कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सडक भास्सिएपछि तुइनबाट ढुवानी

अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिकाबाट चीन जोड्ने तातोपानी नाकाको सडकसहित लिपिङ पुल (घट्टे खोला पुल) भास्सिएपछि तुइनबाट सामान भित्र्याउन थालिएको छ । असार १ को बाढीले नेपाल–चीन सीमाको मितेरी पुलबाट केही दूरीमा रहेको कोदारी र तातोपानी बजार जोड्ने ३५ मिटर सडक भास्सिएको थियो । अहिले उक्त खण्ड जोड्न तुइन हालिएको हो ।

कोदारी स्वरोजगार युवा समाजका अध्यक्ष रमेश मगरका अनुसार लगातारको वर्षाका कारण पैदल हिँड्नसमेत मुस्किल भएपछि ४५ मिटरको तार जडान गरेर तुइनबाट व्यापारिक सामग्री ओर्सान थालिएको छ । चीनको खासाबाट तातोपानी लिपिङ हुँदै कोदारी बजारमा आएर थन्किएका दुई दर्जनभन्दा बढी कन्टेनर मेडिकल सामग्री र फलफूल ओसारिँदै गरिएको उनले बताए ।

‘तत्कालीन समस्यालाई टार्न तुइन प्रयोगमा ल्याएका हौं,’ उनले भने, ‘सडक सम्पर्क टुटेपछि यहाँको जनजीवन अस्तव्यस्त छ, यसलाई सहज बनाउन प्रयासरत छौं ।’ भूकम्पको चार वर्षपछि सञ्चालित तातापानी नाकाको एकतर्फी आयात बर्खामा उर्लिने भोटेकोसीले सीमावर्ती क्षेत्र कटान गर्दा प्रभावित हुँदै आइरहेको छ । जसका कारण यहाँको सडक पूर्वाधार र अन्य भौतिक संरचना दिनहुँ जीर्ण बन्दै गइरहेको छ ।

कोरोना महामारीका बीचमा केही कामदार र चालकमा संक्रमण देखिएपछि यो नाका केही समय बन्दसमेत हुनपुग्यो । भोटेकोसी चेम्बर अफ कमर्सका अध्यक्ष फुनु शेर्पाले तुइनबाट व्यापारिक सामग्रीबाहेक अरू सबै सेवा निःशुल्क गरिएको बताए । ‘व्यापारिकबाहेक अन्य सबै सेवा निःशुल्क गरिएको छ, यात्रुलाई तार्न र सडक, पुल जोगाउन सबै व्यापारी मिलेर त्रिपाल ओडाएर प्रयास गरेका छौं,’ उनले भने ।

प्रकाशित : असार १३, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?