कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

लघु जलविद्युत्‌मा क्षतिले गाउँ अन्धकार

गोरखा — चुमनुब्री गाउँपालिका–३ जगत्को लघु जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याउँदा विद्युत् उत्पादन बन्द भएको छ । शुक्रबार राति आएको भालुवन खोलाको बाढीले लघु जलविद्युत्को टर्बाइनमा क्षति पुगेपछि बस्ती नै अन्धकारमय भएको हो ।

३८ किलोवाट क्षमताको लघु जलविद्युत्बाट उत्पादित बिजुली जगत्का ३२, सल्लेरीका २६ र भालुवनका १५ घरधुरीले प्रयोग गर्दै आएका थिए । विद्युत् सेवा अवरुद्ध हुँदा फोन सम्पर्क गर्नसमेत समस्या परेको स्थानीय वीरबल घलेले बताए । ‘बिजुली छ भनेर मैनबत्तीको पनि जोहो भएन, तेल पनि छैन, सोलार पनि कोही–कोहीको घरमा मात्र हो,’ उनले भने, ‘सल्लेरीका स्थानीय विस्थापित भएर पखेरामा पाल टाँगेर बसेका छन्, बिजुली पनि नभएपछि सारै समस्या पर्‍यो ।’ विस्थापित भएका सल्लेरीका स्थानीय त्रिपालमा अन्धकारमा बस्न बाध्य छन् ।

उक्त लघु जलविद्युत् १० वर्षअघि कादुरी नामको संस्थाले निर्माण गरेको हो । तत्कालै टर्बाइन मर्मतको सम्भावना नदेखिएको स्थानीयले बताए । ‘हेलिकप्टरबाट तल ल्याएर बनाउनुपर्छ भनेर प्राविधिकले भनेका छन्,’ घलेले भने, ‘बाटो पनि सबै पहिरोले अवरुद्ध छ ।’ उनका अनुसार भालुखोलाबाटै उत्पादित डेढ सय किलोवाट क्षमताको बिजुली जगत्, सल्लेरी र भालुवनमा वितरणका लागि पहल भइरहेको छ ।

प्रकाशित : असार ७, २०७८ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?