१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सरकार र निजी क्षेत्र मिलेर उत्पादन बढाऔं : अर्थमन्त्री

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले सरकार र निजी क्षेत्र सँगै मिलेर देशमै उत्पादन वृद्धि गर्नेतर्फ जानुपर्नेमा जोड दिएका छन् ।

सरकार र निजी क्षेत्र मिलेर उत्पादन बढाऔं : अर्थमन्त्री

‘मैले तथ्यांकहरू हेरें । हाम्रो आयात उच्च, निर्यात कमजोर र विदेशी मुद्रा सञ्चिति कमजोर रहेको देखें,’ नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले भने, ‘यो अवस्थामा परिवर्तन जरुरी छ । यसका लागि सरकार निजी क्षेत्रसँग मिलेर देशमै उत्पादन गर्ने र आयात न्यूनीकरण गर्नेतर्फ सोच्नुपर्छ ।’

परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयनमा सरकारको बलियो साथ रहने उनको भनाइ छ । निजी क्षेत्रबाट रचनात्मक सुझाव लिएर सरकार अघि बढ्ने उनले बताए । असल औद्योगिक सम्बन्धसहितको लगानीयोग्य वातावरण सिर्जना सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ । भेटमा परिसंघ अध्यक्ष सतीशकुमार मोरले निजी क्षेत्रलाई खोपमा प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।

यसैबीच नेपाल उद्योग परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । परिसंघले नेपाल इन्भेस्टमेन्ट बैंक र प्रभु बैंकको सहकार्यमा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो । परिसंघ कार्यालय थापाथलीमा आयोजित एक समारोहबीच अक्सिजन प्लान्ट हस्तान्तरण तथा यससम्बन्धी सम्झौता भएको हो । परिसंघ अध्यक्ष सतीशकुमार मोर र अस्पतालका कार्यकारी निर्देशक दिनेश काफ्लेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : श्रावण ४, २०७८ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?