मनपरी भाडा असुल्दै उपत्यकाका सार्वजनिक सवारी- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनपरी भाडा असुल्दै उपत्यकाका सार्वजनिक सवारी

यात्रु ठग्ने २१ जना समातिए
सवारीले स्वास्थ्य मापदण्ड पालना नगरेको गुनासो
विमल खतिवडा

काठमाडौँ — बूढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालकी मञ्जु तामाङ बुधबार बिहान संयुक्त यातायात चढेर चाबहिल पुगिन् । त्यसबापत भाडा १५ रुपैयाँ बुझाइन् । दिउँसो फेरि चाबहिलबाट सोही रुटमा चल्ने संयुक्त यातायात चढेर घर फर्किइन् । बिहानझैं १५ रुपैयाँ बुझाउन लाग्दा सहचालकले २० रुपैयाँ भाडा मागे । १५ रुपैयाँले मानेनन् ।

एकै ठाउँको भाडा बिहान एउटा र दिउँसो अर्को लिने भन्दै उनले सहचालकसँग प्रतिवाद गरिन् । तर सहचालकले तेल (पेट्रोलियम पदार्थ) को मूल्य बढेको भन्दै आफूले भनेकै भाडा दिनुपर्ने अडान लिइरहे । अन्ततः उनले २० रुपैयाँ नै भाडा तिरिन् । सहचालकले गाडीमा चाबहिलबाट चढेका अन्य १५ जनाभन्दा बढी यात्रुसँग त्यति नै भाडा असुलेको तामाङले बताइन् ।

‘मनपरी भाडा असुल्नेलाई कसैले कारबाही गर्दैन, जसलाई जति मन लाग्यो, त्यति भाडा असुल्दा भएकै छ,’ तामाङले भनिन्, ‘अघिपछि १५ रुपैयाँ नै भाडा तिरेर चाबहिल पुग्ने गरेकी थिएँ, निषेधाज्ञापछि सबै गाडी चल्न दिएसँगै मनपरी भाडा असुल्न थालिएको हो ।’

यो समस्या मञ्जुको मात्र होइन । अहिले उत्यकाका प्रायः रुटमा चल्ने सार्वजनिक सवारीले यात्रुसँग यसैगरी मनपरी भाडा असुलिरहेका छन् । असार २१ बाट जोरबिजोर प्रणाली हटाएर सबै सवारी सञ्चालन

खुला गरिएको छ । सार्वजनिक सवारी सञ्चालनमा आएसँगै तेलको मूल्य बढेको भन्दै यातायात व्यवसायीले आफूखुसी भाडा लिने गरेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि केही दिनयता यातायात व्यवसायीले बढी भाडा लिने गरेका गुनासा आउने गरेका छन् । बुधबार मात्र यात्रुसँग बढी भाडा लिने १० जनालाई नयाँ बसपार्क र कलंकीबाट पक्राउ गरिएको छ । ‘अहिले बढी भाडा लिएको भन्दै यात्रुका गुनासा आउने क्रम बढेको छ,’ महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्माले भने, ‘सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरेर पनि यात्रु ठग्ने गिरोहलाई नियन्त्रणमा लिने क्रम जारी छ ।’ बिहीबार चार र शुक्रबार सात जनालार्ई पक्राउ गरिएको उनले बताए ।

लामो दूरीका सवारी सञ्चालनमा नआए पनि अहिले उपत्यका भित्रिने र बाहिरिने निजी तथा भाडाका गाडीले यात्रुसँग दोब्बर भाडा असुलिरहेका छन् । तर यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन नसकेको यात्रुहरूको गुनासो छ ।

एम्बुलेन्स चालकले समेत बार्गेनिङ गरी मनपरी रकम लिँदै यात्रु बोक्ने गरेको गुनासो पनि बढेको छ । उपत्यकाका भित्री रुटमा चल्ने सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु कोचेर बोक्ने गरेका गुनासा पनि उत्तिकै आएका छन् । स्वास्थ्य मापदण्डअनुसार गाडीमा सेनिटाइजर अनिवार्य राख्न भनिए पनि कमै सवारीले मात्र नियम मान्ने गरेको बताइएको छ ।

यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने सवारी चालकलाई तोकिएभन्दा बढी भाडा नउठाउन आग्रह गरिएको दाबी गरे । ‘यातायातको क्षेत्रमा चरम अन्याय भएको छ, यसमा दुईमत नै छैन,’ उनले भने, ‘निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको गर्‍यै गरियो, यस्तो अवस्थामा गाडी चलाउन सक्ने अवस्था छैन ।’ भाडा समायोजनका विषय पटक–पटक उठाउँदा पनि अझै कार्यान्वयनमा आउन नसकेको उनको भनाइ छ ।

कार्यालय समयमा यात्रुको चाप अघिपछिभन्दा केही बढी हुने गरेको छ । ‘कुनै पनि गाडीमा भीड छ भने यात्रु त्यो गाडीमा नचढिदिनुस्,’ सिटौलाले भने, ‘यस्ता कुरामा यात्रु आफैं पनि सचेत हुनुपर्छ ।’ उनका अनुसार अहिले ५० प्रतिशत मात्र सार्वजनिक सवारी सञ्चालनमा छन् । निषेधाज्ञामा घर गएका चालक आउने क्रम सुरु भएको र विस्तारै सवारीको संख्या बढ्दै जाने उनको भनाइ छ ।

भाडा समायोजनको निर्णय नभएकाले मनपरी भाडा कसैले पनि लिन नपाउने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन् । ‘अहिले तोकिएभन्दा बढी भाडा उठाउन पाइन्न,’ उनले भने, ‘अनुगमन गर्दा मनपरी भाडा लिएको पाइए कारबाही गर्छौं ।’ विभागले अनुगमन गरिरहेको उनको दाबी छ ।

प्रकाशित : असार २६, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्

जोखिममा ३ सय पुल

मुख्य राजमार्गका ८ सय पुल ४० वर्षभन्दा पुराना, मर्मतमा बर्सेनि करोडौं खर्च
विमल खतिवडा

काठमाडौँ — सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित चीन जोड्ने उत्तरी तातोपानी नाका अहिले ठप्प छ । अविरल वर्षासँगै आएको पहिरोले असार २ मा लिपिङ खोलामा पुलको ‘एप्रोच’ सडक बगाएपछि सवारी आउजाउ बन्द भएको हो । भोटेकोसी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाका अनुसार पुलपारिसम्म चीनबाट कन्टेनरमा सामान आउँछ ।

सुनकोसी नदीमा आएको बाढीले क्षति गरेको सिन्धुलीको फिक्कल र ओखलढुंगाको चम्पादेवी जोड्ने निर्माणाधीन पुल । तस्बिर : राजकुमार कार्की/कान्तिपुर

त्यहाँबाट स्थानीयले बोकेर कोदारी बजारसम्म सामान ल्याउँछन् । सडक डिभिजन चरिकोटका इन्जिनियर गोविन्द दुमरुले अरनिको राजमार्गको कोदारी खण्डमा ५० मिटर सडक भासिएकाले लिपिङमा पुगेर सडक–पुल मर्मत गर्ने अवस्था नरहेको बताए । बर्खालगत्तै जिर्ण बनेको पुलमा थप क्षति नहोस् भनेर व्यापारीले भत्किएको ठाउँमा त्रिपालले ढाकेका छन् ।

अविरल वर्षाले सडक–पुलमा क्षति गराएको यो एउटा उदाहरण मात्रै हो । मुख्य राजमार्गका पुराना पुल सामान्य प्राकृतिक प्रकोप वा अन्य कुनै धक्काले जुनसुकै बेला भत्किने अवस्थामा छन् । हरेक बर्खामा पुल भासिने, भत्किने र दुर्घटना हुने जोखिम छ । मुख्य राजमार्गमा करिब २ हजार र भित्री राजमार्गमा ४ सय पुल छन् । मुख्य राजमार्गका ८ सय पुल ४० वर्षभन्दा पुराना छन् । तिनैमध्ये पर्छ, चितवनको नारायणगढ–गैंडाकोट जोड्ने नारायणी नदीको पुल । यो पुल २०३८ सालमा सञ्चालनमा आएको हो । पुलबाट दिनमा करिब १५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । बल्ल नयाँ पुलको निर्माण प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको सडक विभागअन्तर्गतको पुल महाशाखाले जनाएको छ ।

पुल महाशाखाका अनुसार प्रत्येक वर्ष कम्तीमा ३/४ वटा ठूला पुलमा समस्या आउने गरेको छ । साँघुरो पुलमा मर्मत गर्नसमेत समस्या हुने गरेको छ । पुलमा समस्या आउनासाथ सवारी आवागमन रोक्नुपर्ने बाध्यता छ । महाशाखाले साढे दुई वर्षअघि नै पुरानामध्ये कम्तीमा ३ सय वटा पुलको मर्मत वा विस्थापन गर्नुपर्ने औंल्याएको थियो । यीमध्ये धेरैलाई मर्मत गरेर चलाइएको छ । केहीको नयाँ ठेक्का लागेको छ । ठूला पुल मर्मतमा मात्र बर्सेनि करोड रुपैयाँभन्दा बढी रकम खर्च हुने गरेको छ ।

पुराना पुल बढी पूर्व–पश्चिम राजमार्गमा छन् । काँकडभिट्टादेखि ढल्केबर खण्डका पुलमा बेलाबेला समस्या आउने गरेको छ । रुसले बनाएको पथलैयादेखि ढल्केबरसम्मका ५५ पुलमा भने बढी समस्या आउने गरेको सडक विभागले जनाएको छ । त्यहाँका प्रायः पुल सन् १९७४ मा हस्तान्तरण गरिएका हुन् । प्रायः पुराना पुल ‘सिंगल लेन’ (एकतर्फी सवारीसाधन गुड्ने) प्रकृतिका छन् । सडक भने २ लेनको छ ।

पुलमा ठूलो लगानी हुने भएकाले राम्रो अध्ययन गरेर मात्र ठेक्का लगाउनुपर्ने पूर्वभौतिक सचिव तुलसी सिटौला बताउँछन् । ‘डिजाइन गर्नेले सबै कुरा ख्याल गर्नुपर्छ,’ उनले भने, ‘निर्माण गर्नेले ठीक समयमा निर्माण नगरेर पनि समस्या आएको छ । हतारमा डिजाइन गर्ने प्रवृत्तिले निकै समस्या छ ।’ उनले क्षमताभन्दा बढी संख्यामा बनाउँदा पनि त्रुटि देखिने गरेको बताए । उनले ५० वर्षका लागि पुलको डिजाइन गरिने हुनाले पुराना पुल विस्थापन गर्नुपर्नेमा जोड दिए ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ खण्डस्थित दुधौरा पुलमा नयाँ ठेक्का लगाएर काम भइरहेको जानकारी दिए । ‘पथलैयादेखि कमलासम्म ७६ वटा नयाँ पुल निर्माण गर्दै छौं,’ उनले भने, ‘यो खण्डमा रसियनले ५५ र भारतले २१ वटा पुल बनाएका छन् । भारतले बनाएका पुलमा धेरै मर्मत गर्नुपरेको छैन, रसियनले बनाएका पुलमा बढी समस्या छ ।’ कोसीदेखि काँकडभिट्टासम्म करिब ४५ वटा पुल छन् । नारायणगढ–बुटवल खण्डमा ३३ वटा पुल छन् । थापाका अनुसार बुटवल–नारायणगढ सडक विस्तारसँगै यो खण्डका साना सबै पुल भत्काएर नयाँ बनाइँदै छ । ‘पुराना २० मिटरसम्मका पुल भत्काइएको हो,’ उनले भने, ‘एउटा पुलको ठाउँमा दुइटा निर्माण गर्न लागिएको छ ।’

महानिर्देशक थापाले सन् २०२४ भित्र मेचीदेखि बुटवलसम्म सबै नयाँ पुलको ठेक्का हुने दाबी गरे । बुटवल–नारायणगढ खण्डमा भने ठेक्का भएर काम सुरु भएको छ । कमलादेखि कञ्चनपुर खण्डमा पनि ठेक्का लागिसकेको थापाले बताए ।

पुल महाशाखाका उपमहानिर्देशक दीपक श्रेष्ठले पूर्व–पश्चिम राजमार्गमा धेरै पुराना पुलमा सवारी चलिरहेको जानकारी दिए । यसपालिको बाढीपहिरोले १५ र हावाहुरीले ३ वटा पक्की पुलमा क्षति पुगेको उनले बताए । हावाहुरीका कारण बन्दै गरेका पुलसमेत ढलेका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त पुलको एक महिनाभित्र प्रतिवेदन पेस गर्न पुल महाशाखाका उपमहानिर्देशक श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ । पुल महाशाखाले क्षतिबारे अहिलेसम्म खुलाएको छैन । नेपाल निर्माण व्यवसायी महासंघले भने १८ वटा पुलमा अनुमानित ५० करोड रुपैयाँको क्षति भएको जनाएको छ ।

पप्पुकै कब्जामा निर्माणाधीन पुल

हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमा निर्माणाधीन पक्की पुल सञ्चालनमा नआउँदै भासिएको छ । यो पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले लिएको हो । २४ करोड ९० लाख ९७ हजार रुपैयाँमा बनाउने यसको ठेक्का सम्झौता २०६८ जेठ ३१ मा भएको थियो । २०७१ मंसिरमा सम्झौताको म्याद सकिए पनि पुल बनिसकेको छैन । पुल कसरी भासियो भन्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन गर्दै छ । पप्पुले ठेक्का लिएर पुल भासिएको यो पहिलो घटना भने होइन । जहाँ पप्पु कन्स्ट्रक्सन जोडिन्छ, त्यहाँ केही न केही समस्या आइरहने सडक विभाग स्रोतले जनायो ।

पप्पुले एक्लै र अरूसँग मिलेर ठेक्का लिएका पुलमा कतै निर्माणको काम अघि बढ्न सकेको छैन भने कतै काम थालेर निर्माण अलपत्र छ । थोरै संख्यामा मात्र निर्माण सकिएको छ । बनिसकेका पुलको गुणस्तरमा समेत बारम्बार प्रश्न उठ्दै आएको छ । पप्पुले निर्माणको जिम्मा लिएको काठमाडौंको तीनकुनेको पुल समयमै नसक्दा र गुणस्तरीय काम नगर्दा ठेक्का तोडियो । पप्पुले नै निर्माण गरेको टेकु पुल सञ्चालनमा आउन सकेको छैन । उक्त पुल प्राविधिक रूपमा कमजोर रहेको भन्दै सडक विभागले सञ्चालनमा रोक लगाएको हो ।

सडक विभागअन्तर्गत पुल महाशाखाका अनुसार स्थानीय सडक पुलतर्फ ७ र रणनीतिकतर्फ २८ वटा पुलको ठेक्का पप्पुले एक्लै र अरूसँग मिलेर लिएको छ । पुलमा मात्र पप्पु संलग्न ठेक्का ७ अर्ब ७१ करोड ६८ लाख ३४ हजार रुपैयाँको छ । पप्पुले गर्दा नै आयोजना सम्पन्न हुन ढिलाइ भइरहेको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक रोहितकुमार बिसुरालले बताए । पप्पुले मात्र सिंगल ठेक्का लिएकामा लामो समय काम अलपत्र हुने गरेको उनको भनाइ छ । गुणस्तरहीन काम गरेको भन्दै २०७९ साउन १२ सम्मका लागि पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएको छ । यो अवधिमा उसले नयाँ ठेक्का पाउँदैन । पुराना चालु ठेक्कामा भने काम गर्न पाउँछ ।

प्रकाशित : असार २४, २०७८ ०७:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×