कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एक वर्षमा डेढ खर्ब बिमा शुल्क

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्थिक वर्षका प्रायः महिना निषेधाज्ञा रहे पनि गत आर्थिक वर्षमा बिमा कम्पनीहरूको शुल्क संकलन करिब २७ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा कम्पनीहरूले १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बिमा शुल्क उठाएका छन् । गत आर्थिक वर्षको तुलनामा यो करिब ३२ अर्ब रुपैयाँ बढी हो ।

एक वर्षमा डेढ खर्ब बिमा शुल्क

अघिल्लो आर्थिक वर्षको अन्त्यमा बिमा कम्पनीहरूको कुल बिमा शुल्क १ खर्ब २० अर्ब २५ करोड रुपैयाँ रहेको बिमा समितिको तथ्यांक छ ।

कोभिडको जोखिमले सिर्जना गरेको अप्ठ्यारो अवस्थामा पनि गत आर्थिक वर्ष जीवन बिमा कम्पनीहरूको बिमा शुल्क २८.७१ प्रतिशत र निर्जीवन बिमाको १५.३५ प्रतिशत बढेको छ । यसअनुसार गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरूले १ खर्ब २० अर्ब ५५ करोड २३ लाख र निर्जीवन बिमा कम्पनीहरूले ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ गरी १ खर्ब ५२ अर्ब रुपैयाँ शुल्क संकलन गरेका छन् । यही साउन १ मा सबै बिमा कम्पनीमा स्थलगत अनुगमनका आधारमा उक्त तथ्यांक फेला परेको समितिले प्रस्ट्याएको छ । गत आर्थिक वर्षमा जीवन बिमातर्फ १५ हजार ९ सय ६४ बिमालेखबापत माग दाबी आएको थियो । तिनमा २ अर्ब २५ करोड २ लाख रुपैयाँ बराबरको माग दाबी परेको छ । सोही अवधिमा निर्जीवन बिमा कम्पनीहरूमा ८६ हजार ४ सय ४० वटा माग दाबी परेका छन् । यसअनुसार २० अर्ब १४ करोड ५१ लाख रुपैयाँ बराबरको माग दाबी परेको समितिले जनाएको छ ।

समितिका अनुसार जीवन बिमातर्फ ९ अर्ब ८८ करोड १४ लाख बराबरका ६६ हजार ३ सय ३१ वटा बिमालेख व्यतीत (सरेन्डर) भएका छन् । गत असारसम्म कुल जनसंख्याको २७ प्रतिशतमा बिमा पहुँच पुगेको छ । यो वैदेशिक रोजगारीमा गएका नागरिकको बिमासमेत जोडेर आएको तथ्यांक हो । नेपालबाट रोजगारीका लागि विदेश जानुअघि अनिवार्य बिमा गर्नुपर्छ । विदेश जानेको संख्या घटबढ भइरहने भएकाले शुद्ध बिमामा पहुँच गणना गर्न वैदेशिक रोजगार बिमालाई घटाइन्छ । यसरी गणना गर्दा गत आर्थिक वर्षसम्म करिब २४.७६ प्रतिशतमा बिमा पहुँच पुगेको देखिन्छ । गत अघिल्लो आर्थिक वर्षको अन्त्यमा यो २२.६१ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगार बिमालेखको संख्या करिब ५० प्रतिशत घटेको छ ।

गत आर्थिक वर्ष कम्पनीहरूका लागि पनि ‘अप्ठ्यारो’ रहेकाले यत्तिको वृद्धि हुनु नै ठूलो उपलब्धि भएको बिमाविज्ञ भोजराज शर्माले बताए । ‘बिमा क्षेत्रको वृद्धिभन्दा पनि कम्पनीहरूले व्यवसाय घट्न दिएनन्, त्यो नै ठूलो हो,’ उनले भने, ‘लकडाउनका कारण आर्थिक वर्षका प्रायः महिनामा बिमा कम्पनीले पनि काम गर्नै पाएनन् ।’

गत आर्थिक वर्षसम्म बिमा क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा प्रचलित मूल्यमा ३.५८ प्रतिशत योगदान पुर्‍याएको छ । सोही अवधिमा बिमा क्षेत्रमा १० हजार ७ सय ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । करिब ४ सय सर्भेयरले काम गरिरहेको यो क्षेत्रमा करिब साढे २ लाख सक्रिय अभिकर्ता रहेको समितिको तथ्यांक छ । गत असारसम्म जीवन बिमा कम्पनीहरूको कुल चुक्ता पुँजी ३८ अर्ब २१ करोड र निर्जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी १९ अर्ब २८ करोड रुपैयाँ छ ।

प्रकाशित : श्रावण १७, २०७८ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?