कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कर्णाली करिडोर अवरुद्ध : यात्रुलाई सास्ती, पहिरो पन्छाउन छैन पैसा

करिडोरका रेगिंल, फुगाड, लाफा, बाजुराको रातालगायत ठाउँमा पहिरो खसेको छ भने दर्जनौं ठाउँमा हिलोले गाडी चल्ने अवस्था छैन
तुलाराम पाण्डे

काठमाडौँ — हस्तान्तरण भएको दुई साता नपुग्दै कर्णाली करिडोरअन्तर्गतको खुलालु–लैफु–सल्लीसल्ला सडक अवरुद्ध भएको छ । वर्षाले करिडोरका ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । कालीकोटको खुलालुदेखि सल्लीसल्लासम्मको १ सय २२ किमि सडक नेपाली सेनाले निर्माण सकेर गत असार ३१ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । 

कर्णाली करिडोर अवरुद्ध : यात्रुलाई सास्ती, पहिरो पन्छाउन छैन पैसा

ठाउँठाउँमा पहिरो खस्दा र गत वर्षको वर्षामा बाढीले बगाएको फुगाडखोलाको बेलिब्रिज निर्माण नहुँदा सडक अवरुद्ध भएको हो । सडकको पहिरो पन्छाउने काम नेपाली सेनाले गर्ने लिखित सहमति भए बजेट नहुँदा समस्या भएको निर्माण कार्यदल प्रमुख मिलन कार्कीले जानकारी दिए । ‘फुगाडमा खोला बढेकाले साना गाडी तर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अरू ठाउँको पहिरो हटाउन पनि पैसाको सुनिश्चितता नभएकाले काम अघि बढेको छैन ।’

कालीकोटको अँधेरीखोलादेखि भुराबगरसम्म फुकोट जलविद्युत् आयोजनाका कारण पनि पहिरो खसेको सडक निर्माण कार्यदलले जानकारी दिएको छ । वर्षाले करिडोर अवरुद्ध भएपछि स्थानीयलाई सास्ती भएको छ । बिरामीलाई काँधमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता भएको पलाता–१ पुलाहाका खडक भण्डारीले बताए । ‘वर्षाले सडकको बिजोग छ,’ उनले भने, ‘वर्षा नसकिएसम्म गाडी चढ्न पाइएला जस्तो छैन ।’ घरबाट दुई दिन पैदल हिँडेर सदरमुकाम मान्म पुगेको उनको गुनासो छ । कर्णाली करिडोर अवरुद्ध हुँदा थिर्पुबाट पैदल हिँडेर मान्म आएको पलाता गाउँपालिकाका कर्मचारी बिअराज बमले बताए । कर्णाली करिडोरका रेगिंल, फुगाड, लाफा, बाजुराको रातालगायत ठाउँमा पहिरो खसेको छ भने दर्जनौं ठाउँमा हिलोले गाडी चल्ने अवस्था छैन ।

सरकारले २०७१ चैतमा कर्णाली करिडोरको खुलालु–लैफु सल्लीसल्ला सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । कडा चट्टान भएकाले नेपाली सेनाले सात ठाउँमा सैनिक क्याम्प राखी सात वर्षमा सडक निर्माण सकेको थियो । सबै कागजात सडक विभागलाई बुझाइसकेको प्रमुख सेनानी कार्कीले जानकारी दिए । कालीकोटको फुगाड, हुम्लाको सल्लीसल्लालगायत ५ वटा खोलामा बेलिब्रिज बनाउन विभागसँग स्वीकृति लिने काम भइरहेको छ । छिट्टै टेन्डर निकालेर बेलिब्रिज बनाइने उनले बताए ।

सेनाले जिम्मा लिएको १ सय २२ किमि सडक खन्न १ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ । खुलालुदेखि हिल्सासम्म २ सय ८१ किमि लम्बाइ रहेको करिडोरको कालीकोटमा ४०, बाजुरामा ४४ र हुम्लाको कुवाडी खोलाखेखि सल्लीसल्लासम्म ३९ किलोमिटर सडक पर्छ । अहिले खुलालुसम्म कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक जोडिएको छ । सल्लीसल्लाभन्दा माथि १२ किमि दुलीकुनासम्म सडक विभागले ट्र्याक खोलेको थियो । अहिले करिडोरको केही खण्डमा जिप चले पनि ठूलो पानी परेको बेला समस्या भएको यातायात व्यवसायी अमरबहादुर बुढाले गुनासो गरे ।

बनेन कर्णालीमा पुल

कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्न कालीकोटको खुलालुस्थित कर्णाली नदीमा थालिएको पुल निर्माण अझै सकिएको छैन । कर्णाली राजमार्गसँग कालीकोटका पाँच स्थानीय तहसहित बाजुरा, मुगु र हुम्ला जोड्ने सडकमा पुल नबन्दा यात्रु सास्ती भोग्न बाध्य छन् ।

खुलालुस्थित कर्णाली नदीमा पक्की पुल निर्माणको ठेक्का २०६९ सालमा भएको हो । दुई वर्षभित्र काम सक्ने गरी कन्काई जेभीले ठेक्का लिए पनि पाँच वर्षसम्म सम्पन्न भएको छैन । सुरुमा १३ करोड रुपैयाँ लागत बढेर १५ करोड ९२ लाख रुपैयाँ पुगेको छ । कन्काई जेभीले अर्को ठेकेदारलाई निर्माण जिम्मा दिएपछि विभागले कारबाही थालेको थियो । तर ठेकेदारको अनुरोधपछि पुनः सम्झौता गरेर गत वर्षबाट काम अघि बढाइएको हो । कोरोना महामारीका कारण पुल निर्माणमा ढिलाइ भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए । स्टिल टससहितको ७५ मिटर लम्बाइको पुल बनाउने काम जारी छ ।

प्रकाशित : श्रावण १२, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?