वैदेशिक व्यापारमा कोरोना असर देखिएन

११ महिनामा आयात, निर्यातसँगै व्यापार घाटा पनि बढ्यो
१२ खर्ब ६२ अर्ब व्यापार घाटा
राजु चौधरी

काठमाडौँ — कोरोना महामारीले चौतर्फी असर गरिरहँदा वैदेशिक व्यापारमा भने खासै असर गरेन । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा १५ खर्ब ४ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

वैदेशिक व्यापारमा कोरोना असर देखिएन

उक्त परिमाण सामान्य अवस्थासरह नै हो । गत आर्थिक वर्ष २०७६/७७ को यही अवधिमा ११ खर्ब ८८ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । जसको तुलनामा चालु आवको ११ महिनाको व्यापार २६.२५ प्रतिशतले बढी हो ।

वैदेशिक व्यापारमा भएको वृद्धिसँगै आयात र निर्यात पनि बढेको छ । गत आवको ११ महिनामा ११ खर्ब ८१ करोड रुपैयाँको आयात भएकोमा चालु आवमा २५.६७ प्रतिशतले बढेर १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँको आयात भएको तथ्यांक छ । निर्यात व्यापार पनि ३७.७८ प्रतिशतले बढेको छ । गत आवको ११ महिनामा ८८ अर्ब रुपैयाँको निर्यात भएकोमा यो आँकडा अहिले १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । विभागका अनुसार भटमास तेल (प्रशोधित) ले निर्यात बढाइदिएको हो । व्यवसायीहरूले ब्राजिल, अर्जेन्टिना, सिंगापुर र मलेसियाबाट भटमासको कच्चा तेल आयात गर्छन् । जसलाई प्रशोधन गरेर भारत निर्यात गरिन्छ । यस अवधिमा ४२ अर्ब ३४ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ ।

सबैभन्दा बढी निर्यात हुने सूचीको दोस्रो नम्बरमा सिन्थेटिक यार्न छ । गत साउनयता जेठसम्म ७ अर्ब १६ करोड रुपैयाँको सिन्थेटिक यार्न विदेश निकासी भएको छ । तेस्रोमा अलैंची छ । गत आवमा ३ अर्ब ४६ करोड रुपैयाँको अलैंची निर्यात भएकोमा चालु आवको ११ महिनामा ६ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको छ । ऊनीको गलैंचा कार्पेटको निर्यात ५ अर्ब ५० करोड रुपैयाँबाट बढेर ६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । तयारी कपडा ४ अर्ब ६३ करोड, फलफूलको जुस ३ अर्ब ८२ करोड, जुटबाट बुनिएका कपडा ३ अर्ब ७९ करोड रुपैयाँको निकासी भएको छ ।

आयातको हकमा पेट्रोलियम पदार्थ नै अगाडि छ । चालु आवको ११ महिनामा ७९ अर्ब ४५ करोड रुपैयाँको डिजेल आयात भएको छ । गत आवको यही अवधिमा यो आँकडा ७८ अर्ब २१ करोड रुपैयाँ थियो । आयात भएका वस्तुमध्ये दोस्रो नम्बरमा एमएस बिलेट छ । गत आवको तुलनामा झन्डै दोब्बरले यसको आयात भएको देखिन्छ । गत साउनयता जेठसम्म ६५ अर्ब ३९ करोड रुपैयाँको एमएस बिलेट भित्रिएको छ । जबकि गत आवको यही अवधिमा यो संख्या ३८ अर्ब २७ करोड रुपैयाँ थियो । भटमासको कच्चा तेल पनि उल्लेख्य रूपमा आयात भएको छ । गत आवको ११ महिनामा १६ अर्ब १६ करोड आयात भएकोमा चालु आवको ११ महिनामा ४५ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ ।

मोबाइल टेलिफोन आयातमा ३४ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको छ । गत आवको तुलनामा यो रकम दोब्बर हो । साउनयता ३३ अर्ब १५ करोड रुपैयाँको एलपी ग्यास, २८ अर्ब ८० करोड रुपैयाँको पेट्रोल, २७ अर्ब ७७ करोड रुपैयाँको तयारी कपडा र २६ अर्ब ४ करोड रुपैयाँको चामल भित्रिएको छ । निर्यातको तुलनामा आयात चुलिँदा व्यापार घाटा पनि बढेको छ । गत आवको ११ महिनामा १० खर्ब १२ अर्ब ८१ करोडको घाटा रहेकोमा चालु आवको यही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित : असार १०, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?