२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नेप्सेमा साढे ५२ अंकको गिरावट, १५ अर्ब ४८ करोडको कारोबार 

काठमाडौँ — सेयर बजारमा बुधबार करिब साढे ५२ अंकको गिरावट आएको छ । यो गिरावटसँगै समग्र नेप्से परिसूचक २ हजार ९ सय ६९.६९ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.७३ प्रतिशतले घटेको हो । 

नेप्सेमा साढे ५२ अंकको गिरावट, १५ अर्ब ४८ करोडको कारोबार 

नियामक निकाय धितोपत्र बोर्डले मंगलबार चार दर्जन बढी (५१ वटा) जोखिमयुक्त कम्पनीको नामवाली सार्वजनिक गरेको छ । कम्पनीको अवस्था राम्रो नभएका सेयरहरुमा अस्वभाविक मूल्य वृद्धिभएको तथ्यका आधारमा बोर्डले मंगलबार ती जोखिमयुक्त कम्पनीको नामावली सार्वजनिक गरेको थियो । तीमध्ये करिब ४९ वटा कम्पनीको सेयर मूल्य बुधबार घटेको छ । सो दिन कारोबारमा आएकामध्ये लघुवित्त बाहेक सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

बुधबार करिब १ लाख ६८ हजार कारोबारबाट २ सय १९ कम्पनीका २ करोड ८२ लाख ८९ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचमा १५ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि कम हो । मंगलबार सेयर बजारमा १६ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक घटेसँगै सेयर बजारको आकार कूल बजार पुँजीकरण पनि घटेर ३९ खर्ब ९० अर्ब रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन कूल बजार पुँजीकरण ४१ खर्ब ७२ अर्ब रुपैयाँ थियो ।

बुधबार दोस्रो बजारमा भएको कूल कारोबारमध्ये सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी र त्यसपछि हिमालयन डिष्टिलरीको रहेको तथ्यांकमा देखिन्छ । सो दिन नेपाल पुनर्बीमाको करिब ६१ करोड र हिमालयन डिष्टिलरीको करिब साढे ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्सेको वर्गीकरणमा क वर्गमा रहेका कम्पनीहरुको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक बुधबार १.५६ प्रतिशतले व्यापारमा रहेका सबै कम्पनीहरुको सेयर कारोबार माफक फ्लोट परिसूचक १.५३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

बुधबार कारोबारमा आएकामध्ये लघुवित्त उपसमूहको परिसूचक भने २.६३ प्रतिशतले बढेको छ । सो दिन वित्त कम्पनी समूहको परिसूचक सबैभन्दा धेरै ६.८ प्रतिशतले घट्यो । यस्तै, होटल्स तथा पर्यटन उपसमूहको ५.१४, बैंकिङको ०.४७, व्यापारको २.५४, विकास बैंकको ४.०४ प्रतिशतले घट्यो । यस्तै, जलविद्युत उपसमूहको परिसूचक ४.७५ प्रतिशत, निर्जीवन बीमाको २.६, उत्पादन तथा प्रशोधनको ३.१७, अन्यको २.९८, जीवन बीमाको २.१८, सामूहिक लगानीकोषको ०.१८ प्रतिशत र लगानी उपसमूहको परिसूचक २.५४ प्रतिशतले घटेको नेप्सेको तथ्यांक छ ।

सेयर बजारमा भएको उच्च वृद्धि प्राकृतिक र स्वाभाविक नभएको नियामक निकाय धितोपत्र बोर्डको एक अर्को अध्ययनले पनि देखाएको छ । सबै पक्षबाट राम्रो अवस्था नभएका धेरै कम्पनीका सेयर मूल्य उच्च अंकले बढेकाले बजारको वृद्धि अस्वाभाविक देखिएको निष्कर्ष अध्ययनले निकालेको हो । बजार अस्वाभाविक रूपमा बढिरहादा पनि मंगलबारसम्म बोर्डले न कुनै लगानीकर्ता वा कम्पनीलाई पत्र काटेको छ, न कसैलाई स्पष्टीकरण नै सोधेको छ । बोर्डको यही कमजोरीका कारण बजारमा चलखेल गर्नेलाई पनि हौसला मिलेको जानकारहरू बताउँछन् । ‘अध्ययन प्रतिवेदनमा मात्र दोषी देखाएर भएन,’ स्रोतले भन्यो, ‘तिनीहरूलाई कारबाही गरेर पनि देखाउनुपर्‍यो।’ धितोपत्र बोर्डले भने लगानीकर्ताको हित संरक्षणका लागि बजारका हरेका क्रियाकलापलाई नजिकबाट अध्ययन गर्ने गरेको र बजार सहभागीको जोखिमको स्तरलाई विश्लेषण गरिरहेको दाबी गरेको छ ।

प्रकाशित : असार २, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?