महँगियो यार्चा

विगतमा बढीमा ५ सय पर्ने एउटा यार्चाले पायो ११ सयसम्म मूल्य
हरि गौतम

रुकुम पूर्व — बहुमूल्य जडीबुटी यार्चा यस वर्ष विगतका वर्षभन्दा दोब्बर मूल्यमा बिक्री भएको पाइएको छ । विगतमा बढी मूल्य हुँदा पनि ५ सय रुपैयाँमा एउटा यार्चा पाइन्थ्यो ।

महँगियो यार्चा

यसपालि भने राम्रो गुणस्तरको एउटा यार्चाले १ हजार १ सय रुपैयाँसम्म मूल्य पाएको छ । कमसल यार्चा पनि डेढ सय रुपैयाँसम्ममा बिक्री भएको मैकोटका विकास पुन मगरले बताए ।

‘विगतका वर्षको तुलनामा यस वर्ष झन्डै दुई गुणा बढी नै मूल्य पाइयो,’ उनले भने, ‘यार्चाको गुणस्तरअनुसारको मूल्य पाइएपछि संकलनकर्ता पनि खुसी छौं ।’ पुथाउत्तरगंगा गाउँपालिका–१ र २ का विभिन्न लेकाली क्षेत्रमा यार्चा पाइन्छ । हरेक वर्षको जेठ दोस्रो सातादेखि असार पहिलो सातासम्म यार्चा संकलन हुन्छ । यस वर्ष झन्डै एक महिना यार्चा संकलन भएको थियो । सुरुमा कोरोना महामारीका कारण यार्चा संकलनका लागि बुकी र पाटन खुला नगर्ने निर्णय भएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा पुथाउत्तरगंगा गाउँपालिका दुवैले यार्चा संकलन गर्दा संक्रमण फैलने भन्दै यार्चा टिप्नका लागि बुकी खुला नगर्ने निर्णय गरेका थिए । पछि स्थानीयको दबाबपछि बुकी खुलाइएको थियो । र, स्थानीयले यार्चा संकलन गरेका थिए । यस वर्ष यार्चा संकलन गरेका प्राय:ले संकलन गरेकै बेला बिक्री गरेका छन् ।

मध्यम खालको यार्चा ४ सय ५० देखि ६ सय रुपैयाँमा बिक्री भएको अर्का स्थानीय रजिन बुढा मगरले जानकारी दिए । ‘यस वर्ष मात्रात्मक रूपमा यार्चा कम पाइयो भने मूल्य खोजे जस्तै पाइयो,’ बुढाले भने । गाउँमा किलोका हिसाबमा भन्दा गोटाकै रूपमा बिक्री भयो । तर किलोका रूपमा बिक्री हुँदा ९ देखि १८ लाख रुपैयाँमा बिक्री हुने अनुमान छ ।

कोरोनाकै कारण यार्चा संकलनका लागि यस वर्ष गाउँबाहिरका मान्छे आएनन् । स्थानीयले मात्रै यार्चा संकलन गरे । हरेक घरबाट यार्चा संकलन गर्नेहरू बुकी पुगेका थिए । यार्चाबाट कम आम्दानी गर्नेले पनि ५० हजार रुपैयाँसम्म र धेरै गर्नेले ५ लाख रुपैयाँभन्दा बढी कमाएको बताइएको छ । कोरोना महामारीबाट बचाउन भन्दै यो सिजनमा पहिल्यैदेखि गर्दै आएको भन्दा फरक तरिका अपनाएर यार्चा संकलन गरिएको थियो ।

प्रकाशित : श्रावण १३, २०७८ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?