रेल चलाउने सुरसार- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

रेल चलाउने सुरसार

अवस्था सहज हुनासाथ रेल चलाउन मन्त्रीको निर्देशन
विमल खतिवडा

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले अवस्था सहज हुनेबित्तिकै रेल सञ्चालन गर्न निर्देशन दिएका छन् । भर्चुअल माध्यममार्फत भएको मन्त्रालयको नियमित प्रगति समीक्षा गोष्ठीमा उनले नेपाल रेलवे कम्पनीलाई निषेधाज्ञा खुल्नसाथ रेल चलाउन भने । 

धनुषाको इनर्वामा त्रिपाल ओढाएर राखिएको रेल । तस्बिर : कान्तिपुर

‘नीतिगत, व्यावहारिक र प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ,’ मन्त्री नेम्वाङको भनाइ उद्धृृत गर्दै उनका प्रेस संयोजक सन्दीप राईले भने, ‘रेल सञ्चालन गरेर जनतालाई सेवा दिनुपर्छ ।’ सम्बन्धित अधिकारीसहित आफैंले स्थलगत अनुगमन गरेर रेल सञ्चालन गर्ने अवस्थामा पुगेको देखेको मन्त्री नेम्वाङको भनाइ छ ।

जयनगर–जनकपुर खण्डमा रेल चलाउने तयारी गरिएको यो पहिलो घटना भने होइन । गत असोज २ मा ल्याइएका दुई रेल सेट चलाउन कैयौं मिति तय गरिए । तर ९ महिनादेखि रेलको पालसमेत निकालिएको छैन । गत वर्ष पनि सञ्चालनमा कोभिडको प्रभाव पारेको र यो वर्ष पनि त्यही समस्या दोहोरिएको मन्त्रालयको भनाइ छ । सबै तयारी पूरा भए पनि निषेधाज्ञा खुल्नासाथ रेल चल्ने अवस्था नरहेको मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ बताउँछन् । नेपाल रेलवे कम्पनीमा काम गर्ने कर्मचारीको तालिम पूरा नभएकाले तत्कालै रेल चलाउन नसकिने उनको भनाइ छ । ‘निषेधाज्ञाअघि भारतीय प्राविधिकको उपस्थितिमा तालिम सञ्चालन भइरहेको थियो, जुन तालिम एक महिनाको हो,’ सचिव श्रेष्ठले भने, ‘तर तालिम १० दिन मात्र चल्यो । अझै २० दिनको तालिम बाँकी छ ।’ निषेधाज्ञासँगै तालिम पनि बन्द गरिएको थियो । तालिम दिन पनि बोर्डर खुल्नुपर्ने श्रेष्ठले बताए । कर्मचारीदेखि कार्यालय व्यवस्थापनसम्मका सबै तयारी सकिएको छ । अवस्था सहज भएर कर्मचारीलाई तालिम दिनासाथ रेल सञ्चालनमा कुनै समस्या नभएको उनको भनाइ छ ।

अहिले अध्यादेशमार्फत रेल सञ्चालनसम्बधी कानुन ल्याइएको छ । ‘कानुन आइसकेको अवस्था छ,’ उनले भने, ‘तर अहिले निषेधाज्ञा छ, जसले गर्दा हामीले कर्मचारीलाई तालिम दिन सकेका छैनौं ।’ ५०/६० जना कर्मचारीलाई एकै ठाउँमा राखेर तालिम दिनुपर्छ । तयारी सकिएकाले रेल सञ्चालनमा समस्या नभएको उनले प्रस्ट्याए । ‘हामी पूर्ण तयारी गरेर मात्र रेल चलाउँछौं,’ उनले भने ।

निषेधाज्ञाअघि सुरु गरिएको तालिमलाई नियमित गर्ने तयारी भइरहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । ‘तालिमका लागि भारतीय प्राविधिक टोलीलाई आउन भनिसकेका छौं,’ उनले भने, ‘आवश्यक स्वास्थ्य सावधानी अपनाएर तालिम दिन्छौं ।’ तालिम सक्नेबित्तिकै रेल सञ्चालनमा ल्याइने उनको दाबी छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारले पनि निषेधाज्ञा खुलेर अवस्था सहज हुनसाथ रेल सञ्चालनमा आउने बताए ।


प्रकाशित : असार १, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्

फास्ट ट्य्राकमा सुरुङ निर्माण सर्वेक्षण सुरु

तोकिएकै समयमा सक्ने गरी काम अघि बढाइएको हो : सेना
विमल खतिवडा

काठमाडौँ — काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीले सर्भेको काम थालेका छन् । कम्पनीका प्राविधिक टोली सर्वेक्षणका लागि एक सातादेखि सुरुङ निर्माणस्थलमा खटिएको नेपाली सेनाले जनाएको छ ।

दुई वटा निर्माण कम्पनीका सात जनाको प्राविधिक टोली आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर फिल्डमा खटिएको छ । गत वैशाख ३१ मा प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको निर्देशनविपरीत सेनाले दुई वटा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र दोस्रो प्याकेजमा पोली चङ्दा इन्जिनियरिङ कर्पोरेसन कम्पनीसँग ठेक्का सम्झौता भएको हो । दुवै प्याकेजमा तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भइसकेको सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यसमा डिजाइजनका लागि ६ महिनाको समय दिइएको छ ।

‘ठेक्का लिने कम्पनीले निर्माण गर्ने ठाउँ थाहा पाउनुपर्‍यो,’ उनले भने, ‘त्यसैले अनौपचारिक रूपमा सर्भे गर्न प्राविधिक टोली फिल्डमा गएको हो ।’ मोभिलाइजेसन रकम भने निर्माण कम्पनीलाई दिइसकिएको छैन । ‘त्यसका लागि कम्पनीले बैंक ग्यारेन्टी ल्याउनुपर्छ,’ उनले भने, ‘रकम दिएपछि निर्माण सुरु हुनेछ ।’ पहिलो प्याकेजमा चाइना स्टेटले छोक्रेडाँडादेखि धेद्रेसम्म ३ दशमलव ३५५ किमि सुरुङ निर्माण गर्नुपर्नेछ । यसको ठेक्का रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ ।

दोस्रो प्याकेजमा पोली चङ्दाले धेद्रेदेखि लेनडाँडासम्म सुरुङ निर्माण गर्नुपर्नेछ । यसको ठेक्का रकम २८ अर्ब ५३ करोड रुपैयाँ छ । दूरी भने ३ दशमलव शून्य ३ किमि छ । दोस्रो प्याकेजमा पूर्वयोग्यता परीक्षण (पीक्यू) प्रक्रियामा एउटा मात्र कम्पनी छानिएको भन्दै लेखा समितिमा उजुरी परेको थियो, जसको टुंगो अझै लागेको छैन । विवाद नटुंगिँदै सेनाले ठेक्का प्रक्रिया अघि बढाएको हो । २०८०/८१ भित्र आयोजना सक्नुपर्ने भए पनि सबैभन्दा जटिल पुल र सुरुङ निर्माणको काम अझै सुरु हुन सकेको छैन । ‘तीन वर्षभित्र सुरुङ निर्माणमा केन्द्रित भई दुवै प्याकेजमा समान रूपमा काम अघि बढे तोकिएकै समयमा निर्माण सक्ने लक्ष्य हासिल गर्न बाटो खुल्नेछ,’ प्रवक्ता पौडेलले भने । निर्माण कम्पनीले अरू विज्ञ टोलीलाई छिटो ल्याई काम अघि बढाउन लागेको जनाएको उनले बताए । ‘अहिले बोर होल ड्रिलिङ मेसिन नै लगेर सर्भेको काम थालिएको छ,’ उनले भने, ‘टोलीले सुरुङ निर्माण गर्ने ठाउँको माटो पनि परीक्षण गर्नेछ ।’ सबैतिरबाट काम ढिलो भयो भन्ने टिप्पणी भइरहेका समयमा सेनाले भने समयमै काम सक्ने दाबी गरिरहेको छ । ‘ठेक्का सम्झौता हुनासाथ कार्यादेश भइहाल्छ,’ उनले भने, ‘डिजाइन गर्ने टोली पनि चाँडै चीनबाट आउने तयारी छ ।’

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म निर्माणमा १८ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको छ । १४ वटा बेलिब्रिजमध्ये ८ वटा सञ्चालनमा आइसकेका छन् । अहिले पनि स्वास्थ्य सावधानी अपनाएर काम जारी राखिएको पौडेलले बताए । ‘निर्माणमा खटिने कामदार निर्माणस्थलबाहिर गएका छैनन्,’ उनले भने, ‘फिल्डमै बसेर काम गरिरहेकाले समस्या छैन ।’ अहिले सडकको लेभलिङ, ग्रेडिङ, बेलिब्रिज जडान, पहुँचमार्ग र कल्भर्ट निर्माणको काम भइरहेको छ ।

आइतबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि फास्ट ट्र्याक निर्माण तोकिएकै समयमा सम्पन्न हुने दाबी गरे । सरकारले आवश्यक बजेट अभाव नगरिदिए, कोभिड–१९ को थप संकट आइनपरे र सरकारका विभिन्न मन्त्रालय तथा क्षेत्रबाट सहयोग भइरहे तोकिएकै समयमा काम गरिने उनको भनाइ छ । इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङ निर्माण गर्न लागिएको हो । यसअनुसार सर्भे र डिजाइनको काम बिडर आफैंले गर्नेछन् ।


प्रकाशित : जेष्ठ २६, २०७८ ०६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×