तरकारी आयात परिमाण उस्तै, बजारमा भने मूल्य वृद्धि

खुद्रा व्यापारी भन्छन्, ‘सिजनका कारण एक/दुई वस्तुमा बढ्नु स्वाभाविक हो तर सबैको मूल्य झन्डै दोब्बर पुग्यो’
राजु चौधरी

काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक मान्ने हो भने दैनिक ७ देखि साढे ७ सय टन तरकारी भित्रिए बजारमा अभाव हुँदैन । तरकारीको मूल्य अस्वाभाविक बढ्दैन किनभने कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । बाँकी ३० प्रतिशत माग बल्खु, कोटेश्वर, टुकुचा, चाबहिल, धुम्बाराही, कलंकीलगायत बजारले पूर्ति गर्छन् ।

तरकारी आयात परिमाण उस्तै, बजारमा भने मूल्य वृद्धि

पछिल्लो १० दिनको विवरण हेर्दा कालीमाटीमा मागअनुसार नै तरकारी आयात भइरहेको छ । बजारमा भने हरियो तरकारी छोइनसक्नु छ । ‘आयात परिमाण हेर्दा एक/दुई दिनबाहेकको अवस्था सामान्य छ । वर्षा हुँदा पनि तरकारी भित्रिएकै छ,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘तर बजारमा मूल्य अन्तर बढी नै देखिन्छ ।’

सामान्यतः बर्खामा हरियो तरकारीको मूल्य केही बढ्छ । पानीका कारण तरकारी कुहिने, बिग्रने हुँदा औसतमा किलोमा दुई/चार रुपैयाँ बढ्नु स्वाभाविक हो । अचाक्ली बढ्नु भने गलत भएको व्यवसायी स्वयं बताउँछन् । ‘अहिले सिजन सकिएका तरकारीको मूल्य बढ्नु स्वाभाविक भए पनि सबै तरकारीको वृद्धि हुने अस्वाभाविक हो । होलसेलमा दोब्बरभन्दा बढी पुगेको छ,’ सुकेधारा तरकारी बजारका एक व्यापारीले भने, ‘दोब्बर मूल्य परेपछि खुद्रामा पनि बाध्य भएर बढाएका छौं । खुद्रामा अनियन्त्रित सटर भाडाले मूल्य बढाउन बाध्य हुन्छौं ।’ उपत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट तरकारी आयात गरिन्छ । भारतबाट पनि तरकारी भित्रिन्छ । एक महिनामा बन्दा, काउली, बोडी, मुला, गाँजर, मटरकोसा, घिउसिमी, तितेकरेला, हरियो खुर्सानी, हरियो धनियाँ, गोलभेंडालगायत तरकारीको मूल्य अस्वाभाविक बढेको छ । समितिको विवरणअनुसार जेठमा औसत मूल्य प्रतिकिलो ५८.५० रुपैयाँ पर्ने मुला असारमा ९८.५२ रुपैयाँ पुगेको छ ।

जेठमा प्रतिकिलो २७ रुपैयाँ परेको बन्दा असारमा ५४.६६ रुपैयाँ पुगेको छ । स्थानीय काउली प्रतिकिलो ४२ रुपैयाँमा बिक्री भएकोमा अहिले ७०.६८ रुपैयाँ पर्छ । जेठमा प्रतिकिलो बोडी ७४.४७ रुपैयाँ रहेकोमा असारमा ९६.३७ रुपैयाँ पुगेको छ । यी सबै होलसेल मूल्य हुन् । खुद्रामा आइपुग्दा मूल्य झन्डै दोब्बर नै पुग्छ । खुद्रामा पसलैपिच्छे फरक मूल्य हुन्छ । भाडादरमा मनोमानी र अनुगमन नहुँदा पनि बजार अराजक बन्दै गएको हो ।

बजार अनुगमन तथा नियमनको दायित्व स्थानीय निकायको हो । मूल्य हस्तक्षेप गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पनि हो । तर पछिल्लो समय उजुरीका आधारमा मात्रै विभागले अनुगमन गरिरहेको छ । यसले पनि मूल्य बढाउन चाहनेलाई मौका मिलेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

विभागका प्रवक्ता शिवराज सेढाईंले भने मौसमका कारण मूल्यमा तलमाथि हुन सक्ने दाबी गरे । ‘मनसुन सक्रिय भएकाले बाटोमा पनि केही समस्या उत्पन्न भइरहेकै छ । तरकारी छिट्टै सड्ने हुँदा माग र आपूर्ति नमिलेर पनि मूल्य वृद्धि हुन सक्छ,’ उनले भने, ‘अनुगमन नियमित भएकै छ । तरकारी मूल्यका हकमा बोल्नुपर्ने निकाय कृषि तथा पशुपन्छी विकास मन्त्रालय हो । यद्यपि कालीमाटी तरकारी बजारसँग समन्वय गरेर अनुगमन गर्छौं ।’

जेठमा प्रतिकिलो ७४.४७ मूल्य रहेको मकै बोडी असारमा ९६.३७ रुपैयाँ, प्रतिकिलो ५८.५० रहेको गाजर ९८.५२ रुपैयाँ, १ सय २१ रहेको मटरकोसा १ सय ४५ रुपैयाँ, प्रतिकिलो ४७ रहेर्को घिउसिमी ८६ रुपैयाँ परेको समितिको विवरण छ । प्रतिकिलो ३२ रहेको तितेकरेला ५९ रुपैयाँ, ४१ रुपैयाँ रहेको लौका ५८ रुपैयाँ, ४२ रहेको घिरौंला ६१ रुपैयाँ, ५१ रहेको भेडेखुर्सानी १ सय ७ रुपैयाँ र ६९.५० रहेको हरियो धनियाँ १ सय ३२ रुपैयाँ पुगेको समितिले जनाएको छ ।

विगतको तुलनामा किसानले पाउने मूल्य भने बढेको समितिका सूचना अधिकारी श्रेष्ठको दाबी छ । ‘बर्खाको समयमा मूल्य सामान्यतः बढी हुन्छ नै, यससँगै किसानले पनि मूल्य पाएका छन्,’ उनले भने, ‘तर बजारभाउ पनि बढेकै छ ।’ हरियो तरकारीसँगै कुखुरा मासुको मूल्य पनि उकालो लागेको छ ।

प्रकाशित : असार ३०, २०७८ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?