नेपाली बैंकको साइबर प्रणाली कति सुरक्षित ?- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

नेपाली बैंकको साइबर प्रणाली कति सुरक्षित ?

बैंक तथा वित्तीय संस्थाका सबै सिस्टम सुरक्षित र चालु छन्, कुनै समस्या छैन : राष्ट्र बैंक
विजय तिमल्सिना, यज्ञ बञ्जाडे

काठमाडौँ — १५ वटा बैंकको अनलाइन प्रणाली ह्याक गरी पैसा चोर्ने चेतावनीसहित नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई इमेल र फोन कल आएपछि नेपालको बैंकिङ क्षेत्र बिहीबार दिनभर चिन्तित बन्यो ।

सांकेतिक तस्बिर : रोयटर्स

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालसहित उच्च अधिकारीलाई प्राप्त इमेलमा राष्ट्र बैंकसहित १५ बैंकको बैंकिङ प्रक्रिया प्रणाली सम्पूर्ण रूपमा ‘कम्प्रोमाइज्ड’ भनिएको दाबी गरिएको छ । कुनै अनलाइन प्रणालीमा अनधिकृत रूपमा कसैले प्रवेश पाउन सक्ने अवस्था भए त्यसलाई ‘कम्प्रोमाइज्ड’ शब्दावली प्रयोग गर्ने गरिन्छ ।

इमेलमा ठूलो क्षतिबाट बचाउन १५ वटै बैंकको सबै कारोबार २४ घण्टासम्म बन्द गर्न पनि चेतावनी दिइएको छ । कुनै प्रमाणबिनै बैंकिङ प्रणाली अवरुद्ध गर्ने र ठूलो क्षति पुर्‍याउने चेतावनीसहित आएको उक्त इमेल साँच्चिकै थियो वा तर्साउन मात्र कसैले यत्तिकै पठाएको थियो ? यस विषयमा तत्काल प्रामाणिक तथ्य पत्ता लागिनसकेको नेपालका धेरै बैंकको साइबर सुरक्षा अडिट गरिसकेको कम्पनी इमिनेन्स वेजका प्रबन्ध निर्देशक एवं साइबर सुरक्षाविज्ञ नारायण कोइराला बताउँछन् ।

‘कुनै सुरक्षा कमजोरी भेटिएरै त्यस्तो इमेल पठाइएको हो वा कसैले यत्तिकै पठाएको हो, त्यसको प्रमाण भेटिएको छैन,’ उनले भने । कोइरालाको अनुभवमा नेपालका बैंकहरूको सुरक्षा प्रणाली पछिल्ला वर्षमा धेरै नै सुधारिएको छ । ‘जतिसुकै सुरक्षित प्रणाली भए पनि त्यसमा कमजोरी भेटिँदैनन् भनेर भन्न सकिन्न,’ उनी भन्छन्, ‘तर नेपालमा साइबर सुरक्षाप्रति सबैभन्दा संवेदनशील क्षेत्र बैंक हो ।’

नेपाली बैंकसहित विभिन्न क्षेत्रलाई साइबर सुरक्षासम्बन्धी सेवा दिइरहेको भैरव टेक्नोलोजीका प्रमुख प्राविधिक अधिकृत विजय लिम्बू पनि कोइरालाको धारणामा सहमत छन् । ‘नेपाली बैंकहरूको सुरक्षा प्रणाली पछिल्ला वर्षमा धेरै सुधारिएको छ । एकैपटक १५ वटा बैंकको सिस्टमलाई एकैपटक कम्प्रोमाइज गर्न त्यति सजिलो छैन,’ उनी भन्छन् ।

बैंकहरूको सिस्टमको सुरक्षा प्रणालीसँगै कर्मचारीहरूमाझ चेतना अभिवृद्धि पनि धेरै अघि बढेकाले इमेलमा धम्की दिइएजस्तो यतिका बैंकको प्रणालीलाई एकैपटक अवरुद्ध गर्नु असम्भवजस्तो भएको लिम्बू बताउँछन् । ‘सामान्यतः ह्याकरले कुनै प्रणालीमा कमजोरी भेटिए त्यसको स्क्रिनसट वा कुनै प्रमाणसहित जानकारी दिने गर्छन्,’ उनी भन्छन्, ‘कसैले आपराधिक कामका लागि ह्याक गरेको भए जानकारी नै नदिई अवरुद्ध पार्छन् । वा कमजोरी देखाएर फिरौती माग्छन् ।’ तर बिहीबार राष्ट्र बैंकका उच्च अधिकारीलाई पठाइएको भनिएको इमेलमा कुनै प्रमाण पनि नभएको र कमजोरीबारे उल्लेख पनि नभएकाले यो इमेल ‘होक्स’ अर्थात् आधारहीन हुन सक्ने उनको बुझाइ छ ।

अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले मुलुकको साइबर सुरक्षा विकास, संस्थागत क्षमता, प्राविधिक मापन, कानुनी व्यवस्थापनलगायत विभिन्न क्षेत्रलाई समेटेर सार्वजनिक गर्ने विश्वव्यापी साइबर सुरक्षा सूचकांक (ग्लोबल साइबर सेक्युरिटी इन्डेक्स) २०२० मा नेपाल ९४औं स्थानमा छ । एसिया प्रशान्त मुलुकमध्ये नेपाल १७ औं स्थानमा छ । सन् २०१८ मा आईटीयूले प्रकाशन गरेको रिपोर्टमा नेपालको स्थान १०९ औंमा थियो । १ सय ९४ मुलुकलाई समेटेर तयार पारिएको रिपोर्टमा दुई वर्षमा नेपालको स्थिति १५ स्थान माथि उक्लिएको थियो ।

बैंकहरूले पछिल्ला वर्षमा साइबर सुरक्षामा गरेको लगानीको प्रतिफलस्वरूप विश्वव्यापी रूपमा नेपालको स्थान सुधार भएको र बैंकिङ प्रणाली पनि थप सुरक्षित हुँदै गएको लिम्बूको बुझाइ छ । हालसम्म सार्वजनिक तथ्यअनुसार चेतावनी दिने व्यक्ति वा समूहले ‘इन्डिकेसन अफ कम्प्रोमाइज’ अर्थात् प्रणालीमा सुरक्षा कमजोरी भेटिएको प्रमाण नपठाएकाले उक्त चेतावनी विश्वसनीय नभएको अर्का साइबर सुरक्षाविज्ञ सचिन ठकुरी बताउँछन् । ‘चुनौती दिइएको भनिएका बैंकको अनलाइन प्रणालीमा पनि कम्प्रोमाइज्ड भएको कुनै प्रमाण भेटिएको छैन,’ उनले भने, ‘यसले गर्दा चेतावनी यत्तिकै दिइएको हो कि भन्ने शंकालाई सहयोग पुग्छ ।’

राष्ट्र बैंकले पनि बैंकहरूको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने चेतावनीसहित आएको इमेल र टेलिफोन नक्कली भएको दाबी गरेको छ । इमेलमा नामै उल्लेख गरी चेतावनी दिइएका बैंकहरूको सिस्टम हालसम्म सुरक्षित रहेको राष्ट्र बैंकका प्रवक्ता ढकालले जानकारी दिए । ‘यद्यपि सबै बैंक तथा वित्तीय संस्थालाई हामीले अलर्ट राखेका छौं,’ उनले भने, ‘मलाई फोन आएको नम्बर पनि नक्कली रहेको प्रारम्भिक अध्ययनले देखाएको छ ।’

यस सम्बन्धमा प्रहरीले पनि अनुसन्धान गरिरहेको उनले बताए । बुधबारदेखि नै राष्ट्र बैंक, सबै बैंक तथा वित्तीय संस्था, प्रहरीलगायत सरोकारवाला निकायलाई अलर्ट रहन निर्देशन दिइएको उनले जानकारी दिए । ‘सबै बैंकका कारोबार सूक्ष्म रूपमा हेरिरहेका छौं, कुनै समस्या छैन,’ उनले भने । यो घटनाले सबैलाई थप सजग हुन पाठ सिकाएको उनको भनाइ छ ।

‘अहिलेसम्म राष्ट्र बैंकको आन्तरिक सिस्टम, आरटीजीएस, बैंक तथा वित्तीय संस्थाको कोर बैंकिङ सिस्टम, नेपाल क्लियरिङ हाउसलगायतका सबै सिस्टम सुरक्षित छन्,’ ढकालले भने । सम्भावित जोखिमबारे पनि थप अनुसन्धान भइरहेकाले ढुक्क हुन राष्ट्र बैंकले सर्वसाधारणलाई अपिलसमेत गरेको छ । बुधबार नेपाल राष्ट्र बैंकसहित १५ बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको थियो । ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा पनि पठाइएको थियो ।

प्रकाशित : श्रावण ८, २०७८ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्

टोकियो ओलम्पिक : फ्रान्सलाई धक्का, रिचार्लिसनको ह्याट्रिक

एएफपी

टोकियो — फ्रान्सलाई ओलम्पिक स्वर्ण पदकको दाबीमा नराम्रो झट्का लागेको छ । फ्रान्स बिहीबार टोकियो ओलम्पिकमा मेक्सिकोसँग ४–१ ले पराजित भएको छ । रिचार्लिसनको ह्याट्रिकमा साबिक विजेता ब्राजिलले रोमाञ्चक खेलमा जर्मनीमाथि ४–२ को जित हात पारेको छ । 

ओलम्पिक फुटबलमा जर्मनीविरुद्ध ह्याट्रिक गरेका ब्राजिलका रिचार्लिसन । तस्बिर : रोयटर्स

सन् १९८४ यता पहिलो ओलम्पिक स्वर्ण जित्ने आशामा रहेको फ्रान्सले टोकियो रंगशालामा दोस्रो हाफमा खराब खेल्न पुगेको थियो । ‘निश्चय पनि नतिजालाई लिएर हामी निराश छौं, तर हाम्रो खेल सन्तुलित नै थियो,’ फ्रान्सका प्रशिक्षक सिल्भियन रिपोलले भने, ‘यस्तो इभेन्टमा खेल्न राम्रो प्रदर्शन देखाउनुपर्छ । तर हाम्रो खेलमा त्यो थिएन ।’

एलेक्सिस भागाको गोलमा मेक्सिकोले दोस्रो मिनेटमै अग्रता लियो । यो अग्रता सेवास्टियन कार्डोभाले ५५ औं मिनेटमा दोब्बर बनाए । एन्ड्रे पिइरे गिग्नाकले अन्तिम पटक फ्रान्सेली राष्ट्रिय टोलीबाट युरो २०१६ मा पोर्चुगलविरुद्धको फाइनल खेलेका थिए । ३५ वर्षे उनकै कप्तानीमा अहिले फ्रान्सले ओलम्पिक खेलिरहेको छ । गिग्नाकले पेनाल्टीबाट २१ मिनेट बाँकी रहँदा गोल गरेका थिए ।

मेक्सिकोका उरिइल एन्टुना र इडुवार्डो अगुइरेले गोल गरेपछि फ्रान्सको पुनरागमन गर्ने सम्भावना सकिएको थियो । सन् २०१२ को ओलम्पिक विजेता मेक्सिकोले समूह ‘ए’ मा सानदार नतिजा निकाल्दै बलियो दाबेदारी तेर्स्याएको छ । यो समूहको अन्य दुई टोलीमा दक्षिण अफ्रिका र जापान छन् । आयोजक जापानले कोभिड–१९ को संक्रमणको मारमा रहेको दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्‍यो ।

पाँच वर्षअघि ओलम्पिकमा पहिलोपल्ट स्वर्ण जितेको ब्राजिलबाट रिचार्लिसनले पहिलो हाफमै तीन गोल गरेका थिए । एभरटनका स्ट्राइकर उनलाई ह्याट्रिक गोल पूरा गर्न आधा घन्टा पनि लागेन । म्याथिएस कुन्हाले पेनाल्टी गुमाउँदा ब्राजिल चौथो गोल गर्न चुकेको थियो ।

जर्मनीले दुई गोल गर्दै अप्रत्याशित रूपमा खेलमा पुनरागमनको प्रयास गरेको थियो । बायर लेभरकुसनका नदिम अमिरीले ५७ औं मिनेटमा गोल गरे । तर म्याक्सिमिलियन आर्नोल्डले त्यसको चार मिनेटपछि रातो कार्ड पाउँदा जर्मनी १० खेलाडीमा झरेको थियो । राग्नर एचेले ८४ औं मिनेटमा जर्मनीबाट दोस्रो गोल गरे । पाउलिन्होले इन्ज्युरी टाइममा गोल गर्दै ब्राजिलको जित निश्चित गरे ।

समूह ‘डी’ को अर्को खेलमा आइभोरी कोस्टले एसी मिलानका फ्रान्क केसीको गोल मदतमा साउदी अरेबियामाथि २–१ को विजय नतिजा निकालेको छ । युरो २०२० खेलेको टोलीका ६ खेलाडी उतारेको स्पेन खेल पूर्ण रूपमा आफ्नो अधिनमा लिन सफल भए पनि इजिप्टसँग गोलरहित बराबरीमा रोकिएको छ । पछिल्लो दुई सिजन आर्सनलबाट लोनमा खेलेका रियल म्याड्रिडका डानी सेबेलोसले पहिलो हाफमा गरेको प्रहार पोस्टमा लाग्नु स्पेनका लागि दुर्भाग्य बन्यो । १९९२ मा आफैंले आयोजना गर्दा स्वर्ण पदक जितेको स्पेनले तीन दिनपछि समूह ‘सी’ को अन्तिम खेलमा अस्ट्रेलियाको सामना गर्नेछ । अस्ट्रेलियाले लक्लेन वेल्स र मार्को टिलोको गोलमा अर्जेन्टिनालाई २–० ले पराजित गर्‍यो ।

न्युजिल्यान्डले समूह ‘बी’ मा दक्षिण कोरियालाई १–० ले हराएको छ । बर्नलीका स्ट्राइकर क्रिस उडले कासिमामा ७२ औं मिनेटमा गोल गरेका थिए । उनी न्युजिल्यान्ड टोलीमा रहेका २३ वर्षभन्दा माथिका तीनमध्ये एक खेलाडी हुन् । न्युजिल्यान्डको ओलम्पिक फुटबलमा यो पहिलो जित हो । २००८ र २०१२ को ओलम्पिकमा टोलीले १–१ खेलमा यसअघि बराबरीको नतिजा निकालेको थियो ।

प्रकाशित : श्रावण ८, २०७८ ०७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×