मध्य सहरमा शाकाहारी होमस्टे- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

मध्य सहरमा शाकाहारी होमस्टे

१५ आना जग्गामा फैलिएको होमस्टेमा पर्यटक एवं तीर्थयात्री मात्र होइन, अध्ययन–अनुसन्धान गर्न चाहने पनि आउँछन्
विमल खतिवडा

काठमाडौँ — सबैतिर कंक्रिटै कंक्रिटले बनेका भवन । पाइलैपिच्छे जसो होटल, रेस्टुराँ अनि क्याफे । काठमाडौं सहरको एउटा परिचय हो यो । यही भीडमा, यही सहरमा शाकाहारी होमस्टे छ भन्दा तपाईंलाई अचम्म लाग्ला । त्यो पनि काठमाडौंको केन्द्रभागमै । बत्तीसपुतलीमा ।

काठमाडौंको बत्तीसपुतलीमा रहेको श्रीकुञ्ज होमस्टे। तस्बिर : इलिट जोशी/कान्तिपुर

सहरको कोलाहलले दिक्क भएका अनि एकान्तको खोजीमा रहेकाहरूलाई शाकाहारी स्वाद दिलाउन श्रीकुञ्ज होमस्टे खोलिएको हो । बत्तीसपुतलीस्थित द्वारिका होटल अगाडि रहेको पेट्रोल पम्प छेउको बाटो भएर यहाँ पुग्न सकिन्छ । भित्र पस्नासाथ ७८ प्रजातिका विभिन्न फलफूल रहेको बगैंचाले जोकसैलाई मोहित बनाउँछ ।

१५ आना जग्गामा फैलिएको होमस्टे हरियालीमय छ, जहाँ आवासीय सुविधासहित बस्नेहरूले शान्ति महसुस गर्छन् । मध्यसहरमा शाकाहारी होमस्टे खोल्ने अवधारणा ल्याउने व्यक्ति हुन्, संस्कृतिविद् गोविन्द टण्डन । ६८ वर्षमा हिँडिरहेका उनले आफ्नै घरमा होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

तीन वर्षअघि रातोपुलस्थित नयाँ घर सर्दाताका उनलाई आफ्नो पुरानो घर के गर्ने भन्ने अन्योल थियो– भाडामा दिने कि अरू नै केही रचनात्मक काममा लगाउने । तर उनलाई भाडामा दिन मन लागेन । ‘बुबा पनि माछामासु नखाने, म पनि नखाने, जसले गर्दा घर मन्दिर जस्तै थियो,’ उनले भने, ‘भाडामा लगाउन मन लागेन । त्यसैले फरक खालको अवधारणाका रूपमा शाकाहारी होमस्टे खोल्ने निधोमा पुगें ।’

२०७६ चैतमा सबै तयारी सकेर उनले होमस्टे सुरु गरे । तर चल्दाचल्दै एक महिनामा कोभिडका कारण लकडाउन भयो, जसले गर्दा लामो समय बन्द हुन पुग्यो । अहिले स्वास्थ्य सावधानी अपनाएर होमस्टे पुनः सञ्चालन गरिएको छ । होमस्टेसँगै टण्डनले ‘भेगन क्याफे’ पनि सुरु गर्दै छन् । ‘काठमाडौं बाहिर जाँदा मासु नखाने भएपछि होटलमा बस्न निकै गाह्रो भयो,’ उनले भने, ‘त्यसैले अरूलाई यस्तो समस्या नहोस् भनेर शाकाहारीलाई नै लक्ष्य गरी होमस्टे सुरु गरेको हुँ ।’ साढे दुईतले घरमा पाँच कोठा छन्, तिनै कोठालाई होमस्टे बनाइएको छ ।

‘तीर्थयात्री, एकान्त खोजेर लेखपढ गर्न चाहने र कुनै अध्ययन/अनुसन्धान गर्न चाहनेहरू यहाँ आउँछन्,’ टण्डनले भने, ‘कोलाहलले आजित भएकाहरूलाई सहरभित्रै शान्त वातावरण चाहिए यो उपयुक्त हुन सक्छ ।’ आफैं पकाएर खानका लागि ग्यासचुलोसहित भान्साको व्यवस्था छ । होमस्टेमै पकाको खाने भए पनि कुकको व्यवस्था छ । बिहान ब्रेड एन्ड ब्रेक फास्ट, फलफूल र जुसको व्यवस्था छ ।’


‘यहाँको विशेषता पिज्जा होइन,’ उनले भने, ‘गुन्द्रुक, तामाको झोल र क्वाँटी हो ।’ स्वदेशी एवम् विदेशी पाहुनाले यो सुविधा लिन सक्ने उनले जानकारी दिए । ‘नेपालमा होमस्टे नचलेको होइन, धेरै छन्,’ टण्डनले भने, ‘तर, शाकाहारीलाई लक्ष्य गरेर खोलेको मैले अन्यत्र पाएको छैन ।’ यसलाई नमुना मानेर तीन वर्षभित्र दुई सय विभिन्न पर्यटकीय ठाउँमा शाकाहारी होमस्टे खोल्न प्रवर्द्धन गरिने उनको भनाइ छ ।

‘होमस्टेका म्यानेजर विकेश श्रेष्ठ पशुपन्छीप्रति निर्दयता रोकावट समाज नेपालको अध्यक्ष हुनुहुन्छ,’ टण्डनले भने, ‘उहाँलाई यसमा केही गरौं भन्ने छ । मलाई पनि यसबाट दुई/चार पैसा कमाएर घर व्यवहार गरौंला भन्ने छैन ।’ होमस्टेमा पाँच जनाले रोजगारी पाएका छन् । त्यस्तै बाँकी रहेको आम्दानी मानव सेवा आश्रम र पशुपन्छीको कल्याणमा खर्च गरिने टण्डनले जानकारी दिए ।

होमस्टे परिसरमा जापानी हलुवाबेद, कालो र सेतो जामुन, एभोकाडो र भोगटेका बोट रहेको म्यानेजर श्रेष्ठले बताए । पाहुनाले पनि तिनको स्वाद लिन पाउनेछन् । शाकाहारी भोजनसहित होमस्टेमा बिहेवारी गर्न आउनेहरूका लागि पनि त्यसको व्यवस्था गरिएको छ । ‘होमस्टेबाट हामीले नेपाली खानाको प्रवर्द्धन गर्न खोजेका हौं,’ टण्डनले भने, ‘शाकाहारी भोजन कसरी बनाउने भन्ने थाहा नपाउने युवापुस्तालाई तालिम दिने तयारी पनि गरिरहेका छौं ।’ होटल व्यवस्थापन पढेका विद्यार्थीका लागि इन्टर्नसिप गर्न समस्या हुने भए यहाँ आएर गर्न सक्ने उनको भनाइ छ । त्यसबापत निश्चित पारिश्रमिक दिइने टण्डनले बताए । होमस्टेमा डबल बेडको रुमको एक दिनको शुल्क ३ हजार ५ सय र सिंगल रुमको २ हजार रुपैयाँ तोकिएको छ । अहिले होमस्टेमा म्यानेजर, कुक, हाउसकिपिङ, गार्डेनर र गार्ड छन् ।

अहिलेसम्म शाकाहारी होमस्टे सञ्चालनमा रहेको आफूलाई पत्तो नभएको होमस्टे एसोसिएसनका महासचिव प्रेमशंकर मर्दनियाको भनाइ छ । ‘पहिलो चरणको कोभिडसँगै लकडाउन हुनुअघिसम्म देशभर १ हजार हाराहारीमा होमस्टे थिए,’ उनले भने, ‘त्यसपछि कति चले, कति बन्द भए, यकिन छैन । तर, यो भीडमा शाकाहारी होमस्टे कतै भए जस्तो लागेन, यो नयाँ हुन सक्छ ।’ नगरपालिका, गाउँपालिकामा सञ्चालन अनुमति लिएर होमस्टे चलाउने गरिएको छ । ‘होमस्टेहरूले धेरै राम्रो गरेका छन्,’ उनले भने, ‘बेरोजगारले रोजगारी पाएका छन्, आफ्नै ठाउँको स्रोतसाधन प्रयोग भएको छ, ओझेल परेका ठाउँको प्रचारप्रसार पनि भएको छ ।’

प्रकाशित : श्रावण १६, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

तोकिएकै समयमा फास्ट ट्रयाक निर्माण : सेना

– आइपुग्यो सुरुङ डिजाइन गर्ने प्राविधिक टोली
– अब दुवै खण्डको सुरुङ डिजाइनको कामले गति लिन्छ : सेना
विमल खतिवडा

काठमाडौँ — तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण तोकिएकै समयमा सक्ने नेपाली सेनाले जनाएको छ । २०८१ मंसिरभित्र आयोजना सम्पन्न हुने आयोजना प्रमुख विकास पोखरेलको दाबी छ । ‘खोकनाको जग्गा विवाद २०७९ वैशाखसम्म सकिन्छ भन्ने विश्वास छ,’ काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘तर यसबीचमा अन्य खण्डमा कामको रफ्तार भने बढिरहनेछ ।’ अहिलेसम्म आयोजनाको भौतिक प्रगति १६ दशमलव १० प्रतिशत छ ।

अहिले आयोजनाको मुख्य काम भनेको सुरुङ र पुल निर्माण हो । सुरुङको ठेक्का भएर डिजाइनको काम अघि बढाइएको छ । पुलको ठेक्का भने भएको छैन । पहिलो प्याकेजको सुरुङ निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङको प्राविधिक टोली डिजाइजनका लागि नेपाल आइसकेको छ ।

कोरोना संक्रमणको जोखिम रहेकाले २३ जनाको प्राविधिक टोली पीपीई लगाएर चार्टर्ड फ्लाइटमार्फत मंगलवार राती काठमाडौं उत्रिएको हो । सबै प्राविधिकको पीसीआर परीक्षण गरेर संक्रमण नभएको पुष्टि भएपछि मात्रै फिल्डमा पठाइने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

दोस्रो प्याकेजको ठेक्का पाएको पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसन कम्पनीका १४ जना प्राविधिक टोली डिजाइनको काम गर्न भन्दै गत असार ९ मै नेपाल आइसकेका छन् । ‘यो टोलीले काम थालिसकेको छ,’ प्रवक्ता पौडेलले भने, ‘दुवै कम्पनीका प्राविधिक टोली आइसकेकाले अब कामले गति लिनेछ ।’ सुरुङ निर्माणको काम सुरु भएपछि प्रगति बढ्दै जाने उनले दाबी गरे ।

अहिलेको टोलीमा अफिस म्यानेजर, सुरुङ इन्जिनियर, सडक र पुल निर्माणसम्बन्धी इन्जिनियर सम्मिलित छन् । ठेक्का सम्झौताअनुसार पहिलो ६ महिनामा सुरुङ डिजाइनको काम सक्नुपर्नेछ । सुरुङ ईपीसी (इन्जिनियरिङ प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा निर्माण गर्न लागिएको हो । यसअनुसार सर्भे र डिजाइनको काम निर्माण कम्पनी आफैंले गर्नुपर्छ । गत वैशाख ३१ मा ठेक्का सम्झौता भएको हो । पोली चङ्दाले धेद्रेदेखि लेनडाँडासम्मको ३.०३ किमि सुरुङ निर्माण गर्न २८ अर्ब ५३ करोड रुपैयाँमा ठेक्का पाएको छ । दोस्रो प्याकेजमा पूर्वयोग्यता परीक्षण (पीक्यू) प्रक्रियामा एउटा मात्र कम्पनी छनोट भएको भन्दै लेखा समितिमा उजुरी परेको थियो । जसको विवाद नटुंगिँदै सेनाले ठेक्का प्रक्रिया अघि बढाएको हो ।

पहिलो प्याकेजमा चाइना स्टेटले भने छोक्रेडाँडादेखि धेद्रेसम्मको ३.३५५ किमि लामो सुरुङ निर्माण गर्नुपर्नेछ । यसको ठेक्का रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ । २०८०/८१ भित्र आयोजना सम्पन्न गर्नुपर्ने छ । दुवै प्याकेजमा ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको हो । कोरोनाको जोखिम कायमै रहे पनि स्वास्थ्य सावधानी अपनाउँदै काम निरन्तर भइरहेको प्रवक्ता पौडेलले बताए । सेनाले यो आयोजना निर्माण व्यवस्थापनको जिम्मा २०७४ जेठमा लिएको हो । ७२.५ किमि लामो यो सडकमा १०.५९ किमि लामा ८७ वटा पुल बन्नेछन् ।

फास्ट ट्रयाकको सुरुङ डिजाइन गर्न मंगलबार नेपाल आइपुगेको चिनियाँ प्राविधिक टोली । तस्बिर सौजन्य : नेपाली सेना

प्रकाशित : श्रावण १५, २०७८ २२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×