उक्त विद्युत् महसुल छुटको व्यवस्था कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणलाई औपचारिक रूपमा कुनै जानकारी नआएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘छुट कार्यान्वयन गर्न भनेर हामीलाई अहिलेसम्म औपचारिक रूपमा कुनै जानकारी वा परिपत्र आएको छैन,’ उनले भने, ‘महसुल छुट कार्यान्वयनका लागि प्राधिकरणभन्दा पहिला विद्युत् नियमन आयोगले निर्णय गर्नुपर्छ ।’

महसुल छुटका लागि आयोगबाट निर्णय भई आए प्राधिकरणले कार्यान्वयन गर्ने शाक्यले बताए । ‘महसुल छुट दिन आयोगबाट निर्णय भई आए हामी सञ्चालक समितिलाई जानकारी गराएर कार्यान्वयनमा जान्छौं,’ उनले भने, ‘छुट दिइएको महसुल सरकारबाट शोधभर्ना लिन्छौं ।’ विद्युत् प्राधिकरण ऐनमा सरकारको निर्देशन पालनाबाट प्राधिकरणलाई कुनै घाटा भए त्यसबापतको रकम प्राधिकरणलाई सरकारले क्षतिपूर्तिका रूपमा दिनुपर्ने प्रावधान छ ।

विद्युत् क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगलाई महसुल सम्बन्धमा निर्णय गर्ने अधिकार छ । सरकारले बजेटमा गार्हस्थ्यसहित विभिन्न वर्गका ग्राहकलाई विद्युत् महसुलमा छुट दिने घोषणा गरेको थियो । आयोगले पछिल्लो पटक गरेको विद्युत् महसुल निर्धारणमा मासिक १० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकलाई निःशुल्क विद्युत् दिनुपर्ने व्यवस्था गरेको थियो । १० युनिटभन्दा कम विद्युत् खपत गर्ने गार्हस्थ्य ग्राहकलाई विद्युत् शुल्क छुट दिइएको भए पनि निषेधाज्ञाभरका लागि मासिक २० युनिटसम्म महसुल छुटको घोषणा गरिएको हो ।

बजेटमा गार्हस्थ्य ग्राहकबाहेक उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र उद्योगलाई पनि निषेधाज्ञा अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट दिने व्यवस्था मिलाइने घोषणा गरिएको थियो । यीबाहेक साझेदारी, सहलगानीलगायत सबै प्रकारका खानेपानी तथा सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत्को डिमान्ड शुल्क र महसुल पूरै छुट दिने व्यवस्था गर्ने पनि बजेटमा घोषणा गरिएको थियो ।

कोभिडको महामारी रहुन्जेल अक्सिजन उत्पादन गर्ने उद्योगलाई ५० प्रतिशत दिने घोषणा पनि गरिएको थियो । बजेटमा काठमाडौंबाट मकवानपुरको मयूरधापमा स्थानान्तरण हुने उद्योगलाई ५ वर्षका लागि विद्युत् डिमान्ड शुल्क छुट दिने पनि भनिएको थियो । तत्कालीन सरकारले बजेटमार्फत विद्युत् महसुलमा विभिन्न छुट घोषणा गरे पनि यसबारे कार्यान्वयन गर्ने निकायसँग पूर्वछलफल नै नगरेको प्राधिकरण स्रोतले जनाएको छ ।


प्रकाशित : श्रावण १९, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्

परीक्षणकालमा फाइभजी नि:शुल्क

परीक्षण अनुमति स्वीकृत भएपछि मात्रै सेवा प्रदायकले हार्डवेयर, सफ्टवेयरलगायत उपकरण किन्नुपर्ने
विजय तिमल्सिना

काठमाडौँ — दूरसञ्चार सेवा प्रदायकहरूले फाइभजी परीक्षण गर्दा प्रयोगकर्ताबाट शुल्क लिन नपाइने प्रावधानसहित नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि जारी गरेको छ । फाइभजी परीक्षणका लागि बढीमा एक वर्षसम्मका लागि सेवा प्रदायकलाई नि:शुल्क फ्रिक्वेन्सी उपलब्ध गराउने प्रावधान पनि कार्यविधिमा राखिएको छ ।

‘सेवा प्रदायकले नयाँ प्रविधिको परीक्षणका रूपमा सञ्चालित सेवाबाट ग्राहकसँग कुनै पनि प्रकारको शुल्क लिन पाउने छैनन्,’ फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधिमा भनिएको छ ।

परीक्षणका लागि सेवा प्रदायकलाई उपलब्ध गराइएको फ्रिक्वेन्सी परीक्षण अवधि सकिएपछि प्राधिकरणले फिर्ता लिने प्रावधान पनि कार्यविधिमा उल्लेख छ । फाइभजीसहितका नयाँ मोबाइल प्रविधि परीक्षण गर्न चाहने सेवा प्रदायकले परीक्षण गरिने स्थान, उपलब्ध गराइने सेवा, आवश्यक फ्रिक्वेन्सीको विवरण, नेटवर्क जडान र सञ्चालनको समय तालिकासहित प्राधिकरणमा निवेदन दिनुपर्ने व्यवस्था कार्यविधिमा छ ।

प्राधिकरणबाट परीक्षण अनुमति स्वीकृत भएपछि मात्रै सेवा प्रदायकले हार्डवेयर र सफ्टवेयर जस्ता उपकरण किन्नुपर्नेछ । परीक्षणका लागि प्राधिकरणले स्वीकृति दिएको तीन महिनासम्म पनि उपकरण आयात र जडानको प्रगति नदेखिए प्राधिकरणले स्वीकृति फिर्ता लिन सक्ने प्रावधान कार्यविधिमा छ । फाइजी परीक्षणका लागि आवश्यक उपकरण जडान भएपछि मात्रै परीक्षणकालको समय सुरु हुने र यो बढीमा एक वर्षको हुने कार्यविधिमा उल्लेख छ । फाइभजी परीक्षणका लागि भित्र्याइएका उपकरण विद्यमान फोरजी प्रविधिमा प्रयोग गर्न सकिने भए प्राधिकरणबाट स्वीकृति लिनुपर्ने पनि भनिएको छ ।

‘विद्यमान सेवामा प्रयोग नहुने र तत्काल नयाँ सेवामा समेत प्रयोग नहुने उपकरण सम्बन्धित बिक्रेतालाई नै फिर्ता गरी प्राधिकरणलाई जानकारी गराउनुपर्नेछ,’ कार्यविधिमा भनिएको छ । दूरसञ्चार सेवा दिइरहेका दुई ठूला सेवा प्रदायक एनसेल र नेपाल टेलिकम दुवैले फाइभजी परीक्षणका लागि चासो देखाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । एनसेलले फाइभजी परीक्षणका लागि फ्रिक्वेन्सी माग गरी प्राधिकरणमा निवेदन दिइसकेको छ ।

नेपाल टेलिकमले पनि फोरजी विस्तारको काम सकिएलगत्तै फाइभजी परीक्षणको तयारी गरेको छ । फाइभजीका लागि दिइने फ्रिक्वेन्सी परीक्षण अवधिमा नि:शुल्क हुने भनी कार्यविधिमा उल्लेख गरिए पनि कुन फ्रिक्वेन्सी दिने निर्णय नभइसकेको खनालले बताए । ‘हामीले फ्रिक्वेन्सी विनियोजन गर्न रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिलाई सिफारिस गर्छौं,’ उनले भने, ‘फ्रिक्वेन्सीबारे समितिले निर्णय गर्न बाँकी भए पनि फाइभजी परीक्षणका लागि स्वीकृति दिने कानुनी आधार तय भएको छ ।’

प्राधिकरणले फाइभजीका लागि फ्रिक्वेन्सी सिफारिस गर्न यसअघि नै समितिले गठन गरेको थियो । उक्त समितिले विभिन्न तीन तहमा फ्रिक्वेन्सी दिनुपर्ने सिफारिससहित प्राधिकरणलाई प्रतिवेदन बुझाएको छ । प्राधिकरणले गठन गरेको राष्ट्रिय फ्रिक्वेन्सी फोरमले फाइभजीका लागि ७ सय, ९ सय, २६ सय, ३३ सय मेगाहर्ज र २६ गिगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी दिन सिफारिस गरेको थियो । उक्त सिफारिस प्राधिकरणले यसअघि नै सञ्चार तथा सूचना मन्त्रालयमा पठाइसकेको छ । राष्ट्रिय रेडियो फ्रिक्वेन्सी निर्धारण समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री अध्यक्ष रहने व्यवस्था छ ।

प्रकाशित : श्रावण १३, २०७८ ०६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×