१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मल किन्न तीन दिनदेखि लाइनमा

किसान भन्छन्– ‘धान दोहोर्‍याएर रोप्नुपरेको छ तर मरिगए मल पाइन्न’
श्यामसुन्दर शशि

जनकपुर — धनुषाको जनकल्याण सहकारी संस्था सबैला नगरपालिका–११ इनर्वाका सञ्चालक मनमोहन यादवले शुक्रबार एक सय बोरा युरिया र ३० बोरा डीएपी मल किन्न जनकपुरस्थित कृषि सामग्री लिमिटेडमा नगदी रसिद कटाए । तर आइतबार अपराह्नसम्म उनको मल बोक्ने संस्थाको ट्र्याक्टर कृषि सामग्री परिसरमै थियो । 

मल किन्न तीन दिनदेखि लाइनमा

शनिबार राति २ बजेदेखि ट्र्याक्टरसहित मलका लागि लाइन लागेका पूर्वी धनुषा गोठ कोयलपुरका ट्र्याक्टर चालक सुरेश महरासँग पनि शुक्रबार काटेकै रसिद थियो । उनले पनि आइतबार मध्याह्नसम्म मल पाउन सकेका थिएनन् । मल बोक्न धनुषा र महोत्तरीबाट आएका झन्डै ८० ट्र्याक्टर रातिदेखि नै जनकपुरको जिल्ला प्रशासन कार्यालय नजिकै रहेको कृषि सामग्री लिमिटेडको गोदामअघि लाइनमा छन् ।

पछिल्लो पटक सरकारले स्थानीय सरकारको अनुमति प्राप्त सहकारी संस्थामार्फत गाउँसम्म मल आपूर्ति गर्ने व्यवस्था मिलाएको छ । धनुषा र महोत्तरीका १ सय ८३ सहकारी संस्थामार्फत किसानलाई मल आपूर्ति गरिँदै आएको कृषि सामग्री लिमिटेडका लेखा प्रमुख बेचन साहले जानकारी दिए । पछिल्लो तीन–चार दिनदेखि मल आपूर्तिमा समस्या उत्पन्न हुँदा किसानलाई मर्का परेको उनले स्विकारे । जनकपुरको कृषि सामग्री लिमिटेडमा प्रादेशिक कार्यालय वीरगन्जबाट मल आपूर्ति हुन्छ । ढुवानीको दररेट बढाइएकाले मल आपूर्तिमा समस्या भएको हो ।

जनकपुरको कृषि सामग्री शाखाले वार्षिक ६ हजार टन युरिया र ५ हजार टन डीएपी बिक्री गर्ने लक्ष्य राखेको छ । तीमध्ये गत आर्थिक वर्षमा जनकपुर शाखालाई ३ हजार ५ सय २५ टन युरिया र ४ हजार ५ सय २५ टन डीएपी मात्र उपलब्ध गराइएको थियो । उपलब्ध मलको कोटा बिक्री भइसकेको छ । सोमबारसम्म वीरगन्जबाट मल आपूर्ति भएन भने किसानलाई थप कठिनाइ हुने लेखा प्रमुख साहले बताए ।

धनुषामा धान उत्पादन हुने ५४ हजार हेक्टरमध्ये ८० प्रतिशतमा रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्रको दाबी छ । तर रोपाइँ भएको कैयौं क्षेत्रमा दोहोर्‍याएर रोप्नुपरेको किसानले गुनासो गरेका छन् । सुरुमै रोपाइँ भएको खेतमा छर्किनुपर्ने मलको आभाव छ । यस वर्ष समयमै पानी परेकाले रोपाइँ अलि छिटो भएको केन्द्रका बालीविद् प्रदीप यादवको भनाइ छ । जलाद, जमुनी र कमला नदी किनार र पानी जम्ने जनकपुरधाम उपमहानगरपालिकास्थित बेंगा, शिवपुरलगायतका गाउँमा रोपाइँ भइसके पनि धेरैजसो स्थानमा फेरि धान रोप्नुपरेको छ ।

जमुनी र जलाद नदी वरपर रहेको सयौं बिघामा रोपिसकेको धान दोहोर्‍याएर रोप्नुपरेको औरही गाउँपालिका–१ पौडेश्वरका किसान विजयकुमार यादवले गुनासो गरे । जमुनी नदीको पश्चिमी तटबन्ध भत्किएपछि त्यसले रोपो बगाएको थियो । ‘पहिलो पटक रोपेको धान अत्यधिक पानीका कारण बिग्रियो । पानीले केही बगायो पनि । अब फेरि रोप्नुपरेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा मल मरिगए पाइएको छैन । हामीलाई दोहोरो समस्या भएको छ ।’

प्रकाशित : श्रावण ११, २०७८ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?