कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सातामा ४ लाख ४ हजार हेक्टरमा रोपाइँ

असार २२ सम्म ५६.६१ प्रतिशत रोपाइँ भए पनि अघिल्लो वर्षको सोही अवधिभन्दा ४ प्रतिशत कम
राजु चौधरी

काठमाडौँ — एक साताको अवधिमा २९.४९ प्रतिशत अर्थात् ४ लाख ४ हजार हेक्टरमा रोपाइँ भएको छ । असार १५ सम्म २७.१२ प्रतिशत (३ लाख ७१ हजार ९ सय ५८ हेक्टर) रोपाइँ भएकोमा २२ गतेसम्म थप साढे २९ प्रतिशत रोपाइँ भएको हो ।

सातामा ४ लाख ४ हजार हेक्टरमा रोपाइँ

मुलुकभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा रोपाइँ हुने कृषि विभागको तथ्यांक छ । यसमध्ये असार २२ सम्म ५६.६१ प्रतिशत अर्थात् ७ लाख ७६ हजार ४ सय ९० हेक्टरमा रोपाइँ भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा भने बर्खे बाली ६०.६६ प्रतिशत अर्थात् ८ लाख ३२ हजार १ सय ३३ हेक्टरमा रोपाइँ भएको थियो । यसपालि समयमै मनसुन सक्रिय भए पनि रोपाइँमा केही कमी आएको हो । गत वर्ष लकडाउनका कारण सर्वसाधारण गाउँ फर्किएकाले बढी रोपाइँ भएको विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेल बताउँछन् । बीउ राख्ने बेला पानी कम परेकाले पनि हिले बीउमा ढिलाइ भएपछि केही कमी देखिएको उनको भनाइ छ । ‘गत वर्ष रोपाइँ हुने क्षेत्रफलको ९८ प्रतिशतमा रोपाइँ भयो । अहिले मनसुन सक्रिय भएको छ, रोपाइँ पनि तीव्र चलेको छ,’ उनले भने, ‘अब आउने तथ्यांकमा रोपाइँको क्षेत्रफल बढ्न सक्छ ।’

तथ्यांकअनुसार बढी धान फल्ने तराई र मध्य पहाडमा गत वर्षको यही अवधिको तुलनामा रोपाइँ कम छ । उच्च पहाडमा भने रोपाइँ बढेको जनाइएको छ । उच्च पहाडमा ४८ हजार १ सय ९३ हेक्टरमा रोपाइँ हुन्छ, यसमध्ये ५६.७ प्रतिशतमा रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा उच्च पहाडमा ५३ प्रतिशत मात्रै रोपाइँ भएको थियो । मध्य पहाडमा ५३.६९ प्रतिशतमा रोपाइँ भएको छ । उक्त क्षेत्रमा ३ लाख ४६ हजार ९९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुन्छ ।

तराई क्षेत्रमा असार २२ सम्म ५७.६४ प्रतिशत रोपाइँ भएको छ । विभागका अनुसार तराई क्षेत्रमा ९ लाख ७७ हजार ४ सय १४ हेक्टरमा रोपाइँ हुन्छ । गत वर्ष असार २२ सम्म तराई क्षेत्रमा ६२.३८ प्रतिशत रोपाइँ भएको थियो । नेपालमा सबैभन्दा बढी मध्य, पूर्व र तराईमा बढी धान खेती हुन्छ । ७० प्रतिशत तराईमै उत्पादन हुन्छ । यसपालि औसतभन्दा बढी वर्षा हुने अनुमान छ । त्यसो हुँदा बर्खे धान लगाउने क्षेत्रफल बढ्न सक्ने जानकारहरू बताउँछन् । ‘उत्पादन बढाउन वैज्ञानिक तरिकाले धानको बीउ छान्नुपर्छ । त्यसो गर्दा १० देखि १५ प्रतिशतले धान उत्पादन बढ्छ । रोग लाग्ने सम्भावना पनि कम हुन्छ,’ धानविज्ञ भोलामानसिंह बस्नेतले भने, ‘ब्याड र बेर्ना राम्रो हुँदा उत्पादन स्वतः बढ्छ ।’ त्यसैले बर्खेभन्दा चैते धानलाई बढी जोड दिनुपर्ने उनको दाबी छ । ‘चैते धान फूल फुलेपछि ६ सय क्यालरीको हुन्छ । तर, बर्खे धानमा ५ सय क्यालरी हुन्छ,’ उनले भने, ‘खाद्य सुरक्षाका लागि चैते बाली वरदान हो । तर कम क्षेत्रफलमा यसको खेती हुन्छ ।’

विवरणअनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा ८३.८५ प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ३८ हजार ३ सय ८५ हेक्टरमा रोपाइँ हुन्छ । दोस्रोमा लुम्बिनी प्रदेशमा ८०.५० प्रतिशत रोपाइँ भएको छ । यहाँ ३ लाख ३ हजार ५ सय ९३ हेक्टरमा रोपाइँ हुन्छ । तेस्रोमा सुदूरपश्चिम प्रदेशमा ७५.५४ र वाग्मतीमा ६१ प्रतिशत रोपाइँ भएको छ । प्रदेश १ मा ४६.५८, प्रदेश २ मा ३९.२८ र सबैभन्दा कम गण्डकीमा ३०.५७ प्रतिशत रोपाइँ भएको कृषि विभागको तथ्यांक छ ।

प्रकाशित : असार २४, २०७८ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?