सेयर बजारबाटै साढे १५ अर्ब कर

एक वर्षमा लगानीकर्ताले झन्डै ३ खर्ब कमाए, उनीहरूको सम्पत्तिको मूल्य दोब्बर पुग्यो
यज्ञ बञ्जाडे

काठमाडौँ — गत आर्थिक वर्षमा सेयर बजारका लगानीकर्ताले करिब ३ खर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । यो गत साउनदेखि असारसम्म लगानीकर्ताले सेयर बिक्रीमार्फत हात पारेको नाफा हो । आर्थिक वर्ष २०७६/७७ मा सेयर कारोबारबाट लगानीकर्ताले करिब १९ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । 

सेयर बजारबाटै साढे १५ अर्ब कर

गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताले औसत ५ प्रतिशत रकम पुँजीगत लाभकरका रूपमा सरकारलाई तिरेका छन् । यसअन्तर्गत गत जेठसम्म करिब १४ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुँजीगत लाभकर तिरिएको छ । सोही अवधिमा अग्रिम कर कट्टीबापत १ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ कर संकलन भएको छ । यसरी पुँजीगत लाभकर र अग्रिम कर कट्टीबापत गरी गत आर्थिक वर्षमा कुल १५ अर्ब ५४ करोड रुपैयाँ कर संकलन भएको छ । करिब तीन दशकको पुँजीबजारको यात्रामा एक वर्षमा पुँजीगत लाभकरमार्फत यति धेरै रकम सरकारलाई प्राप्त भएको यो हालसम्मकै उच्च हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको कर संकलन १३ गुणा बढी हो । अघिल्लो आर्थिक वर्षमा सेयर बजारबाट १ अर्ब १७ करोड रुपैयाँ मात्र कर संकलन भएको थियो । अघिल्ला वर्षहरूमा बजारमा सामान्य वृद्धि मात्र भएकाले लगानीकर्ताले धेरै नाफा कमाउन पाएका थिएनन् । यो वर्ष बजार निरन्तर बढिरहेको छ । सोही कारण करबापतको रकम पनि बढेको जानकारहरू बताउँछन् ।

आर्थिक वर्ष २०७२/७३ मा सेयर बजारबाट १ अर्ब ७७ करोड रुपैयाँ कर संकलन भएको थियो । त्यति बेला नेप्से परिसूचक १ हजार ७ सय बिन्दु हाराहारीमा थियो । आर्थिक वर्ष २०७३/७४ मा यस्तो कर १ अर्ब ८१ करोड रुपैयाँ थियो । सो अवधिमा नेप्से परिसूचक भने केही घटेर १ हजार ५ सय ८२ बिन्दुमा थियो ।

गत आर्थिक वर्षमा सेयर कारोबारमा नाफा भएको अवस्थामा व्यक्तिगत लगानीकर्ताले नाफाको ५ प्रतिशत रकम पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था थियो । संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत लाभकर तिर्नुपर्छ । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले भने कर तिर्नुपर्दैन । कुल सेयर कारोबारमा अधिकांश हिस्सा व्यक्तिगत लगानीकर्ताको छ भने संस्थागतको संख्या न्यून छ । यस कारण संस्थागत र व्यक्तिगत लगानीकर्ताले तिरेको करको दरलाई औसत ५ प्रतिशत मानेर यहाँ विश्लेषण गरिएको हो । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले एक वर्षभन्दा बढी र कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्ताका लागि करको दर परिमार्जन गरिएको छ । यसअनुसार एक वर्षभन्दा बढी समयमा सेयर बिक्री गर्ने लगानीकर्ताले नाफाको ५ प्रतिशत र कम अवधिमा बिक्री गर्नेले नाफाको साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।

सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य एक वर्षमा दोब्बरभन्दा धेरै भएको छ । २०७७ साउनमा कुल बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब थियो भने यो असार मसान्तमा ४० खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । सेयर बजारमा भएको उच्च वृद्धिका कारण साउनदेखि असारसम्म लगानीकर्ताको सम्पत्ति २२ खर्ब १८ अर्ब रुपैयाँ बढेको छ । यसरी कुल बजार पुँजीकरण एकै वर्षमा १ सय २४ प्रतिशत वृद्धि भएको छ । सेयर मूल्यमा भएको वृद्धिका कारण गएको एक आर्थिक वर्षमा लगानीकर्ताको सम्पत्तिमा बढोत्तरी आए पनि त्यो नाफा भने होइन । नाफा हुन लगानीकर्ताले सेयर बिक्री गरी नगद नै हात पार्नुपर्छ । यस कारण किताबी (लेखांकन) रूपमा मात्र लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको हो ।

गएको आर्थिक वर्षमा मात्र थप ६ लाख ३१ हजार ७ सय २९ जना लगानीकर्ता दोस्रो बजारमा थपिएका छन । २०७७ असारमा दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या २ लाख ४५ हजार ४ सय ७४ थियो । यससँगै दोस्रो बजारमा कुल लगानीकर्ताको संख्या ८ लाख ७७ हजार २ सय ३ पुगेको छ । यसरी एकै वर्षमा लगानीकर्ताको संख्या १ सय २३ प्रतिशत वृद्धि भएको छ । गएको एक वर्षमा बजारमा थपिएकामध्ये सबै जसोले अनलाइन सेयर कारोबारका लागि ‘लगइन र युजरनेम’ लिएको देखिन्छ । यसअनुसार गत असारसम्म अनलाइन कारोबारका लागि ‘लगइन’ लिने लगानीकर्ताको संख्या करिब ७ लाख ९२ हजार छ । २०७७ असारमा यस्तो संख्या ३५ हजार १ सय १९ मात्र थियो ।

पब्लिक कम्पनीको सेयरलाई विद्युतीय रूपमा सुरक्षित राख्ने सीडीएस एन्ड क्लियरिङ कम्पनीका अनुसार गत असारसम्म ३७ लाख ५१ हजार ७ सय डिम्याट (सेयर अभौतिकीकरण खाता) खाता खुलेका छन् । २०७७ असारमा डिम्याट खाताको संख्या १७ लाख २३ हजार ९ सय थियो । पछिल्लोपटक खुलेको युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लाख ८२ हजार ७ सय ७५ जनाको आवेदन परेको थियो । यो हालसम्मकै उच्च हो ।

आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारमा १४ खर्ब ६० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षमा दोस्रो बजारमा कुल १ खर्ब ५५ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित : श्रावण १०, २०७८ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?