कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

माथिल्लो तामाकोसीको परीक्षण उत्पादन आगामी साता

यसै साता न्यु खिम्ती सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने
विजय तिमल्सिना

काठमाडौँ — आगामी साता माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु हुने भएको छ । आयोजनाको सुरुङमा परीक्षण शनिबार मध्यराति सकिएको छ ।

माथिल्लो तामाकोसीको परीक्षण उत्पादन आगामी साता

योसँगै आयोजनाको अन्य प्राविधिक परीक्षण आज (आइतबार) देखि सुरु हुने आयोजनाका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘सुरुङ परीक्षण करिब करिब सकियो,’ उनले भने, ‘आइतबारदेखि अन्य प्राविधिक परीक्षण गरेर आगामी सातादेखि परीक्षण उत्पादन सुरु हुन्छ ।’

माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत्लाई न्यु खिम्ती सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । तामाकोसी करिडोरमा उत्पादित सबै विद्युत्लाई यही सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोड्ने प्राधिकरणको योजना छ । यसअघि तामाकोसीबाट उत्पादित विद्युत् खिम्ती सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोड्ने भनिएको थियो । तामाकोसी प्रसारण लाइन र न्यु खिम्ती सबस्टेसन निर्माणको काम बिहीबारसम्म सकिने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

प्राधिकरणको प्रणाली सञ्चालन विभागले शनिबार सूचना जारी गर्दै माथिल्लो तामाकोसीलाई राष्ट्रिय विद्युत् प्रणालीसँग जोड्ने क्रममा आइतबारदेखि एक साता खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने बताएको छ । यो प्रसारण लाइन बन्द हुँदा प्रणालीमा विद्युत् अपुग हुने भन्दै औद्योगिक ग्राहकहरूको लागि केही समय विद्युत् कटौती हुन सक्ने जनाइएको छ । परीक्षण सकिएलगत्तै आगामी साता पहिलो युनिटबाट परीक्षण उत्पादन गर्ने र हरेक साता थप एक युनिटबाट परीक्षण सुरु गर्ने आयोजनाको तयारी रहेको प्रवक्ता न्यौपानेले बताए । आयोजनामा ६ वटा युनिट छन् । हरेक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

निर्माण सुरु भएको करिब एक दशकपछि राष्ट्रिय गौरवको यो आयोजना परीक्षण उत्पादनको नजिक पुगेको हो । यसअघि भूकम्पबाट प्रभावित आयोजना ठेकेदारको लापरबाहीका कारण थप ढिला हुन पुगेको थियो । मुद्रास्फीति, निर्माणमा भएको ढिलाइ र बढ्दो डलर भाउका कारण आयोजनाको लागत ३५ अर्बबाट करिब ८० अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।

आयोजनामा पेनस्टक पाइप जडानसहित हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय कम्पनी टेक्सम्याकोले पाएको थियो । तर कम्पनीले समयमै एक्सपान्सन ज्वाइन्ट उत्पादन गर्न नसक्दा निर्माण सम्पन्न हुने मिति पर धकेलिएको भन्दै आयोजना व्यवस्थापनले डिजाइन संशोधन गरी काम अघि बढाएको थियो । डिजाइन संशोधन नगर्दा आयोजना निर्माण मिति कम्तीमा ६ महिनापछि धकेलिने भएपछि परामर्शदाता कम्पनीको सल्लाहमा आयोजना व्यवस्थापनले एक्सपान्सन ज्वाइन्टको डिजाइन संशोधन गरेको हो ।

२०७२ मा सक्ने लक्ष्य राखिए पनि निर्माणमा भएको ढिलाइले आयोजना तोकिएभन्दा पाँच वर्षपछि धकेलिएको हो । आयोजनाको निर्माण पूरा भई उत्पादन सुरु भएपछि वर्षायाममा नेपालले दैनिक ५ सय मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने प्राधिकरणको विश्लेषण छ । आयोजनामा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले लगानी गरेका छन् ।

प्रकाशित : असार १३, २०७८ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?