लगातार घट्यो नेप्से

पाँच दिनमा २ सय अंक गिरावट, सेयर बजार र कुल बजार पुँजीकरण २ खर्ब ३४ अर्बले खुम्चियो

काठमाडौँ — सेयर कारोबार मापक नेप्सेमा सोमबार पनि भारी गिरावट आएको छ । अघिल्ला चार कारोबार दिनयता निरन्तर घटिरहेको बजारमा सोमबार पनि सोही प्रवृत्तिले निरन्तरता पाएको हो । तर सोमबारको गिरावट दर पछिल्ला ५ दिनयताकै उच्च छ ।

लगातार घट्यो नेप्से

यस दिन नेप्से ७१.०६ अंकले घटेर २ हजार ८ सय ३४.४० बिन्दुमा रोकिएको छ । अघिल्लो दिनको तुलनामा यो करिब २.४५ प्रतिशतले कम हो । त्यस दिन पनि कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको थियो । आइतबार नेप्से ६३ अंकले घटेर २ हजार ९ सय ५ बिन्दुमा पुगेको थियो ।

नेप्से घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि २ खर्ब ३४ अर्ब ५७ करोड रुपैयाँले खुम्चिएको छ । गत मंगलबार कुल बजार पुँजीकरण ४१ खर्ब ७२ अर्ब रुपैयाँ रहेकोमा सोमबारसम्म यो घटेर ३९ खर्ब ३७ अर्ब रुपैयाँ कायम भएको नेप्सेको तथ्यांक छ । यसको अर्थ लगानीकर्ताको सम्पत्ति घट्यो भन्ने पनि हो । नेप्सेमा सूचीकृत कुल सेयर संख्यालाई सोही दिनको बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण निकालिन्छ । यस कारण यो पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य पनि बढ्ने र कमी आउँदा सम्पत्ति घट्ने रूपमा विश्लेषण गरिन्छ ।

पछिल्ला ५ कारोबार दिनमा नेप्से करिब १ सय ९२ अंकले घटेको छ । गत बिहीबार नेप्से १.२९ अंक, बुधबार ५२.४१ र मंगलबार ३.७२ अंकले घटेको थियो । नियामक निकाय धितोपत्र बोर्डले गत मंगलबार चार दर्जन बढी (५१ वटा) जोखिमयुक्त कम्पनीको नामावली सार्वजनिक गरेपछिका सबै कारोबार दिनमा नेप्से घटेको छ । कम्पनीको अवस्था राम्रो नभएका सेयरहरूमा अस्वाभाविक मूल्य वृद्धि भएको तथ्यका आधारमा जोखिमयुक्त भन्दै बोर्डले ती कम्पनीको नामावली सार्वजनिक गरेको थियो । त्यसो त सेयर बजारमा भएको उच्च वृद्धि प्राकृतिक र स्वाभाविक नभएको बोर्डको एक अध्ययनले पनि देखाएको छ । सबै पक्षबाट राम्रो अवस्था नभएका धेरै कम्पनीका सेयर मूल्य उच्च अंकले बढेकाले बजारको वृद्धि अस्वाभाविक देखिएको निष्कर्ष अध्ययन प्रतिवेदनले निकालेको छ ।

सोमबार करिब १ लाख ३० हजार ४ सय कारोबारबाट २ सय २७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २० करोड रुपैयाँले कम हो । आइतबार सेयर बजारमा ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन कारोबारमा आएकामध्ये १७ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ९८ वटाको घट्यो । बाँकी १२ वटा कम्पनीको स्थिर छ ।

लकडाउन खुकुलो भएपछि खुलेको सेयर बजार निरन्तर बढिरहेको थियो । बढ्दो बजारमा चलखेल तथा भित्री कारोबार पनि निकै बढेको बताइएको छ । सोही कारण बोर्डले गत मंगलबार जोखिमयुक्त कम्पनीको नामावली सार्वजनिक गरेको थियो । त्यसको असर बजारमा परेकाले नेप्से निरन्तर घटेको जानकारहरू बताउँछन् । बोर्डले भने जोखिमयुक्त कम्पनीको कारोबारबारे सूक्ष्म अध्ययन भइरहेकाले दोषी पाइए कानुनबमोजिम कारबाही गरिने बताउँदै आएको छ ।

सोमबारको कारोबारमा पनि सबै समूहगत परिसूचक घटेका छन् । जसमध्ये बैंकिङ उपसमूहको परिसूचक १.७७, व्यापारको ०.७७, होटल तथा पर्यटनको ४.५१, विकास बैंकको ४.६, जलविद्युत्को ५.२, वित्त कम्पनीको ५.१८ र निर्जीवन बिमाको २.८९ प्रतिशतले घटेको छ । यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.८१, अन्यको २.४, लघुवित्तको १.९९, जीवन बिमाको २.५१, सामूहिक लगानी कोषको १.३८ र लगानी समूहको ०.४८ प्रतिशतले घटेको नेप्सेको तथ्यांक छ ।

प्रकाशित : असार ८, २०७८ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?