२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘मौद्रिक नीतिमार्फत साना ऋणलाई प्राथमिकता’

गत वर्षको लकडाउनले अर्थतन्त्रमा पुर्‍याएको असरभन्दा यसपालि वैशाख १६ पछि गरिएको निषेधाज्ञाबाट कम क्षति
क्रस बोर्डर व्यापारमा समस्या भए पनि घरेलु अर्थतन्त्र छिट्टै लयमा फर्किने आकलन

काठमाडौँ — आगामी मौद्रिक नीतिमा ससाना उद्यमी, व्यवसायी तथा आम नागरिकलाई ऋणमा पहुँच पुर्‍याउने प्राथमिकता राष्ट्र बैंकको हुनुपर्ने सरोकारवालाले बताएका छन् । कोभिड–१९ ले पारेको असर कम गर्दै अर्थतन्त्रको पुनरुत्थानका लागि धेरैभन्दा धेरै नागरिकसमक्ष कर्जा पहुँच पुर्‍याउनुपर्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने उनीहरूको भनाइ छ ।

‘मौद्रिक नीतिमार्फत साना ऋणलाई प्राथमिकता’

कान्तिपुरले शनिबार आयोजना गरेको मौद्रिक नीति विशेष राउन्ड टेबल कार्यक्रममा साना ऋणी लक्षित कार्यक्रम ल्याइने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

‘अहिले पनि साना ऋणी प्राथमिकतामै छन्,’ उनले भने, ‘यही कारण गएको एक वर्षमै धेरै लघु तथा साना ऋणीसमक्ष कर्जा पहुँच पुगेको छ । तर त्यो पर्याप्त भएन ।’ ठूला ऋणीको पहुँच धेरै क्षेत्रमा हुने तर सानाको नहुने भएकाले उनीहरूले लक्षित नीति बनाउनुपर्ने गभर्नर अधिकारीको भनाइ छ । ‘ठूलाले कर्जा पाए, सानाले पाएनन् भन्ने गुनासो धेरै सुनिन्छ । यहाँ ठूलाले कर्जा पाए भनेर चित्त दुखाउने होइन । सवाल सानाले किन पाएनन् भन्ने हो,’ उनले भने, ‘हामीलाई ठूलासाना दुवै प्रकारका ऋणी चाहिन्छ । ठूलो पुँजी लगानी गर्न, उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न ठूला ऋणी चाहिन्छ ।’ बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये करिब ९० प्रतिशत रकम ३८ प्रतिशत ऋणीले उपयोग गर्दै आएका छन् । बाँकी ६३ प्रतिशत ऋणीले प्रवाहित कर्जामध्ये १० प्रतिशत मात्रै उपयोग गरिरहेका छन् । तथ्यांकअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले ३९ खर्ब ८ अर्ब रुपैयाँ कुल कर्जा प्रवाह गरेका छन् । उक्त ऋण १५ लाख ९९ हजार ९ सय १६ ऋणीले उपयोग गरेका छन् । तीमध्ये १० लाख रुपैयाँभन्दा कम ऋण लिनेको संख्या करिब ६३ प्रतिशत छ । यी ऋणीले लिएको ऋण रकम बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको करिब १० प्रतिशत मात्र हो ।

साना ऋणीलाई प्राथमिकता दिएकै कारण गएको एक वर्षमा थप ६५ हजार ऋणीले ब्याज अनुदानको सहुलियत कर्जा सुविधा पाएको गभर्नर अधिकारीको भनाइ छ । ‘वर्षौंदेखि गत वर्षसम्म ३२ हजारले मात्र ब्याज अनुदानको सहुलियत कर्जा पाएका थिए,’ उनले थपे, ‘पछिल्लो १० महिनामा थप ६५ हजार ऋणीले यस्तो कर्जा सुविधा पाएका छन् । तीमध्ये ३६ हजार ऋणीले १५ लाख रुपैयाँभन्दा साना कर्जा लिएका छन् ।’

साना ऋणीले कर्जा सुविधा पाऊन् भनेरै बैंकका हरेक शाखाले निश्चित संख्यामा सहुलियत दरका कर्जा प्रवाह गर्न निर्देशन दिइएको उनको दाबी छ । ‘प्रत्येक शाखाबाट वाणिज्य बैंकलाई कम्तीमा १० र राष्ट्रियस्तरका विकास बैंकलाई कम्तीमा ५ वटा कर्जा प्रवाह गर्न भनेका छौं,’ उनले भने, ‘संख्या नै तोकेर बैंकलाई दबाब दिन खोजिएको हो । केही बैंकले सकेनन् । तर राम्रो प्रयास भएको छ । यसबाट धेरै साना ऋणी लाभान्वित भएका छन् ।’

साना ऋणीलाई लक्ष्य गरी हाल केही बैंकले मोबाइल बैंकिङमार्फत पनि एक डेढ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्दै आएका छन् । ‘हाल करिब ३७ लाख डिम्याट खाता खुलेका छन्,’ उनले भने, ‘उनीहरूलाई लक्ष्य गरी साना रकम कर्जा प्रवाह गर्ने नीतिगत व्यवस्था सम्बन्धमा अध्ययन गर्न सकिन्छ ।’ ३७ लाखमध्ये आधाले मात्र ऋण लिए भने पनि १८ लाखभन्दा बढीले कर्जा पाउँछन् । आगामी मौद्रिक नीतिमा चालु वर्षको जस्तो बृहत् राहत तथा सुविधाका कार्यक्रम नल्याइने गभर्नर अधिकारीले संकेत गरे । ‘चालु आर्थिक वर्षमा हामीले बाँच्ने र बचाउने काम गर्‍यौं । बैंकहरूलाई पनि सबैलाई बचाउन त सक्नुहुन्न । तर आफ्ना ग्राहकलाई बचाउनुस् भनेर आग्रह गर्‍यौं,’ उनले भने, ‘गत वर्ष हामीले नियामकभन्दा पनि सहजकर्ताको भूमिका निर्वाह गर्‍यौं । अहिले त्यस्तो हुँदैन । अब हाम्रो मुख्य काम वित्तीय स्थायित्वमा जोड दिनुपर्छ ।’ पर्यटन, यातायात क्षेत्रबाहेक गत वर्षको लकडाउनको तुलनामा यसपालिको लकडाउनमा आर्थिक गतिविधि धेरै चलायमान भएकाले यही आधारमा राष्ट्र बैंकले मौद्रिक नीति निर्माण गर्ने उनले बताए । ‘दोस्रो लहरको असर गत सालको जस्तो छैन ।

गत वर्ष चैत ११ बाट सुरु भएर असार २ मा खुल्दाको तुलनामा यो वर्ष वैशाख १६ देखि हालसम्मको लकडाउनमा त्यति धेरै समस्या देखिएन,’ उनले भने, ‘अब बैंकलाई पनि जोगाउनुपर्ने अवस्था छ ।’ सरकारको तयारी हेर्दा आगामी ६ महिनाभित्र ५० प्रतिशत बढी जनसंख्याले कोभिड रोकथामको खोप लगाइसक्ने देखिन्छ । खोप लगाएपछि नागरिकको आत्मविश्वास बढ्छ । अर्थतन्त्रमा त्यसको सकारात्मक प्रभाव पर्छ । यद्यपि देश बाहिर (क्रम बोर्डर) व्यापारमा समस्या भए पनि घरेलु अर्थतन्त्र छिट्टै लयमा फर्किने उनको दाबी छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले आगामी मौद्रिक नीतिले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताए । अहिले मूल्य स्थायित्व, तरलता र शोधनान्तर स्थितिमा समस्या नदेखिए पनि २ देखि ३ वर्षसम्म राष्ट्र बैंकलाई ठूलो समस्या पर्ने उनको भनाइ छ । ‘गत वर्षदेखि राष्ट्र बैंकले सरकारभन्दा पनि एक कदम अघि बढेर कोभिड पीडितका लागि राहत दिएको छ,’ उनले भने, ‘यसलाई कहिलेसम्म निरन्तरता दिने ? दुई–तीन वर्षसम्म पनि त्यो कर्जा असुली भएन भने अवस्था के हुन्छ ? यस्तो सम्भावित चुनौती राष्ट्र बैंकले भोग्नुपर्ने देखिन्छ ।’ यो समस्या समाधान गर्न राष्ट्र बैंकले राहतका कार्यक्रम विस्तारै कम गर्दै जानुपर्ने उनले बताए । वित्तीय नीति र मौद्रिक नीतिका कार्यक्रममा सामञ्जस्य नदेखिएको उनको भनाइ छ ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले महिला उद्यमीका लागि लघु र सानाभन्दा पनि मध्यम र ठूला राहतका प्याकेज ल्याउनुपर्ने नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष रिता सिंहले सुझाइन् । ‘महिलालाई सधैं साना प्याकेजहरूमा मात्र सीमित गरियो, अब उनीहरूलाई स्तरोन्नति गर्न आवश्यक छ,’ उनले भनिन् । महिलालक्षित हालका कार्यक्रम पनि प्रभावकारी कार्यान्वयन नभएको उनले बताइन् । ‘अहिले पनि केही बैंकले महिलालाई १५ लाखको ठाउँमा १० लाख मात्र दिन्छौं, धितो चाहियो भनिरहेका छन्,’ उनले भनिन्, ‘यस्ता गतिविधिले महिलालाई निरुत्साहित गर्छ ।’

बैंक तथा वित्तीय संस्थाद्वारा भएको कर्जा विस्तारले अर्थतन्त्रमा कति आर्थिक वृद्धि भयो त्यो विश्लेषण गरेर आगामी मौद्रिक नीति निर्माण गर्नुपर्ने अर्थशास्त्री विश्वास गौचनको भनाइ छ । उच्च कर्जा विस्तार कुन क्षेत्रमा प्रवाह भएको छ र त्यसको प्रभाव कस्तो छ भन्नेबारे पनि सूक्ष्म अध्ययन गरिनुपर्ने उनको सुझाव छ । ‘अहिले राष्ट्र बैंकले २० प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखेको छ,’ उनले भने, ‘यो सान्दर्भिक छ । त्यसलाई घटाएर १५ प्रतिशतमा झार्ने हो कि ?’ आर्थिक वृद्धि न्यून भएको अवस्थामा बैंक तथा वित्तीय संस्थाको उच्च कर्जा विस्तार दीर्घकालका लागि धेरै जोखिमपूर्ण हुने उनको धारणा छ ।

हालको पुनर्कर्जा सीमालाई कुल कर्जाको २० प्रतिशत वा २० करोड रुपैयाँमध्ये जुन धेरै हुन्छ, त्यही कर्जा सुविधा लिन पाउने व्यवस्था गर्नुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले बताए । कोभिड–१९ को पहिलो तथा दोस्रो लहरको गम्भीर प्रभाव उद्योग व्यवसायमा परेकाले बैंकको किस्ता तथा ब्याज भुक्तानीमा समस्या पर्दै गएको छ । कोभिडपछिको सामान्य अवस्था आउन अझै केही समय लाग्ने भएकाले ऋण तथा ब्याजको पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्ने सुविधा दिइनुपर्ने उनको सुझाव छ ।

आर्थिक गतिविधिमा सुधार भएकै कारण बैंक तथा वित्तीय संस्थाले नाफा गरेको सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले बताए । ‘अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र धेरै पारदर्शी भएकाले सबै कुरा सार्वजनिक हुन्छ, यसकारण बैंकले यति नाफा कमाए भन्ने सबैले थाहा पाउँछन्,’ उनले भने, ‘यथार्थमा त्यस्तो होइन, हरेक वर्ष १ देखि डेढ प्रतिशतका दरले बैंकको सम्पत्तिमा प्रतिफल आरओई घटिरहेको छ ।’ पछिल्लो समय बैंकहरूको ध्यान साना ऋणीमा केन्द्रित भएको उनको दाबी छ । धितोपत्र ब्रोकरले मार्जिन लेन्डिङको कारोबार गर्न पाउने नीतिगत व्यवस्था भए पनि थोक रूपमा कर्जा उपलब्धता नहुँदा लागू हुन नसकेको स्टक ब्रोकर्स एसोसिएसनकी पूर्वउपाध्यक्ष सरिता बिष्टले बताइन् । यसका लागि राष्ट्र बैंकले नीतिगत व्यवस्था गरिदिनुपर्ने उनको भनाइ छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर लगानीमा कडाइ गरेको छ । नेपालमा बजार निर्माता नभएको र संस्थागत लगानीकर्ता कम भएको अवस्थामा बैंकहरूलाई सेयर लगानीमा कडाइ गर्न नहुने उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले ऋणीलाई कर्जासँगै एड्भाइजरी सल्लाह पनि दिनुपर्ने उद्यमी मौसमी श्रेष्ठले बताइन् । ‘बैंकहरूको काम महिना सकिएपछि साँवा र ब्याज तिर्न आउनुस् भनेर फोन गर्ने मात्र होइन । कर्जा कहाँ उपयोग भएको छ । उनीहरूलाई के–कस्तो सल्लाह चाहिन्छ भन्नेबारे पनि सोच्नुपर्छ,’ उनले भनिन्, ‘विदेशी बैंकले कर्जासँगै एड्भाइजरी सुविधा दिन्छन्, नेपाली बैंकले पनि ती सुविधा दिनुपर्‍यो ।’

प्रकाशित : असार २७, २०७८ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?