मूल्य वृद्धिको कारक अधिक बजार तह

अधिकतम ३–४ तह हुँदा आपूर्ति प्रणाली चुस्त हुन्छ तर ६ तहसम्म कारोबार हुने गरेको सरकारी अनुगमन टोलीले फेला पारेको छ

काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मूल्य वृद्धि हुनुको प्रमुख कारण ‘बजार तह’ रहेको निष्कर्ष निकालेको छ । वस्तुको उत्पादनपश्चात् नाफा बढाउन विभिन्न तह निर्माण गरिँदा बजार भाउ उकालो लाग्ने गरेको विभागको दाबी छ ।

मूल्य वृद्धिको कारक अधिक बजार तह

उत्पादकदेखि उपभोक्तासम्म आइपुग्दा बनेका तह र विभिन्न प्राकृतिक तथा मानवीय संकटमा यी निकायहरू सल्बलाउँदा उपभोक्तालाई चर्को भार परिरहेको छ ।

वाणिज्य विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमको उच्चस्तरीय संयुक्त अनुगमन टोलीले विभिन्न जिल्लामा गरेको अनुगमन र निरीक्षणमा पनि मूल्य वृद्धिको कारक बजार तह नै देखिएको वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । संयुक्त टोलीले धादिङको धुनीबेंसी, नौबिसेदेखि चितवनको मुग्लिङ, मकवानपुर, बारा, पर्साका विभिन्न एलपी ग्यास उद्योग र पेट्रोल पम्प, घिउ, तेल, दाल तथा चामल उत्पादन उद्योगहरूमा निरीक्षण गरेको थियो । त्यसक्रममा उत्पादन र आपूर्तिको अवस्था सहज रहे पनि बजार तहकै कारण केही समस्या देखिएको पाइएको उनको भनाइ छ ।

‘विस्तृत रिपोर्ट तयारी गर्ने क्रममा छौं । केही उद्योगबाट थप डकुमेन्ट पनि मगाएका छौं,’ महनिर्देशक पौडेलले भने, ‘निषेधाज्ञाको क्रममा अत्यावश्यक वस्तुको उत्पादनमा समस्या देखिएन । मूल्य वृद्धि बढ्नुको मुख्य एउटा कारण तह नै हो ।’ अनुगमनका क्रममा मुनाफा राख्नकै लागि केही तेल कम्पनीमा ६ तहसम्म देखिएको उनले बताए । जबकि खाद्यवस्तुको हकमा ६ तह आवश्यक नभएको विभागले जनाएको छ । ‘अधिकतम ३–४ तह हुँदा आपूर्ति प्रणाली चुस्त हुन्छ । तर बजारमा धेरै तह देखियो,’ उनले भने, ‘त्यो हुँदा तह/तहलाई कमिसन/नाफा राख्दा भाउ थप बढ्न पुग्यो ।’ केही वस्तुमा अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेको छ । लागत बढेर सोहीअनुसार मुनाफाको प्रतिशत बढाउँदा पनि खुद्रामा थप मूल्य बढिरहेको विभागले जनाएको छ ।

उद्योगले मूल्य बढाएपछि खुद्रासम्म आइपुग्दा बीचका सबै तहले मूल्य बढाउँछन् । कुन तहले कति प्रतिशत नाफा राख्ने यकिन नहुँदा बजारमा समस्या उत्पन्न भएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ मा पनि एमआरपी, बजारको तह र नाफा तोक्नुपर्ने उल्लेख गरिएको छ । तर हालसम्म कुनै प्रगति भएको छैन ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन पनि मूल्य बढ्नुको एउटा कारण बजार तह भए पनि अर्को सरकार र व्यापारीको साँठगाँठ रहेको दाबी गर्छन् । ‘बजार तहले २५ प्रतिशत मूल्य बढाउँछ भने व्यापारी र सरकारको नेतृृत्वको साँठगाँठले ५० प्रतिशतसम्म बढाउँछ,’ महर्जनले भने, ‘अर्को २५ प्रतिशत प्राकृतिक रूपमै बढ्छ ।’ पछिल्लो समय चिनीमा मूल्य बढ्नुपर्ने कुनै कारण थिएन ।

प्रकाशित : असार ७, २०७८ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?