सांसदको तलब खाता निजीबाट सरकारी बैंकमा

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय सांसदको तलबभत्तासम्बन्धी खाता एभरेस्ट बैंकबाट सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा सारिएको छ । यसअघि यस्तो खाता एभरेस्ट बैंकबाट सञ्चालन हुँदै आएकोमा यही साउन १ देखि राष्ट्रिय वाणिज्य बैंकमा स्थानान्तरण गरिएको हो ।

सांसदको तलब खाता निजीबाट सरकारी बैंकमा

‘कोष तथा लेखा नियन्त्रकको कार्यालय सिंहदरबार, काठमाडौंले गर्ने संघीय सञ्चित कोष तथा अन्य सरकारी कोष र राजस्वसम्बन्धी कारोबार २०७८ साउन १ देखि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखाबाट गर्ने गरी स्वीकृत भएको छ,’ महालेखा नियन्त्रकको पत्रमा भनिएको छ ।

राष्ट्र बैंक बैकिङ विभागले पनि यसअघि एभरेस्ट बैंक सिंहदरबार शाखाबाट सञ्चालन हुँदै आएको संघीय सञ्चित कोष, अन्य सरकारी कोष र राजस्वसम्बन्धी निश्चित कोष कुनै पनि शुल्क नलिई कारोबार गर्न राष्ट्रिय वाणिज्य बैंकलाई निर्देशन दिएको छ । संघीय सांसदको तलबभत्ता र सरकारका खर्च सञ्चालनसम्बन्धी केही खाता राष्ट्रिय वाणिज्य बैंकमा स्थानान्तरण गरिएको महालेखा नियन्त्रक मधुकुमार मरासिनीले जानकारी दिए । ‘तर अरू सरकारी कार्यालय र कर्मचारीका खाता, राजस्व संकलनसम्बन्धी सबै कारोबार एभरेस्ट बैंकमै रहन्छन्,’ उनले भने, ‘संघीय सांसदको तलबभत्तासम्बन्धी खाता र खर्चसम्बन्धी अन्य केही कोष मात्र राष्ट्रिय वाणिज्य बैंकमा जाने हो ।’

खासगरी केही सांसदको दबाबमा सरकारले आफूसम्बद्ध कारोबार राष्ट्रिय वाणिज्य बैंकमा सार्ने निर्णय भएको हो । यसअघि सांसदहरूले आफ्नो परिवारका सदस्य, नातेदारको नाममा सुविधा लिइरहेको, घर भएकाले पनि घरभाडा सुविधा लिएकोलगायतसम्बन्धी विवरण सञ्चारमाध्यममा आएका छन् । त्यसपछि सांसदले आफूसम्बद्ध कारोबार सरकारी बैंकबाटै गर्न दबाब दिँदै आएका थिए ।

प्रकाशित : श्रावण १७, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?