कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नाइट्रोजनका नाममा अक्सिजन ग्यास बिक्रीबारे उद्योगीबीच विवाद

राजु चौधरी

काठमाडौँ — ललितपुरस्थित सोपान फर्मास्युटिकल लिमिटेडले नाइट्रोजन ग्यासका नाममा अक्सिजन ग्यास बिक्री गरेको आरोप लागेको छ । नाइट्रोजनका नाममा अक्सिजन ग्यास पठाउँदा करिब एक करोड रुपैयाँ बराबरको आलु चिप्स र क्रन्ची ड्यामेज भएको श्री बीआईटी उद्योगले आरोप लगाएको छ ।

नाइट्रोजनका नाममा अक्सिजन ग्यास बिक्रीबारे उद्योगीबीच विवाद

बीआईटीको एनडीएच ब्रान्ड आलु चिप्स र क्रन्ची उत्पादन ड्यामेज भएको उद्योग सञ्चालक कमल सिंहले बताए ।

‘लकडाउनकै क्रममा एनडीएचले करिब ४ करोड रुपैयाँ लागतमा आलु चिप्स र क्रन्ची उत्पादन सुरु गर्‍यो । मार्चदेखी उत्पादन बजार पठाउन थाल्यो । तर मार्च र अप्रिलको उत्पादनमा समस्या भएको भन्दै डिलरहरूले फिर्ता गर्न थाले,’ सिंहले भने, ‘अनुसन्धान गर्दै जाँदा सोपानबाट नाइट्रोजनका नाममा अक्सिजन पठाएको देखियो ।’

सोपानले पठाएको सिलिन्डरमा सानो अक्षरले अक्सिजन (ओ२) लेखिएको छ । अक्सिजनकै कारण आलु चिप्स र क्रन्ची कुरकुरे ओसिएको सिंहको दाबी छ । उद्योगका अनुसार आलु चिप्स र क्रन्ची कुरकुरे बनाउन नाइट्रोजन चाहिन्छ । नाइट्रोजनले चिप्सलाई ओसिन दिँदैन । प्याकेजिङ गरिएको उत्पादन बिग्रन नदिने हुँदा नाइट्रोजन प्रयोग हुन्छ । त्यही सिलसिलामा सोपानबाट नाइट्रोजन ग्यास मागिएको सिंहले बताए । तर नाइट्रोजनका नाममा अक्सिजन उपलब्ध गराउँदा उत्पादन चिप्स र क्रन्ची ड्यामेज भएको उनको दाबी छ । यसले सर्वसाधारणको स्वास्थ्यमा समेत असर पुग्न सक्ने उनले बताए ।

डिलरहरूबाट गुनासो आएपछि सञ्चालक सिंहले नेपाल घरेलु तथा साना उद्योग महासंघ गुहारेका थिए । महासंघले पनि असार २२ मा जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै वास्तविकता बुझेर छानबिन गर्न र दोषी ठहरिए कारबाही गर्न आग्रह गरेको थियो । जिल्ला प्रशाासन कार्यालय काठमाडौंले पनि असार २३ मा आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसरलाई पत्र पठाएको छ । ‘नेपाल घरेलु तथा साना उद्योग महासंघ, माइतीघर काठमाडौंले असार २२ गते पठाएको पत्रबाट अवगत गरी पत्रमा उल्लिखित विषयका सम्बन्धमा अनुसन्धान तथा छानबिन गरी प्रचलित कानुनअनुसार गर्नु हुन आदेशअनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।

जिल्ला प्रशासनले पत्र पठाउँदासमेत प्रहरीले चासो नदिएको भन्दै सिंहले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र गुणस्तर तथा नापतौल विभागलाई समेत गुहारेको जनाइएको छ । खाद्य प्रविधि र गुणस्तर विभागले पनि परीक्षण गर्ने मेकानिजम नभएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा जान सुझाएको उद्योगले बताएको छ । यता सोपानले वैशाख ९ मा पठाएको बिलमा भने नाइट्रोजन नै उल्लेख छ ।

आफ्नो कम्पनीको कुनै दोष नभएको र फसाउन मात्र खोजिएको सोपान फर्मास्युटिकल लिमिटेडका म्यानेजिङ डाइरेक्टर वसन्तचन्द्र मर्हाठाले बताए । ‘पहिलो कुरा, अक्सिजनको ठाउँमा नाइट्रोजन प्रमाणित कसरी गर्ने ? खाद्य उत्पादन गर्ने कम्पनीसँग ल्याब पनि हुनुपर्थ्यो । प्रयोग गर्नुअगावै नाइट्रोजन हो/होइन परीक्षण गर्नुपर्थ्यो । कच्चा पदार्थहरू परीक्षण गर्नुपर्थ्यो,’ उनले भने, ‘सोपानकै फल्ट भनेर कसरी प्रमाणित गर्ने ? सिलिन्डरमा ओटु (०२) लेखिएको भनिएको छ । तर जानाजान किन प्रयोग गरियो ? यहाँ ब्ल्याकमेलिङ गरिएको हुन सक्छ ।’ वााणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले दुवै पक्षलाई फिल्डमै लगेर छानबिन गरिने बताए ।

प्रकाशित : श्रावण ४, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?