पाम तेल निकासी खुला- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

पाम तेल निकासी खुला

भारतले गत वर्ष मेमा नेपालबाट हुने पाम तेलको निकासी बन्द गरेको थियो
विनोद भण्डारी

विराटनगर — भारतले १५ महिनाअघि लगाएको पाम तेल पैठारी प्रतिबन्ध खुला गरेको छ । त्यहाँको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले सूचना प्रकाशन गर्दै पाम तेलको पैठारी डिसेम्बरसम्मका लागि खुला गरेको हो ।

भारतले गत वर्ष मेमा नेपालबाट हुने पाम तेलको निकासी बन्द गरेको थियो । सुनसरी मोरङ औद्योगिक क्षेत्रका आधा दर्जन उद्योग प्रभावित थिए । साफ्टा सुविधाअन्तर्गत नेपाल र बंगालदेशबाट तयारी पाम तेल भारत निकासी हुँदै आएकोमा डीजीएफटीले जारी गरेको परिपत्रमा पाम तेल आयातका लागि दिइएका ३९ वटा लाइसेन्स र लाइसेन्सका लागि परेका २३ वटा निवेदन खारेज गरेपछि पामको निकासी रोकिएको थियो ।

यहाँका स्वस्तिक आयल इन्डस्ट्रिज, बाबा भेजिटेबल, श्रीराम रिफाइनरी, क्वालिटी रिफाइनरी र पशुपति खाद्यतेल उद्योगले पाम तेल निकासी गर्दै आएका थिए ।

मलेसिया र इन्डोनेसियाबाट क्रुड पाम आयात गरी प्रशोधन गर्ने गरिएको छ । नेपालबाट वार्षिक २५ अर्ब रुपैयाँको पाम आयल निकासी हुँदै आएको थियो । विराटनगर नाकाबाट गत वर्ष १० महिनामा ६ अर्ब ७५ करोडको पाम आयल निकासी भएको थियो ।

१७ उद्योगमा ६० हजार टन पाम स्टकमा रहेको उद्योग संगठन मोरङ वरिष्ठ उपाध्यक्ष तथा राम रिफाइनका सञ्चालक प्रदीप मुुरारकाले बताए । निकासी बन्द भएपछि उद्योग बन्द भएको उल्लेख गर्दै क्वालिटी रिफाइनरीका सञ्चालक विपीन कावराले खुला गरेपछि बन्द रहेका उद्योग सञ्चालनको तयारीमा रहेको जनाए ।

यसअघि गत २०७७ पुस २२ बाट ४४ दिन तयारी पाम आयलको निकासी रोकिएको थियो । फागुन ९ गतेबाट विराटनगर भन्सारबाट पुन: निकासी सुरु भएको थियो । फागुनदेखि वैशाखसम्म एक अर्ब २२ करोडको क्रुड पाम आयल आयात भएर १ अर्ब ४३ करोड ७७ लाखको तयारी पाम आयल निकासी भएको थियो ।

प्रकाशित : असार २०, २०७८ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्

हराएका डेढ दर्जन सीमास्तम्भको भएन खोजी

विनोद भण्डारी

विराटनगर — मोरङमा डेढ दर्जन सीमास्तम्भ हराएका छन् । स्तम्भ भएको स्थानसमेत पत्ता लाग्न नसक्ने अवस्था देखिएको छ ।

विराटनगर–१८, भेडियारीमा सीमास्तम्भ (पिलर) नजिकै दशगजामा भारतीयले बनाएको घर । तस्बिर : जितेन्द्र/कान्तिपुर

हराएका र बाढीले बगाएका सीमास्तम्भ खोजी गरी नेपाल–भारत संयुक्त फिल्ड सर्भे टोलीले नयाँ निर्माण गर्नुपर्ने हो । कोभिड–१९ का कारण टोली आउन नसक्दा खोजी र निर्माणको काम हुन नसकेको सीमा अधिकारीको भनाइ छ ।

पश्चिममा केसलिया खोलादेखि पूर्वमा रतुवामाई खोलासम्म ६३ किलोमिटर सिमाना जोडिएको मोरङमा सानाठूला १ सय २३ वटा सीमास्तम्भ थिए । अघिल्लो वर्ष बक्राहा खोलाले दुइटा सहायक स्तम्भ बगाएको थियो । गत वर्ष पनि बक्राहा खोलाले रतुवामाई नगरपालिकाको सोनापुर क्षेत्रमा रहेका १५८/५, ११, १२, १३, १४ र १५ नम्बरका ६ वटा साना स्तम्भ बगाएको सशस्त्र सीमा सुरक्षा बल स्रोतले बताएको छ । मोरङमा २९ वटा मुख्य स्तम्भ, ३४ वटा सहायक, ५९ वटा साना स्तम्भ र एउटा रिफरेन्स स्तम्भ थिए ।

संयुक्त सर्भे टोली फिल्डमा आउन नसक्दा बाढीले गाएका र बेपत्ता भएका सीमास्तम्भ खोजी गर्ने र दशगजा क्षेत्रको अतिक्रमण हटाउने काममा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।‘डेढ दर्जन साना सीमास्तम्भ बेपत्ता छन् । दशगजा क्षेत्र अतिक्रमण गरेर घर टहरा बनाइएको छ,’ उनले भने, ‘यसबारे परराष्ट्र मन्त्रालयमा जानकारी पठाएका छौं ।’

दशगजा अतिक्रमण

भारतसँग जोडिएको विराटनगर महानगरपालिका १७ को दशगजा क्षेत्रमा मात्र एक सय ४ वटा घर टहरा निर्माण गरेर बसोबास गरेको पाइएको छ । जोगबनीको मुख्य नाकादेखि मटेरुवासम्मको करिब एक किलोमिटर दशगजा क्षेत्रमा नेपालतर्फ ६४ र भारततर्फ ४० वटा घर टहरा निर्माण गरेर बसोबास गरिएको छ ।

त्यही क्षेत्रको दशगजामा घर, टहरादेखि मन्दिर र मस्जिदसम्म निर्माण गरिएको छ । विराटनगर १७ को दशगजामा राम मन्दिर र १५ को दशगजामा दुर्गा मन्दिर बनाइएको छ । जोगबनीस्थित भारतको ल्यान्ड कस्टम अफिसको चेक पोस्ट र प्रहरी बिट पनि दशगजामै छ । विराटनगर १७ मा पर्ने दशगजामा भारतीय पक्षले मदरसा निर्माण गरेको छ ।

प्रकाशित : असार ११, २०७८ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×