कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

धितोपत्र बोर्डका अध्यक्षलाई कारबाही गर्न कर्मचारी युनियनको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — पदको दुरुपयोग गरी सेयरको भित्री कारोबारमा संलग्न भएको भन्दै धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारबाही गर्न कर्मचारी युनियनले माग गरेको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आइतबार विज्ञप्तिमार्फत यस्तो माग गरेको हो । 

धितोपत्र बोर्डका अध्यक्षलाई कारबाही गर्न कर्मचारी युनियनको माग

‘धितोपत्र ऐन २०६३ को प्रस्तावनामै उल्लेख गरिएअनुसार पुँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणको मूल मर्मअनुसार बोर्डको नेतृत्व एवं सञ्चालकहरूले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट रहँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘बुक बिल्डिङमार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहित संवेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्धप्रतिष्ठ अध्यक्ष तथा सञ्चालकका रूपमा गम्भीर विचलन हो ।’

सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको सम्बन्धमा स्पष्टीकरण माग्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्षलाई काटेको पत्रमा पनि आफूहरूको ध्यानाकर्षण भएको युनियनले जनाएको छ । अध्यक्षले गल्ती गरेको विषयमा अर्थ मन्त्रालयले धितोपत्र बोर्ड संस्थालाई नै तोकेर पत्र काटेको भन्दै युनियनले विरोध गरेको हो । ‘केही दिनयता विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार र सोही परिप्रेक्ष्यमा अर्थ मन्त्रालयबाट बोर्डको नाममा स्पष्ट गरी पठाउनेबारे भनेर साउन १३ मा पत्र काटेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत विषयमा पूरै संस्थालाई मुछेर पत्र लेखिएकोमा यस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

धितोपत्र र निष्कासनजस्ता शब्दको परिभाषाले संस्थापकलाई जारी गरिएको धितोपत्रलाई समेत जनाउने र बोर्डको कार्यक्षेत्रभित्रै पर्ने हुँदा सञ्चारमाध्यममा आएका विषयले बोर्ड अध्यक्षको इमानदारिता कानुनी प्रावधान, आचारसंहिताअनुसार गम्भीर नैतिक पतन भएको युनियनको ठहर छ । करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झन्डै देशको कुल गार्हस्थ उत्पादनबराबरको बजार पुँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पुँजीबजारको नियामक निकाय बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिनका लागि पनि दोषीलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने युनियनको माग छ ।

‘उक्त कार्यमा संलग्नहरूलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानुनका आधारमा सम्बन्धित निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानबिन कार्य अघि बढाई दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न यस युनियन जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

भित्री कारोबारमार्फत सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको सम्बन्धमा बोर्ड अध्यक्ष ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदसँग अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको समाचार बाहिरिएपछि अर्थ मन्त्रालयले बिहीबार स्पष्टीकरण सोधेको हो । पत्रमा तीन दिनभित्र जवाफ पठाउन भनिएको छ । यो समय आइतबार (आज) सकिँदै छ ।

बुक बिल्डिङ सार्वजनिक निष्कासन गर्दा मूल्य निर्धारण गर्ने एउटा वैकल्पिक विधि हो । सेयर वा अन्य धितोपत्रको सार्वजनिक निष्कासन गर्दा धितोपत्रको सही मूल्य निर्धारण गर्न बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ता (बुक रनर) ले लगानीकर्ताबाट धितोपत्रको माग सिर्जना गर्ने, संकलन गर्ने र अभिलेख गर्ने व्यवस्थित प्रक्रिया हो । यो विधिमा बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले विभिन्न सम्भाव्य लगानीकर्ताको मागका आधारमा सार्वजनिक निष्कासनको मूल्य निर्धारण गर्छ । नेपालमा पनि नियामक निकाय धितोपत्र बोर्डले यो विधिअनुसार मूल्य निर्धारण गरी प्राथमिक सेयर निष्कासन गर्न पाउने व्यवस्था गरेको छ ।

सर्वोत्तम सिमेन्ट सोही व्यवस्थाअनुसार मूल्य निर्धारण गरी सेयर निष्कासन गर्ने तयारीमा रहेको पहिलो कम्पनी हो । कम्पनीले सेयर निष्कासन प्रक्रिया सुरु गरिसकेपछि बोर्डका अध्यक्ष ढुंगाना, नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदलगायत व्यक्तिले भित्री रूपमा सो कम्पनीको सेयर खरिद गरेको कुरा बाहिरिएको छ । ढुंगानाले छोरी र साउदले श्रीमतीका नाममा सेयर किनेको चर्चा छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड र अग्रणी नियामक निकाय नेप्सेका प्रमुखहरूकै परिवार भित्री कारोबारमा संलग्न रहेको पाइएपछि सत्यतथ्य बुझ्न पत्र काटिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

प्रकाशित : श्रावण १७, २०७८ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?