कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बाढीपहिरोले जलविद्युत् क्षेत्रमा १० अर्बको क्षति

दुई दिन साढे ५ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएन
विजय तिमल्सिना

काठमाडौँ — सातायताको लगातारको वर्षाले निम्त्याएको बाढीपहिरोका कारण दर्जनौं जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीपहिरोले वाग्मती र गण्डकी प्रदेशका जलविद्युत् आयोजना बढी प्रभावित भएका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ ।

बाढीपहिरोले जलविद्युत् क्षेत्रमा १० अर्बको क्षति

बाढीपहिरोले पुर्‍याएको क्षतिको यकिन तथ्यांक नआएको भए पनि निजी क्षेत्रका जलविद्युत् आयोजनामा करिब १० अर्बको क्षति भएको इप्पान अध्यक्ष कृष्ण आचार्य बताउँछन् ।

‘बाढीले आयोजनाको भौतिक संरचनामा क्षति पुर्‍याउनेबाहेक पनि केही आयोजना बन्द गर्नुपर्ने भएकाले ऊर्जा बिक्रीबाट प्राप्त हुने आम्दानी पनि गुमेको छ,’ उनले भने, ‘केही निर्माणाधीन आयोजना पूरा गर्न थप समय लाग्ने अवस्था सिर्जना भएको छ ।’ केही विद्युत् आयोजनामा पुग्ने पहुँच मार्गसमेत बाढीले बगाएका कारण आयोजनास्थलसम्म पुग्नै नसकिने स्थिति पनि रहेको उनले जनाए । ‘प्रत्यक्ष र अप्रत्यक्ष सबै क्षतिको आकलन गर्न केही समय लाग्छ,’ उनले भने, ‘अहिले १० अर्ब जतिको क्षति भएको प्रारम्भिक अनुमान छ ।’

उनका अनुसार बाढीका कारण दोर्दी करिडोरका दोर्दी खोला, सुपर दोर्दी, अपर दोर्दीसहित ५ वटै विद्युत् आयोजनामा क्षति पुगेको छ । यस्तै, मादी करिडोरका मादी, सुपर मादी, अपर मादी जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । अन्य दर्जनभन्दा बढी आयोजनामा पनि बाढी पसेर इन्टेक अवरुद्ध भएको छ । ‘सबै विद्युत् आयोजना नदीछेउमै हुने भएकाले बाढीले बढी प्रभावित भएका छन्,’ उनले भने, ‘अहिले सबैतिर भएको क्षति विवरण आइसकेको छैन ।’

बाढीपहिरोका कारण दुई दिन राष्ट्रिय प्रणालीमा साढे ५ सय मेगावाट विद्युत् जोडिन नसकेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए । उनका अनुसार मंगलबार र बुधबार बाढीपहिरोका कारण आयोजनाहरू प्रभावित हुँदा जडित क्षमताभन्दा साढे ५ सय मेगावाट कम विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको थियो । बाढीपहिरोका कारण आन्तरिक विद्युत् उत्पादन पनि प्रभावित भएको छ । हाल निजी क्षेत्रका आयोजनाबाट ४ सय ६० मेगावाट र प्राधिकरणका आयोजनाबाट ४ सय २५ मेगावाट विद्युत् उत्पादन भइरहेको उनले जनाए । अहिले पनि प्राधिकरणअन्तर्गतका केही आयोजनाहरूमा उत्पादन केही घण्टा अवरुद्ध हुने समस्या रहेको उनले बताए । ‘उत्पादन प्रभावित हुँदा अहिले कुलेखानी जलाशययुक्त आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छ,’ उनले भने, ‘बाढी आउँदा इन्टेकमा लेदो र फोहोर जम्मा भएकाले धेरै आयोजनाको उत्पादन प्रभावित भएको थियो । त्यसमध्ये केही आयोजना पुनः सञ्चालनमा आए पनि केही अझै प्रभावित छन् ।’

उनका अनुसार मर्स्याङ्दी, कालीगण्डकीसहितका आयोजनामा क्षति पुगेको छ । बाढीले क्षति पुर्‍याएको तल्लो मर्स्याङ्दीमा हाल मर्मतको काम भइरहेको छ । ‘अहिले सञ्चालन भइरहेका प्रसारण लाइनमा भने धेरै समस्या आएको छैन,’ उनले भने । निर्माणाधीन दोर्दी करिडोर १३२ केभी प्रसारण लाइनमा भने क्षति पुगेको छ । यसअन्तर्गतका ४ वटा टावर लमजुङमा खोलाले बगाएको उनले बताए । ‘अन्य केही टावरहरूमा पनि क्षति पुगेको जानकारी आएको छ,’ उनले भने । वितरण लाइनतर्फ भने सिन्धुपाल्चोक, कास्कीसहित विभिन्न जिल्लाका पोलहरूमा क्षति पुगेकाले विद्युत् वितरण प्रभावित भएको उनले बताए ।

बाढीपहिरोका कारण विद्युत् आयोजना प्रभावित भएको भन्दै इप्पानले तत्काल आयोजनास्थलसम्म पुग्ने पहुँचमार्ग पुनर्निर्माण गर्न माग गरेको छ । इप्पानले क्षति पुगेका आयोजनालाई बिमाको भुक्तानीका लागि पनि सहजीकरण गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित : असार ६, २०७८ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?