उद्योग परिसंघको अध्यक्षमा अग्रवाल- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्योग परिसंघको अध्यक्षमा अग्रवाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । बुधबार सम्पन्न परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हुन् । अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार उनले नेतृत्व सम्हालेका हुन् । उनले परिसंघअन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व सम्हालिसकेका छन् । उनीसँग परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरेको अनुभव छ ।

नवनियुक्त अध्यक्ष अग्रवालले आफ्नो कार्यकालमा औद्योगिक वातावरण निर्माणका लागि पहल लिने बताए । ‘मेरो कार्यकालमा औद्योगिक वातावरण बनाउने कार्य गर्नेछु । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योगको सेयर बढाउने र त्यसबाट रोजगारी सिर्जना गर्न काम गर्नेछौं,’ उनले भने, ‘मेक इन नेपाल क्याम्पेन पनि अघि बढाइएको छ । त्यसमा पनि थप काम गर्नेछु ।’

परिसंघको साधारणसभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन् । राष्ट्रिय परिषद्मा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दीपकुमार शारडा, वरुणकुमार तोडी, सुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेशकुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरजभक्त पौडेल, निर्वाणकुमार चौधरी, विक्रम सिंघानिया, दिलीप अग्रवाल, शरदकुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन् ।

यसैगरी, प्रतिष्ठान समूहतर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्रराज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशिष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, ताराप्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् । संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : श्रावण ७, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्

महामारीबीच घरमै इद

मनोज पौडेल, सन्जु पौडेल

कपिलवस्तु, रुपन्देही — जैतुन निशाले इमाम अहमद बिन हम्बल (बड्की मस्जिद) पुगेर नमाज नपढेको दुई वर्ष भयो । यस पटक भने परिवारसँगै घरमै बसेर नमाज पढिन् । अल्लाहसँग छिटो कोरोना संक्रमण अन्त्यको कामना गरिन् । ‘अर्को वर्ष सद्भाव साटेर मनाउन पाइयोस् भनेर प्रार्थना पनि गरें,’ कपिलवस्तु–५ की उनले सुनाइन् । 

कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित एक घरमा बुधबार नमाज पढिँदै। तस्बिर : मनोज पौडेल/कान्तिपुर

कृष्णनगर–३ लक्ष्मीनगरकी फातमा मिर्जालाई घर सुनसान हुँदा खल्लो लाग्छ । कोरोना महामारीले दुई वर्षदेखि चाडमा कसैलाई बोलाउन पाएकी छैनन् । संक्रमण छल्न परिवारसँग बसेरै अल्लाहसँग छिटो महामारी रोकियोस् भनेर कामना गरेको उनले बताइन् ।

मुलुककै दोस्रो मुस्लिम बहुल जिल्ला कपिलवस्तुमा मुस्लिम समुदायका व्यक्तिले घरभित्रै नमाज पढेका छन् । पहिलो दिन बिहान नुहाइधुवाइ गरी नयाँ कपडा लगाए । बास्नादार अत्तर छर्के । घरमै विशेष नमाज पाठ गरेपछि अभिभावकसँग आशीर्वाद लिए । अँगालोमा बेरिएर शुभकामना आदानप्रदान गरे । दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) मा इदगाह, मस्जिदमा उनीहरू सामूहिक नमाज पढ्न गएनन् । जिल्लामा भीडभाड गर्न नपाउने गरी निषेधाज्ञा जारी छ ।

रूपन्देहीको सिद्धार्थनगर–९ का ५० वर्षीय फजिज अहमद पर्वका दिन बिहानै उठेर इदगाहमा नमाज पढ्थे । यस पटक उनी त्यहाँ जान पाएनन् । वर्षको दुई पटक पर्ने ठूला इदमा मस्जिद वा इदगाहा जान नपाउनु मुस्लिम धर्मावलम्बीका लागि पीडाको विषय भएको उनले बताए । ‘सामूहिक नमाज वाचन र भोजन गरी हर्षोल्लासका साथ पर्व मनाउँथ्यौं,’ उनले भने, ‘दुई वर्ष भयो, घरमै नमाज पढ्ने र परिवारसँग रमाउने ।’

अल्लाहको आदेशमा इब्राहिमले छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाइन्छ । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान इस्माइललाई कुर्बानी गर्नॅपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

कोरोनाको डरले मस्जिदमा जम्मा भई नमाज पढ्न नपाएपछि घरमै नमाज पढ्दै बुटवलका मुस्लिम धर्मावलम्बी । तस्बिर : सन्जु/कान्तिपुर

इद–उल–फित्रको ठीक २ महिना १० दिनमा मनाइने पर्वको ठूलो महत्त्व भएको राष्ट्रिय मुस्लिम आयोग सदस्य हाजी मिर्जा अरशद बेगले बताए । अरू दिन फजिर, जोहर, अस्र, मग्रिव र इसाका नामबाट पाँच पटक नमाज पढिन्छ । तर, बकर इदको दिन पाँच पटकमा एउटा थप वाजिव नमाज पनि पढेर मुसलमान समुदायले आ–आफ्नो घरमा खसी, राँगा र भेंडा बलि दिई खुसियाली मनाउने उनले बताए । कुर्बानीको मासु तीन भागमा छुट्याई वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को भाग इष्टमित्रलाई र तेस्रो भाग आफैंले खानुपर्ने चलन छ ।

यो पर्वमा कोही पनि मासु खानबाट वञ्चित नहोस् भन्ने मान्यता रहेको छ । बुटवलमा ७ सय मुस्लिम परिवार रहेको मदिन मदरसा मस्जिद प्रबन्ध परिषद् बुटवल–५ का सचिव जमिल मियाँले बताए । एक सय जना अटाउने क्षमता रहेको मस्जिदमा बुधबार २५ जना पदाधिकारी मात्र उपस्थित भई नमाज पढेर शुभकामना आदानप्रदान गरेको उनले बताए ।

प्रकाशित : श्रावण ७, २०७८ ०६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×