१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सेयर कर्जा एक वर्षमै दोब्बर

धितोमा ९९ प्रतिशत बढ्यो, एक करोड रूपैयाँभन्दा धेरैको कर्जा ६८ प्रतिशत, प्राथमिक पुँजीको २१ प्रतिशत पुग्यो
यज्ञ बञ्जाडे

काठमाडौँ — एक वर्षमा बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा बढाएर करिब दोब्बर पुर्‍याएका छन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रवाह गरेको कर्जाको वृद्धिदरमध्ये यो सबैभन्दा बढी हो ।

सेयर कर्जा एक वर्षमै दोब्बर

यो बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीका सेयर धितो राखेर प्रवाह गरेको कर्जा हो, जसअनुसार गत वैशाखसम्म सेयर धितोमा कुल ९४ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २०७७ वैशाखको तुलनामा गत वैशाखसम्म यस्तो कर्जा ४६ अर्ब ९७ करोड रुपैयाँ (९९.१८ प्रतिशत) ले बढी हो । गत आर्थिक वर्षको वैशाखसम्म यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले करिब ४७ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

पहिलो र दोस्रो लहरको कोरोना संक्रमणका कारण चालु आर्थिक वर्षका अधिकांश महिना अर्थतन्त्रका धेरै क्षेत्र ठप्प रहे । जसकारण ती क्षेत्रबाट कर्जा माग हुन सकेको छैन । तर, सेयर बजार भने निरन्तर रूपमा उकालो लागिरहेको छ । यही अवसरको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा विस्तार गरेको जानकारहरू बताउँछन् । गत असारको तुलनामा पनि वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा ८७ प्रतिशतले बढाएका छन् । यो पनि सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले विविध क्षेत्रमा प्रवाह गरेको कर्जाको वृद्धिदरभन्दा उच्च हो । २०७७ असारसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ५० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा प्रवाह गर्ने कर्जालाई २५ लाख रुपैयाँभन्दा कम, २५ देखि ५० लाख रुपैयाँसम्म, ५० लाखदेखि १ करोड रुपैयाँसम्म र एक करोड रुपैयाँभन्दा बढी गरी चार वर्गमा वर्गीकरण गरिएको हुन्छ । यसका आधारमा यो क्षेत्रमा प्रवाह भएको कुल कर्जामध्ये सबैभन्दा धेरै (करिब ६८ प्रतिशत) एक करोड रुपैयाँभन्दा धेरैको छ । यसले सेयर बजारमा ठूलो व्यापारी वा व्यावसायिक घरानाकै प्रभुत्व रहेको पुष्टि हुन्छ । सेयर बजारमा बैंकले प्रवाह गरेको कुल कर्जाको करिब १२ प्रतिशत ५० लाख देखि १ करोड रुपैयाँसम्मको, करिब १३ प्रतिशत २५ देखि ५० लाख रुपैयाँसम्मको र ७ प्रतिशत कर्जा २५ लाखभन्दा कम रकमको रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

चालु आर्थिक वर्षको दस महिनामा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा करिब साढे २४ प्रतिशतले बढेर ४० खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । जसमध्ये ट्रस्ट रिसिप्ट/ आयात कर्जा ४६.५ प्रतिशत, विपन्न वर्ग कर्जा साढे ४१ प्रतिशत, रिलय इस्टेट कर्जा करिब १०.५ प्रतिशत, ओभर ड्राफ्ट साढे २८ प्रतिशत, आवधिक कर्जा साढे २४ प्रतिशत र चालु पुँजीकर्जा करिब २१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । दस महिनामा सवारीसाधन खरिदका लागि प्रवाह हुने (हायर पर्चेज) कर्जाको वृद्धिदर भने ५.४ प्रतिशतले ऋणात्मक छ ।


सेयर बजार निरन्तर उकालो लाग्न थालेपछि बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा प्रवाह बढाएका हुन् । अघिल्लो लकडाउनमा तीन महिनाभन्दा बढी सेयर बजार बन्द थियो । त्यसपछि खुलेको बजार निरन्तरजसो बढिरहेको छ । यही कारण बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह पनि यही क्षेत्रमा केन्द्रित भएको बैंकरहरूले बताएका छन् । जसका कारण यसअघि सेयर धितोमा लगानी नगर्ने ठूला वाणिज्य बैंक पनि सेयर कर्जाकै लागि छुट्टै ‘प्रडक्ट’ बनाएर बजार आएका छन् । यो पनि सेयर धितोमा कर्जा उल्लेख्य बढ्नुको प्रमुख कारण भएको बताइएको छ ।

चालु आर्थिक वर्षको नौ महिनासम्म ओभरड्राफ्ट कर्जा करिब २८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा वृद्धिदर ५.७ प्रतिशत मात्र थियो । व्यक्तिगत ओभरड्राफ्ट शीर्षकमा प्रवाह भएको अधिकांश कर्जा पनि सेयर बजारमा गएको बताइएको छ । यो शीर्षकमा प्रवाह भएको कर्जाको प्रयोजन खुलाइएको हुँदैन । यसकारण बजार बढेसँगै ओभरड्राफ्ट कर्जा पनि वृद्धि भएकाले धेरै रकम सेयर बजारमा गएको जानकारहरू बताउँछन् । एउटै क्षेत्रमा धेरै कर्जा प्रवाह हुँदा जोखिम पनि धेरै हुने उनीहरूको भनाइ छ ।

यस विषयमा राष्ट्र बैंक पनि जानकार छ । सोही कारण मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत व्यक्तिगत ओभरड्राफ्टमा केही कडाइ गरेको छ । आगामी मौद्रिक नीतिमा थप कडाइ गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । यद्यपि यो क्षेत्रमा कर्जा प्रवाह भने रोकिएको छैन । ‘हालसम्म नियमनको दायराभित्रै रहेर कर्जा प्रवाह भएको छ,’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने, ‘केही नीतिगत व्यवस्था परिमार्जन गर्नु पर्ने भएमा आगामी मौद्रिक नीतिमार्फत हुनेछ ।’ बैंक तथा वित्तीय संस्थाको क्षेत्रगत कर्जा विस्तारलाई आफूहरूले सूक्ष्म रूपले हेरिरहेकाले हालसम्म आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले दाबी गरे ।

सेयर धितोमा कर्जासँगै बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी गरेका छन् । सोही कारण कुनै कारणले सेयर बजारमा उच्च गिरावट भएमा त्यसको प्रत्यक्ष प्रभाव वित्तीय क्षेत्रमा पर्ने जानकारहरू बताउँछन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजी (कोर क्यापिटल) को बढीमा ४० प्रतिशतसम्म मात्र सेयर कर्जा (मार्जिन प्रकृतिका) प्रवाह गर्न पाइन्छ । हाल बैंक तथा वित्तीय संस्थाको कुल प्राथमिक पुँजी करिब ४ खर्ब ५० अर्ब रुपैयाँ छ । यसका आधारमा गत चैतसम्म सेयर धितोमा प्रवाह भएको कर्जा प्राथमिक पुँजीको करिब २१ प्रतिशतभन्दा बढी हो । यो क्षेत्रमा बैंकहरूले प्राथमिक पुँजीको अनुपातमा यति धेरै कर्जा प्रवाह गरेको हालसम्मकै उच्च हो ।

प्रकाशित : असार ६, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?