दुई सातापछि मध्यमर्स्याङ्दीमा विद्युत् उत्पादन

लमजुङ — दुई सातादेखि उत्पादन बन्द भएको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट शुक्रबार रातिदेखि विद्युत् उत्पादन पुनः सुरु भएको छ । बेंसीसहर नगरपालिका–१ उदीपुर चिप्लेटीमा बाँध बाँधेर सुन्दरबजार नगरपालिका–९ सिउँडीबारमा विद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन थालिएको हो । 

दुई सातापछि मध्यमर्स्याङ्दीमा विद्युत् उत्पादन

मर्स्याङ्दीको बाढीले १३२ केभी प्रसारण लाइनको लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटस्थित ९ नम्बर टावर बगाएपछि असार १९ देखि विद्युत् उत्पादन बन्द भएको थियो । जेठ १९ बाट मध्यमर्स्याङ्दीको उत्पादन बन्द भएको थियो ।

‘मध्यमर्स्याङ्दी केन्द्रको विद्युत् भार बोकेर जाने १३२ केभी प्रसारण लाइनको टावर बाढीले बगायो । मध्यमर्स्याङ्दीसहित अन्य आयोजनाको उत्पादन हुन सकेन,’ मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख शिवकुमार साहले भने, ‘करिब दुई सातापछि हामीले मध्यमर्स्याङ्दी सञ्चालन गरेका छौं । अहिले पूर्ण रुपमा ७० मेगावाट नै विद्युत् उत्पादन भइरहेको छ ।’ मध्यमर्स्याङ्दीमा जडित ३५/३५ मेगावाटका दुवै टर्बाइन सञ्चालनमा आएको छ ।

मध्यमर्स्याङ्दीबाट दैनिक (२४ घण्टा) १६ लाख ८० हजार युनिट विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना बन्द हुँदा दिनहुँ करिब १ करोड ३० लाख घाटा परेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । उनका अनुसार आयोजनाबाट दुई साता विद्युत् उत्पादन बन्द हुँदा करिब १८ करोड २० लाख रुपैयाँ प्राधिकरणलाई घाटा परेको छ ।

प्रकाशित : श्रावण ३, २०७८ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?