कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

लगातार चार दिन घट्यो नेप्से

काठमाडौँ — अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्सेले बुधबार पनि सोही प्रवृत्ति पछ्याएको छ । यसअनुसार बुधबार करिब १७ अंक घटेर समग्र नेप्से २ हजार ८ सय १.१३ अंकमा ओर्लिएको छ ।

लगातार चार दिन घट्यो नेप्से

अघिल्लो दिनको तुलनामा नेप्से ०.६० प्रतिशतले कम हो । गत आइतबार करिब साढे ६, सोमबार करिब १२ र मंगलबार ५.२४ अंकले नेप्से घटेको थियो ।

नेप्से परिसूचकसँगै अघिल्ला दिन कारोबार रकम पनि लगातार घटेको थियो । तर, मंगलबारको तुलनामा बुधबार कारोबार रकममा सामान्य सुधार भएको छ । बुधबार करिब ४६ हजार २ सय कारोबारबाट २ सय २२ कम्पनीका १ करोड १६ लाख ६४ हजार २ सय ७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा बढी हो ।

मंगलबार करिब ४६ हजार कारोबारबाट २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २ सय ९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । सोमबार ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यसअघि नेप्से निरन्तर बढिरहँदा दैनिक करिब २० अर्ब रुपैयाँसम्म कारोबार भएको छ ।

नेप्से घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३८ खर्ब ९६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो पुँजीकरण ३९ खर्ब २० अर्ब रुपैयाँ थियो । कोभिड–१९ को कारणले सिर्जित लकडाउनका कारण अर्थतन्त्रका अन्य गतिविधि ठप्प भएकाले लगानीकर्ता सेयर बजारमा भित्रिएका थिए । यही कारण सेयर बजारले उच्च गति लिएको थियो । अहिले आर्थिक वर्षको अन्तिम साता भएकाले पनि सेयर बजारमा उत्साह नदेखिएको जानकारहरू बताउँछन् ।

साउन पहिलो साता राष्ट्र बैंकले आगामी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिमा पुँजीबजार सम्बन्धमा के कस्तो नीतिगत व्यवस्था गर्छ त्यसका आधारमा पुँजीबजारको गति निर्धारण हुने जानकारहरूको भनाइ छ ।

बुधबार सेयर बजारमा कारोबारमा आएकामध्ये विकास बैंक र लघुवित्त उपसमूहबाहेक सबैको परिसूचक घटेको छ । तर, विकास बैंक उपसमूहको परिसूचक ०.२६ र लघुवित्तको ०.३८ प्रतिशतले बढे । नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेका कम्पनीहरूको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.२९ र व्यापारमा रहेका सबै कम्पनीहरूको सेयर कारोबार मापक फ्लोट परिसूचक ०.५३ प्रतिशतले घटे ।

प्रकाशित : असार २४, २०७८ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?