१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

८ करोडमा फुजी स्याउको बगैंचा

एलपी देवकोटा

जुम्ला — जिल्लाको गुठीचौर गाउँपालिका–५ काँडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैंचा निर्माण भएको छ । स्थानीय मीनबहादुर भण्डारीले गुठीचौर एग्रो फार्मका नाममा उक्त बगैंचा निर्माण गरेका हुन् । करिब ८ करोड रुपैयाँ व्यक्तिगत लगानीमा निर्माण गरिएको बगैंचामा एक पटकमै ३० हजार फुजी स्याउका बिरुपा रोपिएका छन् ।

८ करोडमा फुजी स्याउको बगैंचा

‘ठूलो जोखिम मोलेर बगैंचामा लगानी गरेको छु,’ उनले भने, ‘यसबाट जेजति आम्दानी हुन्छ, पुनः स्याउ बगैंचामै लगानी गर्नेछु ।’ जडीबुटीलगायत व्यवसायबाट गरेको आम्दानीले स्याउ खेती गरेको उनले बताए । बगैंचामा ३५ स्थानीयले स्थायी रूपमा र ३ सय जनाले अस्थायी रूपमा पछिल्लो ६ महिनादेखि काम गरिरहेका छन् । कृषि प्राविधिकदेखि सामान्य किसानले पनि रोजगारी पाएका भण्डारीले बताए ।

गुठीचौर एग्रो फार्मले गत चैतदेखि बगैंचा निर्माणको तयारी थालेको हो । निषेधाज्ञाको समयमा बगैंचामा पूर्वाधार निर्माण र बिरुवा रोप्ने काम भइरहेको छ । बगैंचाले पूर्णता पाएसँगै जुम्लामा व्यावसायिक स्याउ खेतीले थप फड्को मार्ने विश्वास गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले व्यक्त गरे । ‘अब देशभरका स्याउ किसानहरू यो बगैंचा हेर्नका लागि आउने अवस्था बनेको छ,’ उनले भने, ‘एक अर्थमा स्याउ खेतीका लागि यो एक विद्यालयको रूपमा रहनेछ ।’

बगैंचा निर्माणका लागि गाउँका ८७ जनाले ३० वर्षको लागि जग्गा लिजमा दिएका छन् । बगैंचा १ लाख ५० हजार वर्गमिटर जग्गामा फैलिएको छ । फार्मका सहजकर्ता दानबहादुर बुढाले पूर्वाधारको हिसाबले पनि बगैंचा देशकै नमुना रहेको दाबी गरे ।

जुम्लामा करिब ३ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा स्थानीय जातका स्याउ उत्पादन हुँदै आएको छ । तर पछिल्लो समय फुजी स्याउको व्यावसायिक खेती पनि भइरहेको छ । जिल्लामा पहिलो पटक जुम्ला एग्रो फार्मका सञ्चालक लोकदर्शन श्रेष्ठले चन्दननाथ भैरवनाथ गुठी संस्थानको जग्गा लिजमा लिएर फुजी स्याउको व्यावसायिक खेती सुरु गरेका थिए । त्यसलगत्तै, हाम्रो कृषि सहकारी संस्थाले फुजी स्याउ खेती थाल्यो । अहिले जुम्लामा फुजी स्याउ खेती गर्ने लहर नै चल्यो । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले पछिल्लो समय ठूला किसान र व्यवसायीहरू फुजी स्याउ खेतीमा आकर्षित भएका बताए ।

लगाएकै वर्षदेखि फल्ने, रसिलो र ठूलो आकारको हुने भएकाले यसप्रति व्यवसायीको आकर्षण बढेको उनको ठम्याइ छ । ‘फुजी स्याउको खेती गर्न लगानी धेरै चाहिन्छ,’ उनले भने, ‘यसको उत्पादन सुरु भएमा नाफा पनि धेरै दिने भएकाले लगानी गर्न सक्ने किसानहरू लालायित भएका हुन् ।’

प्रकाशित : असार ६, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?