जलविद्युत् कम्पनीले कमाए ३५ अर्ब

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २३ वटा जलविद्युत्सम्बन्धी कम्पनीसहित ५१ वटा कम्पनीलाई जोखिम सूचीमा राखेकै दिन मंगलबार विद्युत् विकास विभागले जलविद्युत् आयोजनाले विगत तीन वर्षमा गरेको आय विवरण सार्वजनिक गरेको छ ।

जलविद्युत् कम्पनीले कमाए ३५ अर्ब

सेबोनले जोखिम सूचीमा राखेको कम्पनीबारे थप अध्ययन गरिरहेको भन्दै यस्ता कम्पनीको सेयर कारोबार गर्दा सतर्क रहन आग्रह गरेको छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ मा जलविद्युत् आयोजनाहरूले कुल ३५ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेका छन् । अनुमतिपत्र लिएर सञ्चालनमा रहेका ९४ वटा विद्युत् आयोजनाले विगत तीन वर्षमा ऊर्जा बिक्रीबाट गरेको आय मंगलबार विभागले सार्वजनिक गरेको हो । यी आयोजनामध्ये ७५ वटा निजी क्षेत्रबाट प्रवर्द्धित हुन भने बाँकी १९ आयोजना नेपाल विद्युत् प्राधिकरण मातहतका हुन् । विभागका महानिर्देशक नवीनराज सिंहले भने बोर्डले जलविद्युत् कम्पनीलाई समेत जोखिम सूचीमा राखेर विज्ञप्ति निकाल्नु र विभागले आय विवरण एकै दिन सार्वजनिक गर्नु संयोग मात्रै भएको प्रतिक्रिया दिए ।

‘अहिले सबै साथीहरू खाली बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यस कारण तीन वर्षयताको आम्दानी विवरण तयार पारेर सार्वजनिक गरेका हौं ।’ आर्थिक वर्ष २०७५/७६ मा विद्युत् आयोजनाले कुल २७ अर्ब ५४ करोड आम्दानी गरेको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७४/७५ मा विद्युत् आयोजनाले २५ अर्ब २ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेका थिए । बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिमा एक वर्षमा सेयर मूल्य ३ सय प्रतिशतभन्दा बढीले वृद्धि भएको, मूल्य–आम्दानी अनुपात एक सय र सोभन्दा बढी भएको, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकनको आधारमा जोखिमयुक्त सूचीमा राखिएको जनाइएको छ ।

बोर्डले जोखिम सूचीमा राखेको कम्पनीमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, रसुवागढी हाइड्रोपावर कम्पनी, सान्जेन जलविद्युत् आयोजनासहित सरकारी स्वामित्वको हाइड्रो इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) सहित २३ वटा जलविद्युत् कम्पनी छन् ।

‘जोखिम सूचीमा राख्नु अन्यायपूर्ण’

नेपाल धितोपत्र बोर्डले जलविद्युत् कम्पनीलाई जोखिमयुक्त सूचीमा राखेको विषय अन्यायपूर्ण भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । बोर्डले जलविद्युत् कम्पनीको प्रकृति नबुझी यस्तो निर्णय गरेको इप्पानले जनाएको हो । बोर्ड आफैंले सेयर निष्कासनको अनुमति दिएर सूचीकृत भएका कम्पनीको प्रकृतिलाई ख्यालै नगरी २१ जलविद्युत् कम्पनीमा गरिएको लगानीलाई जोखिमयुक्त भनेको भन्दै इप्पानले दुःख व्यक्त गरेको छ ।

‘कम्पनीको प्रकृतिलाई ख्यालै नगरी मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थलाई मात्र आधार बनाएर दोस्रो बजारमा कारोबार भइरहेको जलविद्युत् कम्पनीमा गरिएको लगानीलाई बोर्डले जोखिमुक्त भनेकामा इप्पान दुःख व्यक्त गर्दछ,’ इप्पानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । धितोपत्र बजारमा अहिलेसम्म ४० वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । तीमध्ये २१ वटा कम्पनीलाई बोर्डले मंगलबार जोखिमयुक्त सूचीमा राखेको थियो । बोर्डले कुल ५१ वटा कम्पनीको सेयर कारोबार अस्वाभाविक भन्दै जोखिमयुक्त सूचीमा राखेको थियो ।

प्रकाशित : असार ४, २०७८ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?