३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

विदेशी लगानी घटेको घट्यै

चालु आर्थिक वर्षका १० मध्ये नौ महिनामा विदेशी लगानी घट्यो
यज्ञ बञ्जाडे

काठमाडौँ — नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) घट्ने क्रम गत वैशाखमा पनि जारी रह्यो । जसअनुसार गत वैशाखसम्ममा १४ अर्ब ८ करोड रुपैयाँ एफडीआई मुलुक भित्रिएको छ । अघिल्लो वर्षको दस महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रिएको विदेशी लगानी १९.२ प्रतिशतले कम हो ।

विदेशी लगानी घटेको घट्यै

२०७७ वैशाखसम्म १७ अर्ब ४२ करोड रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो । विदेशी लगानीको घट्दो प्रवृत्तिलाई विश्लेषकहरूले कोभिड–१९ को प्रभावसँग जोडेर हेरेका छन् । संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर देखिएको उनीहरूको विश्लेषण छ ।

कोभिड–१९ को असरका कारण विदेशी लगानी पनि प्रभावित बनेको राष्ट्र बैंक अनसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठ बताउँछन् । ‘अघिल्ला महिनाको तुलनामा अहिले विदेशी लगानी घट्ने दरमा कमी हुँदै आएको छ,’ उनले भने, ‘यसअघि ३७ प्रतिशतसम्मले घटेको लगानी गत वैशाखमा १९ प्रतिशतमा झरेको छ । यसलाई सुधारका रूपमा लिनुपर्छ ।’ कोभिड–१९ महामारीको अवस्थामा यति लगानी आउनुलाई पनि सन्तोषजनक मान्नुपर्ने उनले बताए । यसअघि लगानी सम्मेलनमा प्रतिबद्धता गरिए पनि अवस्था सामान्य नभएकाले लगानी नआएको उनले दाबी गरे ।

तर राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले तत्कालका लागि विदेशी लगानी घट्नुको कारण कोभिड–१९ देखिए पनि नेपालको संरचनागत र प्रक्रियागत अवरोध मुख्य कारण भएको औंल्याए । ‘यो त एकातिर लगानी गर्न आऊ हामी स्वागत गर्छौं भन्ने, अर्कातिर के देखाएर तर्साउने भनेजस्तो भयो,’ उनले भने, ‘विधिगत र संस्थागत विषयमा तालमेल भएन । विभिन्न आकर्षण घोषणा गर्ने तर तिनलाई कार्यान्वयन नगर्ने प्रवृत्ति हाबी भयो ।’ लगानीमैत्री वातावरणका लागि अझै पनि धेरै प्रक्रियागत अवरोध रहेको देखिएको छ । ती समस्या समाधान गर्नकै लागि लगानी बोर्ड र उद्योग विभागमा एकद्वार प्रणालीको सुरुवात भयो । ती प्रयासहरू पनि पर्याप्त नभएकाले अपेक्षित रूपमा विदेशी लगानी भित्रिन नसकेको उनले आरोप लगाए । नीति निर्माता र कर्मचारीतन्त्रबीच तालमेल नभएकै कारण समस्या निम्तिएको उनले ठहर छ ।

‘नीति निर्माताले जसरी भए पनि धेरै लगानी भित्र्याउन खोज्ने तर कर्मचारीतन्त्रले पुरानै प्रक्रिया नछोड्ने, रिजल्टभन्दा प्रक्रियालाई बढी प्राथमिकता दिने प्रवृत्ति कायम छ । यो पनि समस्या बनेको छ,’ उनले भने । पछिल्लो समयमा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि निश्चित समूहभन्दा बाहेककालाई लगानीका लागि अवरोध भएको उनले आरोप लगाए । ‘केपी ओली प्रधानमन्त्री भएपछि तोकिएको सर्कलभन्दा बाहिरका मान्छे लगानीमा छिर्न नसक्ने अवस्था देखिएको छ,’ उनले भने, ‘कतिपय लगानीकर्ताले आफूहरू त्यो सर्कलमा नपरेकाले लगानी गर्न नसक्ने बताउँदै आएका छन् ।’

कोभिड–१९ का कारण विश्वव्यापी रूपमा विदेशी लगानी घटिरहेको, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ लगानीकर्ताको अपेक्षाविपरीत (अनुदार) आउनु र विदेशी लगानीको सीमा (थ्रेसहोल्ड) ५० लाख रुपैयाँबाट बढाएर न्यूनतम ५ करोड रुपैयाँ पुर्‍याउनुलगायत कारण विदेशी लगानी घटेको जानकारहरू बताउँछन् ।

गत आर्थिक वर्षका सबै महिनामा उच्च दरले बढेको विदेशी लगानी चालु आर्थिक वर्षको सुरुकै महिनामा घटेको थियो । जसअनुसार गत साउनमा विदेशी लगानी ३.३ प्रतिशतले घटेर १ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको थियो । भदौसम्ममा विदेशी लगानी २३.३ प्रतिशत बढेर २ अर्ब ४४ करोड रुपैयाँ भित्रियो । तर असोजसम्ममा यस्तो लगानी २६.८, कात्तिकमा २४, मंसिरमा साढे ३१, पुसमा ३७.२, माघमा ३७.३, फागुनमा ३४.८, चैतमा २५ र वैशाखसम्ममा १९.२ प्रतिशतले घटेको छ । पछिल्ला वर्षमा नेपाल भित्रिने विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

लगानीको सम्भावना राम्रो रहेको, प्रतिफलको सुनिश्चितता भएको, पुनर्कर्जासँगै अन्य सहुलियत कर्जाको उपलब्धतालगायत कारण विदेशी लगानीकर्ता जलविद्युत् क्षेत्रमा आकर्षित देखिएको जानकारहरू बताउँछन् । लगानीका लागि अझै पनि जग्गा प्राप्ति, स्थानीय निकायको किचलोलगायत थुप्रै व्यावहारिक कठिनाइ छन् । यही कारण विदेशी लगानीकर्ता स्वस्फूर्त रूपमा आउन सकेका छैनन् । व्यावहारिक जटिलता न्यूनीकरण नगरेसम्म अपेक्षित रूपमा विदेशी लगानी भित्रिन नसक्ने उनीहरूको भनाइ छ ।

प्रकाशित : असार ७, २०७८ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?