२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

व्यापार घाटा १४ खर्ब

वैदेशिक व्यापार १६ खर्ब ८० अर्ब
आयात २८.६६, निर्यात ४४.४३ र व्यापार घाटा २७.२६ प्रतिशत बढ्यो

काठमाडौँ — आयात नगरी नहुने मात्र नभई आयात प्रतिस्थापन गर्न सकिने वस्तुको समेत आयात बढ्दा मुलुकको व्यापार घाटा चुलिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार एक वर्षमा व्यापार घाटा झन्डै १४ खर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा यो रकम २७.२६ प्रतिशत बढी हो । २०७६/७७ मा मुलुकको व्यापार घाटा १० खर्ब ९९ अर्ब ८ करोड रुपैयाँ थियो । अहिले भने घाटा चुलिएर १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको विभागको तथ्यांक छ ।

व्यापार घाटा १४ खर्ब

मुलुक कोभिडले आक्रान्त बनिरहँदा वैदेशिक व्यापार भने करिब ३० प्रतिशत बढेर १६ खर्ब ८० अर्ब ९६ करोड पुगेको छ । आयात व्यापार २८.६६ प्रतिशत बढेर १५ खर्ब ३९ अर्ब ८३ करोड पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा आयात व्यापार ११ खर्ब ९६ अर्ब ७९ करोड थियो । यस्तै निर्यात पनि केही सुधार भएको छ । निर्यात व्यापार ४४.४३ प्रतिशत बढेर १ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ । गत वर्ष ९७ अर्ब ७० करोडको निर्यात भएको थियो । जानकारका अनुसार निर्यातजन्य वस्तु उत्पादन तथा उत्पादकत्व बढाउन नसक्दा पनि व्यापार घाटा बढ्दै गएको छ ।

सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको विभागको तथ्यांक छ । पेट्रोलियम पदार्थ आयातमा मात्रै १ खर्ब ६० अर्ब ५३ करोड बाहिरिएको छ । यसैगरी डिजेल खरिदमा ९१ अर्ब ९४ करोड, एलपी ग्यास खरिदमा ३६ अर्ब १५ करोड र पेट्रोल खरिदमा ३२ अर्ब ४४ करोड बाहिरिएको विभागको तथ्यांक छ । साथै एमएस बिलेट ७१ अर्ब ५२ करोड र भटमासको तेल कच्चा पदार्थ ५३ अर्ब ३८ करोड रुपैयाँको आयात भएको छ । कच्चा पदार्थका रूपमा आयातित भटमास रिफाइन गरेर पुनः भारत निर्यात हुन्छ । यस्तै ३६ अर्ब ९० करोडको मोबाइल फोन, २९ अर्ब ४८ करोडको तयारी कपडा, २७ अर्ब ६६ करोड रुपैयाँको पोलिथिन दाना र २७ अर्ब ४८ करोड रुपैयाँको चामल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

निर्यातमा पहिलो नम्बरमा भटमासको तेल नै छ । एक वर्षको अवधिमा ५३ अर्ब ६५ करोड रुपैयाँको निर्यात भएको छ । भटमासको तेल निर्यातले समग्र निर्यात बढाएको छ । व्यवसायीहरूले ब्राजिल, अर्जेन्टिना, सिंगापुर र मलेसियाबाट कच्चा तेल आयात गर्छन् । आयातित कच्चा पदार्थ रिफाइन गरेर पुनः भारत निर्यात गर्ने गरिएको छ ।

निर्यातमा सेन्थेटिक यार्न दोस्रोमा छ । एक वर्षमा ८ अर्ब २६ करोडको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी उनी गलैंचा कार्पेट ७ अर्ब २४ करोड, अलैंची ७ अर्ब २ करोड, तयारी कपडा ५ अर्ब ११ करोड र जुटका बुनिएका कपडा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको निर्यात भएको जनाइएको छ ।

प्रकाशित : श्रावण ९, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?