सेयरबाट लगानीकर्ताले साढे २ खर्ब कमाए

एघार महिनामा १३ अर्ब ३३ करोड रूपैयाँ कर उठ्यो, नेप्से परिसूचक र कुल बजार पुँजीकरण दोब्बरभन्दा बढी
यज्ञ बञ्जाडे

काठमाडौँ — चालु आर्थिक वर्षको एघार महिनामा सेयर बजारका लगानीकर्ताले करिब साढे २ खर्ब रुपैयाँ शुद्ध नाफा आर्जन गरेका छन् । यो गत साउनदेखि जेठसम्म लगानीकर्ताले सेयर बिक्रीमार्फत हात पारेको शुद्ध नाफा (२ खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ) हो । उक्त नाफाबाट लगानीकर्ताले औसत ५ प्रतिशत रकम पुँजीगत लाभकरका रूपमा सरकारलाई तिरेका छन् ।

सेयरबाट लगानीकर्ताले साढे २ खर्ब कमाए

जसअन्तर्गत गत जेठसम्म करिब १२ अर्ब १२ करोड रुपैयाँ पुँजीगत लाभकर तिरिएको देखिन्छ । करिब तीन दशकको पुँजी बजारको यात्रामा यसअघि एघार महिनामै पुँजीगत लाभकरमार्फत यति धेरै रकम सरकारलाई प्राप्त भएको थिएन ।

आर्थिक वर्ष २०७६/७७ मा सेयर कारोबारबाट लगानीकर्ताले करिब १९ अर्ब ६० करोड रुपैयाँ शुद्ध नाफा आर्जन गरेका थिए । सेयर कारोबारमा नाफा भएको अवस्थामा व्यक्तिगत लगानीकर्ताले नाफाको ५ प्रतिशत र संस्थागत लगानीकर्ताले १० प्रतिशत लाभकर तिर्नुपर्छ । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले भने कर तिर्नु पर्दैन । कुल सेयर कारोबारमा अधिकांश हिस्सा व्यक्तिगत लगानीकर्ताको छ भने संस्थागतको संख्या न्यून छ । यसकारण संस्थागत र व्यक्तिगत लगानीकर्ताले तिरेको करको दरलाई औसत ५ प्रतिशत मानेर यहाँ पुँजीगत लाभकर विश्लेषण गरिएको हो । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले एक वर्षभन्दा बढी र कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्ताका लागि करको दर परिवर्तन गरेको छ । जसअनुसार एक वर्षभन्दा बढी समयमा सेयर बिक्री गर्ने लगानीकर्ताले नाफाको ५ प्रतिशत र कम अवधिमा बिक्री गर्नेले नाफाको साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।


चालु आर्थिक वर्षको ११ महिनामा सेयर बजारबाट मात्र करिब १३ अर्ब ३३ करोड रुपैयाँ कर संकलन भएको छ । यो गत साउनदेखि जेठसम्म सेयर बजारका लगानीकर्ता तथा धितोपत्र व्यवसायीले पुँजीगत लाभकर र अग्रिम कर कट्टीबापत तिरेको कर हो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा संकलन भएको कर करिब १३ गुणा बढी हो । गत आर्थिक वर्षमा सेयर बजारबाट १ अर्ब १७ करोड रुपैयाँ मात्र कर संकलन भएको थियो ।

यो वर्ष सेयर बजारबाट करमार्फत सरकारलाई गएको रकम हालसम्मकै उच्च हो । अघिल्ला वर्षमा बजारमा सामान्य वृद्धि मात्र रहेकाले लगानीकर्ताले धेरै नाफा कमाउन पाएका थिएनन् । यो वर्ष बजार निरन्तर बढिरहेको छ । सोही कारण करबापतको रकम पनि बढेको नेप्सेले जनाएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा सेयर बजारबाट १ अर्ब ७७ करोड रुपैयाँ कर संकलन भएको थियो । त्यतिबेला नेप्से परिसूचक १ हजार ७ सय बिन्दुको हाराहारीमा थियो । आर्थिक वर्ष २०७३/७४ मा यस्तो कर बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुग्यो । सो अवधिमा नेप्से परिसूचक भने केही घटेर १ हजार ५ सय ८२ बिन्दुमा थियो । चालु आर्थिक वर्षको ११ महिनामा लगानीकर्ताको सम्पत्ति (बजार पुँजीकरण) अघिल्लो वर्षको तुलनामा करिब २२ खर्ब रुपैयाँले बढेको छ । जसअनुसार गत जेठसम्म लगानीकर्ताको कुल सम्पत्तिको बजार मूल्य (कुल बजार पुँजीकरण) ४२ खर्ब १६ अर्ब रुपैयाँ छ ।

प्रकाशित : असार १०, २०७८ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?