२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

६ लाखले पाएनन् लाइसेन्स

नयाँ चालक अनुमतिपत्रका लागि थप ४ लाखको आवेदन, स्मार्ट लाइसेन्स छाप्न विभागसँग कार्ड नै छैन
विमल खतिवडा

काठमाडौँ — चितवन पटिहानीका इन्द्र महतोले नयाँ चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) का लागि सबै प्रक्रिया पूरा गरे । ट्रायल दिए । लिखित पास गरे तर ६ महिना भइसक्यो, लाइसेन्स हात पार्न सकेका छैनन् । अहिले उनी राजस्व बुझाएको चिट देखाएर मोटरसाइकल कुदाइरहेका छन् । 

६ लाखले पाएनन् लाइसेन्स

‘ट्रायल दिँदा ६ महिनाभित्र स्मार्ट लाइसेन्स आइसक्छ भन्ने जानकारी पाएको थिएँ,’ उनी भन्छन्, ‘बुझ्दा लाइसेन्स आउने टुंगै नभएको थाहा पाएँ ।’ स्वयम्भू हलचोक बस्ने उनी राजस्व तिरेको चिट बोक्दाबोक्दै च्यातिन लागेको सुनाउँछन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका हिमाल मगरले २०७६ भदौ २३ मा स्मार्ट लाइसेन्सका लागि सबै प्रक्रिया पूरा गरे तर २३ महिनासम्म हात परेको छैन । ट्याक्सी चलाउने हिमालको सुर थियो तर लाइसेन्स छिट्टै आउने छाँट नदेखेपछि उनी वैदेशिक रोजगारीका लागि साउदी उडे । लाइसेन्स पाए नेपाल फर्किएर काम गर्ने उनको रहर अझै उस्तै छ । ‘दाइले लाइसेन्स बन्यो कि बुझिदेऊ भन्दै फोन गर्नुभयो,’ बुधबार यातायात व्यवस्था कार्यालयमा भेटिएका उनका भाइ भरतले भने, ‘अझै कहिले आउँछ भन्ने टुंगो रहेनछ ।’

समस्या हिमाल, इन्द्रको मात्र होइन । उनीजस्तै सबै प्रक्रिया पूरा गर्नेले वर्षौं बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नकसकेको गुनासो गर्दै आएका छन् । त्यसो त लिखित परीक्षा र ट्रायलसमेत दिएका झन्डै ६ लाख सेवाग्राहीको लाइसेन्स यसैगरी रोकिएको छ । कारण, स्मार्ट लाइसेन्स छाप्न चाहिने कार्ड नै छैन । यो संख्या नयाँ लाइसेन्सका लागि लिखित, ट्रायल दिएका र नवीकरणका लागि राजस्व बुझाइसकेका सेवाग्राहीहरूको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे कार्ड नभएकाले लाइसेन्स छपाइ कम हुँदै आएको र गत माघ अन्तिमदेखि पूरै रोकिएको बताउँछन् ।

भारतको मद्रास सेक्युरिटी प्रिन्ट (एमएसपी) ले सफ्टवेयर र कार्ड प्रिन्टको ठेक्का लिएको छ । यो पुरानै ठेक्का हो तर कार्ड सप्लाइको ठेक्का भने फ्रेन्च कम्पनी सेल्पले लिएको छ । विभागका अनुसार कार्ड सप्लाइको ठेक्का सेल्पले १४ करोड ८६ लाख रुपैयाँमा पाएको हो । ‘हामीले कार्ड पर्सनलाइजेसन (प्रिन्टिङ सफ्टवेयरसँग नयाँ आउने कार्डहरूलाई चिन्ने बनाउने) को सफ्टवेयर अपडेट गर्ने काम सकेका छौं, त्यसको परीक्षण गर्न ५ सयवटा कार्ड सेल्प कम्पनीसँग मागेका पनि छौं,’ उनले भने, ‘परीक्षण सफल भएपछि कार्ड डेलिभरी गर्न अर्डर दिन्छौं ।’ अर्डर पाएको तीन महिनाभित्र सम्झौताअनुसार सेल्प कम्पनीले कार्ड डेलिभर गर्नुपर्नेछ । ‘ऊ डेलिभर गर्न तयार छ, परीक्षणका लागि कार्ड मागेका छौं,’ उनले भने, ‘कार्ड विदेशबाट आउनुपर्छ तर अहिले सिपिङ बन्द छ ।’

पहिला मेसिन, कार्ड सप्लाइ र सफ्टवेयरको काम मद्रास एक्लैले गरेको थियो । ‘तर यसपटक कार्ड सप्लाइको ठेक्का मद्रासलाई परेन, सेल्पलाई पर्‍यो,’ विभाग स्रोतले भन्यो, ‘प्रतिस्पर्धा सेल्प र मद्रासबीच भएको थियो ।’ आर्थिक वर्ष २०७५/०७६ मा यसको ठेक्का भएन, २०७७/०७८ मा आएर ठेक्का भएको हो । ‘सेल्पले कार्ड उपलब्ध गराएपछि ठीक छ/छैन मद्रासले कन्फर्मेसन दिनुपर्छ,’ विभाग स्रोतले भन्यो, ‘तर मद्रासले आलटाल गरिरहेको छ, अहिलेसम्म मेसिनले कार्ड छाप्छ, कार्ड ल्याउनु भनेर कन्फर्मेसन नदिएकाले ढिलाइ भइरहेको छ ।’

कन्फर्मेसन दिन नसकेर सेल्पले कार्ड नल्याएको विभाग स्रोतको भनाइ छ । काम नै नभएकाले ठेक्काको भुक्तानी भने नदिइएको विभागले जनायो । अहिलेसम्म २० लाख स्मार्ट लाइसेन्स वितरण भइसकेको छ । साउनभित्र कार्ड आउनेबारे टुंगो नलागे भदौमा विकल्प खोजेर भए पनि ६ लाख कार्ड प्रिन्ट गरी वितरण गर्ने महानिर्देशक घिमिरेको दाबी छ ।

विभागका अनुसार कुनै–कुनै पुराना कार्ड प्रिन्टमा प्राविधिक समस्या आएकाले रोकिएका छन् । जसले गर्दा पुराना केही लाइसेन्स सेवाग्राहीले नपाएको हुन सक्ने जनाइएको छ । त्यस्तै प्रदेश मातहत रहेका यातायात कार्यालयबारे थाहा नभएकाले लाइसेन्सबारे बुझ्न प्रायः सेवाग्राही विभाग आउने गरेका छन् । ‘कतिको लाइसेन्स सम्बन्धित कार्यालयमा गइसकेको हुन्छ,’ महानिर्देशक घिमिरेले भने, ‘विभाग आउँदा पनि सम्बन्धित कार्यालय जान भन्ने गरेका छौं ।’ नयाँ लाइसेन्सका लागि ४ लाखले आवेदन दिएका छन् । कोभिड संक्रमण बढेसँगै गरिएको निषेधाज्ञाका कारण त्यसको ट्रायल र लिखित परीक्षा कहिले हुने हो, टुंगो छैन ।

अब ट्रायलमा कोही फेल नहुने

यसअघि ट्रायलमा पास र फेल गर्ने मात्र सिस्टम थियो । पाँच तह हुन्थे । सबै तहमा पास हुनुपर्थ्यो । ‘अब अहिले पास–फेललाई हामीले अंकमा परिवर्तन गरेका हौं,’ घिमिरेले भने, ‘ट्रायलमा आठपल्ट घुमाउनुपर्‍यो भने केही गल्ती नगरी घुमाए उसले २० नम्बर पाउँछ ।’ यो गाडीको हकमा मात्र हो । मोटरसाइकलको हकमा भने परीक्षार्थीले १० नम्बर पाउने उनले जानकारी दिए ।

पहिला घेरामा एकपटक छोएपछि फेल हुने अवस्था थियो । अहिले एकपटक घेरा छोए गाडीमा १० र मोटरसाइकलमा ५ नम्बर काटिन्छ तर फेल भएको मानिन्न । ‘अगाडि जान पाइन्छ, दुईपटक छोए २० नम्बर काटिन्छ तर ट्रायल परीक्षामा ऊ पूरै फेल हुँदैन,’ घिमिरेले भने, ‘३० नम्बर काटिए मात्र ऊ फेल हुन्छ ।’ केहीमा भने अनिवार्य पास हुनुपर्ने व्यवस्था छ । ट्राफिक लाइट हेर्ने र उकालो चढाउने सीपमा भने पास हुनैपर्ने उनले जानकारी दिए ।

अब नयाँ खुल्ने लाइसेन्सका लागि यो नियम लागू हुने उनको भनाइ छ । अहिले लिखित पास भएर ट्रायलको पर्खाइमा रहेकालाई भने पुरानै नियम लागू हुनेछ । लिखित नै बाँकी रहेकालाई मात्र यो नियम लागू हुनेछ । ‘यसका लागि हामीले तयार पारेको छुट्टै प्रश्न बैंक छ, त्यसलाई कार्यालयको वेबसाइटमा राखेका छौं, यसका लागि प्रश्नोत्तर छुट्याइएको छ,’ उनले भने, ‘गाडी र मोटरसाइकलका लागि ५/५ सयवटा प्रश्न छुट्याइएको छ । त्यसैबाट मात्र प्रश्न सोध्छौं ।’

लिखितमा ८० नम्बर ल्याउनुपर्छ । ‘तर यो नम्बरमा हामीले रिभ्यु गर्न खोज्दै छौं,’ घिमिरेले भने । साधारण लेखपढ गरेका व्यक्तिले पनि लाइसेन्सको परीक्षा दिन पाउने भएकाले ८० नम्बर ल्याउन कठिन हुन्छ भन्ने सुझाव आएको उनले बताए । अहिले नयाँ लाइसेन्सका लागि आवेदन बन्द गरिएको छ । यसअघि आवेदन दिएकालाई एक साताको समय दिएर परीक्षा हुने जानकारी गराइने उनको भनाइ छ ।

प्रकाशित : श्रावण १, २०७८ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?