तातोपानी नाका महिना दिनदेखि ठप्प

२५ देखि ३० जना कामदारको टोलीले दिनहुँ जोखिम मोलेर जीर्ण पुल र कोदारी सडक हुँदै सामान ओसार्छन्
अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका–२ स्थित चीन जोड्ने तातोपानी नाकाबाट महिना दिनयता मालवाहक सवारी आउजाउ ठप्प छ । सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल र कोदारी राजमार्ग (२६ किलोमिटर) को लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत असार १ देखि ठप्प नाका सञ्चालनमा आउन सकेको छैन ।

तातोपानी नाका महिना दिनदेखि ठप्प

तातोपानी नाकाको भौतिक पूर्वाधार व्यवस्थित नबनाइँदा दिनहुँ बिग्रँदै गएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । ‘यहाँको सडक दिनभर बनायो, बेलुकीको पानीले भासिइहाल्छ, लिपिङ पुल झनै जीर्ण बन्दै छ । नाकाको व्यथालाई सरकारले कहिले देख्ला ?’ उनले भने ।

बढ्दो कोरोनाकालमा पनि ‘आइसोलेट एरिया’ सहित मालवाहक सवारी सञ्चालनमा आएको तातोपानी नाका अघिल्लो बर्खाझैं भौतिक अवस्थाकै कारण रोकिने अवस्थामा पुगेको उनको भनाइ छ । चीनको खासा हुँदै लिपिङ बजार आइपुगेका कन्टेनर क्षतिग्रस्त लिपिङ पुल पार गर्न पूरै भासिने त्रासमा छेउमै रोकिने गरेका छन् । तसर्थ कामदारले बोकेर कन्टेनरका व्यापारिक सामग्री पुलवारिको बजारसम्म ओसार्छन् । त्यहाँ अड्किएका केही कन्टेनर छन्, तिनैबाट कोदारी बजारसम्म सामग्री ल्याएर थुपारेपछि माथिल्लो बाटो हुँदै कामदारले तातोपानी बजारछेउसम्म ल्याउने गरेका छन् ।

२५ देखि ३० जनाको कामदारको टोलीले दिनहुँ जोखिम मोलेर जीर्ण पुल र कोदारी सडक हुँदै कन्टेनरसम्म सामान ओसार्ने गरेका छन् । एक कन्टेनरको सामग्री ओसार्न कामदारलाई तीनदेखि चार घण्टा लाग्छ । त्यसबाट कामदारको टोलीले एक कन्टेनरबाट २५ देखि ३० हजार रुपैयाँ लिन्छन् । यसअघि कोदारी र तातोपानी बजार जोड्ने कोदारी खण्डको ३५ मिटर सडक भासिएपछि केही समय मजदुरबाट बोकेर कोदारी बजारसम्म ल्याइएका सामग्री कोदारी स्वरोजगार युवा समाजले चलाएको तुइनबाट तातोपानी बजारको कन्टेनरसम्म ओसारिन्थ्यो ।

‘अहिले मजदुरकै भरमा सामग्री ओसार्ने काम भइरहेको छ,’ भोटेकोसी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाले भने । सडक र पुलकै कारण नाका असुरक्षित हुँदा चीनको खासा हुँदै दिनहुँ भित्रिने कन्टेनर र सामग्री शून्यमा पुग्न लागेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुन सापकोटाले गुनासो गरे । ‘नाका व्यवस्थित नहुँदा २० वर्षदेखि चल्दै आएका एक हजार चार सय कन्टेनर, २८ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए,’ उनले भने ।

सडक र पुलकै कारण साता दिनअघि खासा आइपुगेका अत्यधिक लोडका सामग्री चीन पक्षले फर्काएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । ‘दिनहुँ दर्जनौं कन्टेनर भित्रिन्थे, अहिले कहिलेकाहीँ केही मात्रै आउँछन्, त्यो पनि लिपिङ बजारमै अड्किएका छन्,’ उनले भने ।

रसुवाको राजस्व साढे ३ अर्ब

रसुवा– दुई वर्षदेखि उत्तरी नाका रसुवा भन्सारले वार्षिक राजस्व लक्ष्य भेटाउन सकेको छैन । आर्थिक वर्ष २०७७/७८ मा यो कार्यालयले ३ अर्ब ५४ करोड २७ लाख ९३ राजस्व संकलन गरेको कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

रसुवागढी नाका हुँदै १८ अर्ब ३४ करोड ५४ लाख ६१ हजार मूल्य बराबरको सामान आयात हुँदा ३ अर्ब ५४ करोड २७ लाख ९३ राजस्व संकलन भएको उनको भनाइ छ । कार्यालयले वार्षिक लक्ष्यको आधा मात्र राजस्व उठाएको छ । भन्सार विभागले आर्थिक वर्ष २०७७/७८ का लागि रसुवा भन्सारलाई ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । तर पछि संशोधन गरेर ७ अर्ब २४ करोड ३३ लाख २२ हजारमा झारेको हो ।

तर संशोधित लक्ष्य पनि पूरा हुन सकेन । कोभिड–१९ को संक्रमण बढेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात प्रभावित छ । ‘अहिले दैनिक ७ वटा चिनियाँ कन्टेनरले नेपालतर्फ नै सामान ल्याएर झर्ने गरेका छन्,’ रेग्मीले भने । नाकाबाट न्यून सामान आयात हुँदा राजस्व संकलन प्रभावित भएको भन्सार कार्यालयले बताएको छ । २०७६ माघ १५ देखि यो नाका भएर हुने निर्यात ठप्प छ, जसले राजस्व संकलनमा ठूलो असर पुगेको हो ।

प्रकाशित : श्रावण ३, २०७८ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?