घोषणा १३ सय मेगावाटको, थपियो ३ सय मात्रै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

घोषणा १३ सय मेगावाटको, थपियो ३ सय मात्रै

कोरोना महामारीका कारण धेरै आयोजनाको निर्माण तालिका प्रभावित हुँदा थोरै विद्युत् मात्रै राष्ट्रिय प्रणालीमा जोडिएको हो
विजय तिमल्सिना

काठमाडौँ — सरकारले गत आर्थिक वर्षमा १ हजार ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने घोषणा गरेको भए पनि ३ सय मेगावाट विद्युत् मात्रै थपिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले १ हजार ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने घोषणा गरेका थिए । तर नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार गत वर्ष ३ सय १३ मेगावाट विद्युत् मात्रै राष्ट्रिय प्रणालीमा जोडिएको देखिन्छ । जसमा ३० मेगावाट हिस्सा सौर्य ऊर्जाको छ ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा निजी क्षेत्रका आयोजनाबाट करिब ६ सय ९६ मेगावाट र प्र्राधिकरणका आयोजनाबाट ५ सय ८२ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको थियो । तर गत आर्थिक वर्षमा भने हाँडीखोला १ मेगावाट, अपर रावाखोला ३ मेगावाट, नामार्जुन मादी १२ मेगावाट, घट्टेखोला ५ मेगावाट, विजयपुर दोस्रो ४.५ मेगावाट, अपर चाकु ‘ए’ २२ मेगावाट, मिस्त्रीखोला ४२ मेगावाट गरी ७ वटा आयोजना राष्ट्रिय प्रणालीमा जोडिएर व्यावसायिक उत्पादन गरिरहेका प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार अन्य आधा दर्जन आयोजनाको पनि परीक्षण उत्पादन सुरु गरी राष्ट्रिय प्रणालीमा जोडिएको छ । जसमध्ये माइबेनी १० मेगावाट, सिंगटीखोला २५ मेगावाटले भर्खरै परीक्षण उत्पादन सुरु गरेका छन् । योबाहेक बुटवल सोलारको ८.५ मेगावाट, मिथिला सोलारको १० मेगावाट, प्राधिकरणको नुवाकोटस्थित सोलार आयोजनाबाट १२ मेगावाट गरी ३०.५ मेगावाट सौर्य ऊर्जा पनि राष्ट्रिय प्रणालीमा जोडिएको छ । दुईवटा चिनी मिलले उत्पादन गरेको ६ मेगावाट विद्युत् पनि गत आर्थिक वर्षमै राष्ट्रिय प्रणालीमा जोडिएको तिम्सिनाले जानकारी दिए । माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

सरकारले माथिल्लो तामाकोसीको ४ सय ५६ मेगावाटसहित केही ठूला आयोजनाको निर्माण पूरा भएर राष्ट्रिय प्रणालीमा जोडिने अनुमानसहित गएको बजेटमा १ हजार ३ सय मेगावाट विद्युत् थपिने घोषणा गरेको थियो । तर कोरोना महामारीका कारण धेरै आयोजनाको निर्माण तालिका प्रभावित हुँदा थोरै विद्युत् मात्रै राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

माथिल्लो तामाकोसीको दुई वटा युनिटबाट परीक्षणका रूपमा उत्पादन गरिएको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । तर परीक्षण थालिएको केही दिनमै प्राविधिक कमजोरी देखिएपछि पहिलो युनिटको विद्युत् उत्पादन परीक्षण तत्काललाई रोकिएको आयोजना स्रोतले जानकारी दियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ मा पहिलो युनिटबाट परीक्षण उत्पादनको थालनी गरेका थिए । आयोजनाको दोस्रो युनिटबाट उत्पादित ७६ मेगावाट विद्युत् भने राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

प्रकाशित : श्रावण ७, २०७८ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्

उद्घाटनको दुई सातामै तामाकोसी बन्द

पूर्ण परीक्षण नहुँदै तत्कालीन प्रधानमन्त्री ओलीबाट उद्घाटन, पावर ट्रान्सफर्मरमा समस्या देखिएपछि कुलेखानी लगेर मर्मत गरिँदै
विजय तिमल्सिना

काठमाडौँ — पूर्ण तयारीबिनै हतारोमा उद्घाटन गरिएको माथिल्लो तामाकोसीको पहिलो र दोस्रो युनिट दुवैमा समस्या देखिएपछि विद्युत उत्पादन बन्द भएको छ । ४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन सुरु गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असार २१ मा उद्घाटन गरेका थिए । 

दोलखाको बिगु–१ स्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजना । 

‘उद्घाटन गर्दा पहिलो युनिटबाट करिब १० मिनेटजति ८ मेगावाट विद्युत् उत्पादन भएको थियो,’ आयोजना स्रोतले भन्यो, ‘प्राविधिक समस्या देखिएपछि लगत्तै पहिलो युनिट बन्द भएको छ ।’ आफ्नै पालामा निर्माण पूरा भएको सन्देश दिन ओलीले पूर्ण परीक्षण नै नगरी आयोजना उद्घाटन गरेका थिए

उद्घाटनको चाँजोपाँजो चाँडो मिलाउन प्रधानमन्त्री कार्यालयले आयोजना व्यवस्थापनलाई दबाब दिँदै आएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी आदेश दिनुअघि नै ओलीले आयोजना उद्घाटन गर्ने इच्छा राखेपछि प्रधानमन्त्री कार्यालयले उद्घाटनको व्यवस्था मिलाउन ताकेता गरेको थियो । ‘आफ्नै पालामा माथिल्लो तामाकोसी आयोजनाको निर्माण पूरा भएको सन्देश दिन प्रधानमन्त्रीले उद्घाटनको हतारो गर्नुभएको थियो,’ आयोजना व्यवस्थापन स्रोतले भन्यो, ‘उद्घाटन गर्नुअघि पूर्ण परीक्षण नगर्दा अहिले प्राविधिक समस्या देखिएको हो ।’

माथिल्लो तामाकोसीको दोस्रो युनिट पनि मंगलबारदेखि राष्ट्रिय प्रणालीमा जोडिएको थियो तर अहिले दोस्रो युनिट पनि बन्द रहेको भार प्रक्षेपण केन्द्र स्रोतले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीका अध्यक्ष हितेन्द्रदेव शाक्यले आयोजनाको पावर ट्रान्सफर्मरमा समस्या देखिएपछि अहिले कुलेखानी जलविद्युत् आयोजनामा लगेर मर्मत गर्ने काम भइरहेको बताए ।

परीक्षण उत्पादनका क्रममा प्राविधिक समस्या आउने भन्दै उनले यो ‘सामान्य खालको समस्या’ भएको दाबी गरे । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले साउन १५ बाट मात्र आयोजनाले व्यावसायिक उत्पादन थाल्ने भएकाले अहिले परीक्षणका क्रममा सामान्य प्राविधिक समस्या आएको बताए । उनले साउन १५ भित्र आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन सुरु हुने जानकारी दिए ।

माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत् आयोजनास्थलबाट २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यु खिम्ती सबस्टेसन हुँदै खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ । यो आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि वर्षायाममा नेपाल विद्युत्मा आत्मनिर्भर हुनेछ । उच्च माग हुँदा र सुक्खायाममा विद्युत् माग धान्न भारतबाट आयात भइरहेको छ । चैत–वैशाखमा आन्तरिक आयोजनाको उत्पादन घट्दा प्राविधिकले देशभित्र खपत हुने कुल विद्युत्को ६५ प्रतिशतभन्दा बढी ऊर्जा भारतबाट आयात गर्नुपरेको थियो ।

पाँच वर्षमा निर्माण सक्ने लक्ष्यका साथ २०६७ मा सुरु भएको आयोजनाको उत्पादन थाल्ने मिति ६ वर्ष पर धकेलिएको थियो । आयोजनाको तयारी २०६० सालतिरबाटै थालिएको थियो । भूकम्पपछि आयोजनास्थलमा गएको पहिरो र त्यसपछिको नाकाबन्दीका कारण साढे दुई वर्ष निर्माण बिथोलिएको थियो । यस्तै, ठेकेदारको ढिलासुस्ती र कोभिडका कारण आयोजना निर्माण चार वर्ष प्रभावित भएको आयोजनाका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए ।

हाइड्रोमेकानिकल उपकरण जडानका लागि ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको रेलवे एन्ड इन्जिनियरिङ लिमिटेडको कमजोर कार्यसम्पादनका कारण आयोजनाको गति निकै सुस्त बनेको थियो । भारतीय कम्पनीसँगको सम्झौता आयोजना व्यवस्थापनले असार १५ मा रद्द गरेको थियो । माथिल्लो तामाकोसी आयोजनाले वार्षिक २ हजार २ सय ८१ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ ।

प्रकाशित : श्रावण ४, २०७८ ०६:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×