१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

इन्धन तस्करी रोक्न एकीकृत योजनाको सुझाव

काठमाडौँ — सीमा क्षेत्रमा हुने इन्धनको तस्करी रोक्न सरोकारवालाले एकीकृत कार्ययोजना बनाउन सुझाव दिएका छन् । पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था, कालोबजारी नियन्त्रणको अवस्था, गुणस्तर अनुगमनको विषयमा नेपाल आयल निगमले आइतबार गरेको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसहितको एकीकृत योजना बनाउन सुझाव दिएका हुन् । 

इन्धन तस्करी रोक्न एकीकृत योजनाको सुझाव

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री राजकुमार ओझा, प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहाका प्रमुख जिल्ला अधिकारी, प्रदेश १ र प्रदेश २ का प्रहरी प्रमुखसहित भएको छलफलमा मुख्यतः ७ सुझाव दिइएको निगमले जनाएको छ । ‘नेपाल–भारत सीमा क्षेत्रमा हाल कायम रहेको मूल्यको भिन्नताका कारण हुन सक्ने पेट्रोलियम प्रदार्थको तस्करी नियन्त्रण गर्ने एकीकृत कार्ययोजना बनाई अघि बढ्नेछौं,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने ।

उनका अनुसार अन्तरदेशीय सीमाको नजिक निगमका आधिकारिक पेट्रोलियम विक्रेता नियुक्ति गर्ने मापदण्डहरू तय गर्ने पनि सुझाव दिइएको छ । तस्करी नियन्त्रण गर्न हुलाकी राजमार्ग आसपास सीमा क्षेत्रमा पम्प सञ्चालन गर्न दिन नहुने, निगम आफैंले सञ्चालन गर्नेसम्मको सुझाव आएको छ । यीबाहेक अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भए स्वचालित मूल्य प्रणालीअनुसार समायोजन हुनुपर्ने पनि सुझाइएको छ । ‘सीमामा कडाइ भइरहेकै छ, अब थप कडाइ गर्नका लागि एकीकृत योजनाको सुझाव हो,’ उनले भने । निगमका अनुसार मेचीदेखि महाकालीसम्म १० किलोमिटरभित्र करिब ५ सय पम्पहरू छन् ।

ती पम्पहरूलाई आवश्यकताअनुसार मर्ज गर्ने, आधुनिकीकरण गर्ने र पेट्रोलियम पदार्थको बिक्री वितरण प्रणालीलाई सूचना प्रणालीसँग जोड्नका लागि नीतिगत व्यवस्था गर्नसमेत भनिएको छ । पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने मर्जको सन्दर्भमा छलफल नभएको बताए । ‘यो विषयमा छलफल भएको छैन । हामीलाई कुनै जानकारी पनि छैन,’ उनले भने ।

प्रकाशित : असार ८, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?