विभागले थपेन गोरखा दरबार पुनर्निर्माणको समय

भूकम्पले क्षति पुर्‍याएको दरबारको ८५ प्रतिशत पुनर्निर्माण सकियो
हरिराम उप्रेती

गोरखा — गोरखा दरबार पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको ठेक्का समय गुज्रिएपछि पुरातत्त्व विभागले म्याद थपेको छैन । यससँगै नयाँ ठेक्का आह्वान गरी निर्माण सक्ने विभागको तयारी छ । दुई वर्षअघि निर्माण सक्नुपर्ने भए पनि दरबारले अझै पूर्णता पाएको थिएन । सम्झौता सकिएपछि पुन: म्याद नथपिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले जानकारी दिए ।

विभागले थपेन गोरखा दरबार पुनर्निर्माणको समय

पचली भैरव शिवाको जेभीले ४ करोड ३७ लाख लागतमा दरबार पुनर्निर्माण जिम्मा पाएको थियो । भूकम्पले क्षति पुर्‍याएको दरबारको ८५ प्रतिशत पुनर्निर्माण सकिएको छ । सम्झौताअनुसार ठेकेदारले प्लास्टरको काम गर्नुपथ्र्यो । ‘छाना छाउने काम सकिएको छ,’ भुसालले भने, ‘सम्झौता सकिएपछि समय थपेनौं । यो वर्षलाई बजेट विनियोजन भएको छ । तत्काल बाँकी कामको लागत इस्टिमेट निकालेर साउनभरिमा बोलपत्र आह्वान गर्छाैं ।’ तीन पटक म्याद थप्दा पनि काम नसकिएपछि ठेक्का अवधि नथपिएको अड्डाले जनाएको छ ।

२०७४ कात्तिक २९ मा ठेक्का सम्झौता गर्दा २०७६ मंसिर मसान्तभित्र दरबार ठड्याइसक्नुपर्ने सम्झौता छ । दुईवर्षे म्याद सकिँदासम्म ठेकेदारले पूर्णता नदिएपछि २०७६ पुस ४ मा पहिलो पटक ६ महिना म्याद थपिएको थियो । त्यो म्याद पनि २०७७ जेठ मसान्तमा सकिएको र दोस्रो पटक फेरि २०७७ मंसिर मसान्तसम्म म्याद थपियो । समयमा काम नसकेको ठेकेदार कम्पनीले २०७७ पुस १ पछि भने जरिवाना तिरेर काम गर्दै आएको थियो । ठेक्का सम्झौता रकमको दैनिक ०.०५ प्रतिशत जरिवाना तोक्दै गत जेठ मसान्तसम्म तेस्रो पटक म्याद थपिएको थियो ।

फिनिसिङको कामअन्तर्गत भुइँ प्लास्टर गरेर तेलिया इँटा बिछ्याउने काम पनि बाँकी छ । गारोको भित्री प्लास्टर, विभिन्न प्रयोजनका लागि प्रयोग हुँदै आएका कोठा विभाजन गर्ने र पुरानै स्वरूपमा सामग्री राख्ने काम पनि बाँकी रहेको भुसालले बताए । चुनासुर्की लगाउने तथा साविकको दरबारको तल्लो फ्लोरमा रहेको अँगेना, पृथ्वीनारायण शाहले नुहाउन प्रयोग गरेको भनिएको ढुंगा, राजगद्दीलगायत भित्री आवरणलाई पहिले जस्तै सुन्दर बनाइने उनको भनाइ छ । ‘छानाको काम सकिएपछि ठूलो काम सकिन्छ, भित्री भागको फिनिसिङलाई समय लाग्दैन,’ उनले भने, ‘अब बोलपत्र आह्वान गरेर दुई/तीन महिनाभित्रै काम सक्ने लक्ष्य छ ।’

विभागीय निर्णयअनुसार नै सम्झौता अवधि नथपिएको विभागकी अधिकृत मञ्जुसिं भण्डारीले बताइन् । ‘सम्झौतामा केही कुरा छुटेका थिए, सार्वजनिक खरिद नियमावलीअनुसार भेरिएसन गरेर यही ठेकेदारलाई लगाउन मिल्थ्यो,’ उनले भनिन्, ‘तर भेरिएसन गरेर यही ठेकेदारलाई काममा लगाउँदा ढिलासुस्तीले अर्को लफडा हुन्थ्यो, यति समय ढिलासुस्ती भएपछि बिदा गरेर पठाउनु नै ठीक हुन्छ भनेर सम्झौता अवधि नथपेका हौं ।’

यता पचली भैरव शिवाको जेभीका ठेकेदार सुशीलबाबु श्रेष्ठले भने सम्झौताअनुसार आफूले काम सकेको दाबी गरे । ‘चुनासुर्कीले प्लास्टर गर्ने काम बाँकी हो,’ उनले भने, ‘चुनासुर्की पनि पुर्‍याएका थियौं, चिसोले सेट हुँदैन भनेपछि त्यो काम हुन सकेन, अरू सबै काम सकेका छौं ।

प्रकाशित : श्रावण १३, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?